गण्डकी राष्ट्रिय सभाको निर्वाचनमा २ जनप्रतिनिधि सहभागी भएनन्

लालप्रसाद शर्मा

पोखरा — राष्ट्रिय सभाको निर्वाचनका लागि बुधबार भएको निर्वाचनमा स्थानीय तहका २ जनप्रतिनिधिले मतदानमा भाग लिएनन् । प्रदेश सभा सदस्यहरूको भने शतप्रतिशत मत खसेको प्रदेश निर्वाचन कार्यालय पोखराले जनाएको छ ।

गण्डकी राष्ट्रिय सभाको निर्वाचनमा २ जनप्रतिनिधि सहभागी भएनन्

कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेका अनुसार बागलुङको बागलुङ नगरपालिकाका उपमेयर सुरेन्द्र खड्का र मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्पेल विष्ट मतदानमा सहभागी भएनन् ।

खड्का राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उपमेयरमा निर्वाचित भएका हुन् । र उनी पार्टी केन्द्रको निर्देशन अनुसार मतदानमा नआएको आकलन गरिएको छ । विष्ट भने नेपाल बाहिर भएकाले नआएको जनाइएको छ ।

उनी स्वतन्त्र उम्मेदवारको रुपमा निर्वाचित भएपछि तत्कालीन नेकपामा प्रवेश गरेका थिए । यसैगरी राप्रपाबाटै निर्वाचित म्याग्दीको बेनी नगरपालिकाकी उपमेयर सन्जु बरुवाल भने पार्टीको निर्देशन विपरीत मतदानमा सहभागी भइन् ।

गण्डकी प्रदेशमा ८५ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी १ सय ७० मतदाता रहेकोमा १६८ मत खसेको सूचना अधिकारी न्यौपानेले बताए । प्रदेशसभाका ५९ सांसद भने सबैले मतदान गरे । अब केही बेरमै मतगणना सुरु हुने कार्यालयले जनाएको छ ।

३ सदस्यका लागि सत्तापक्षीय गठबन्धन र एमालेका गरी ६ जनाले उम्मेदवार चुनावी मैदानमा छन् । गठबन्धनबाट महिला कोटामा कांग्रेसकी कमला पन्त, अन्य र दलित कोटाबाट माओवादी केन्द्रका सुरेश आले र भुवनबहादुर सुनारको उम्मेदवारी छन् ।

यसैगरी एमालेका तर्फबाट अन्य कोटामा पुण्यप्रसाद पौडेल, महिलामा लीला पोखरेल थनेत र दलिततर्फ अर्जुनकुमार सुनाम उम्मेदवार रहेका छन् । निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादी गरी ५ दलीय गठबन्धन र नेकपा एमालेका उम्मेदवारबीच प्रतिस्पर्धा हुन लागेको हो । प्रदेश सांसदको एकमत बराबर ४८ मतभार र स्थानीय तहका प्रमुख र उपप्रमुखको एकमत बराबर १८ मतभार कायम गरिएको छ ।

प्रकाशित : माघ १२, २०७८ १५:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?