३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

दरौंदीमा रोकियो उत्खनन

हरिराम उप्रेती

गोरखा — दाहसंस्कार गर्ने घाट नै मासिने गरी गोरखा नगरपालिका–१३ दरौंदी किनारको लुदी खोला घाटमा भएको नदीजन्य पदार्थ उत्खनन तत्कालका लागि रोकिएको छ । स्थानीयको विरोधपछि नगरपालिकाले उक्त क्षेत्रमा उत्खनन गर्न रोक लगाएको हो ।

दरौंदीमा रोकियो उत्खनन

उत्खनन गर्दा सडक, वन तथा खोलानालाको किनार, घाटलाई कुनै हानिनोक्सानी नहुने गरी गर्नुपर्ने ‘ढुंगा, गिट्टी, बालुवा उत्खनन बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७७’ मा छ । २०४० देखि स्थानीयले दाहसंस्कारका लागि प्रयोग गर्दै आएको लुदी खोला घाट मासिने गरी नदीजन्य पदार्थ उत्खननका लागि नगरपालिकाले ठेक्का लगाएपछि चौतर्फी विरोध भएको थियो ।

घाटमा नदीजन्य पदार्थ उत्खनन पूर्णरूपमा रोकेको नगरपालिकाका सबइन्जिनियर कपिल कोइरालाले बताए । ‘घाट हो भन्ने जानकारी आएपछि उत्खनन रोक्यौँ,’ उनले भने ।

स्थानीयको अनुरोधमा वडा कार्यालयले पनि नगरपालिकालाई पत्र लेख्दै उक्त घाटनजिक भइरहेको नदीजन्य पदार्थको उत्खनन, संकलन र बिक्रीवितरणमा बन्देज लगाउन भनेको थियो । अनियन्त्रित उत्खननले अबुंवा कर्मसिं टोल, वनदेवी सामुदायिक वन क्षेत्र, दरौंदी मोटरेबल पुललाई समेत जोखिम हुने भन्दै उत्खनन रोक्न स्थानीयले माग राख्दै आएका थिए । घाटमा उत्खननको जिम्मा मनोकामना निर्माण सेवाले पाएको छ ।

ठेकेदारले लुदी खोला घाटमा संकलन गरेको नदीजन्य पदार्थ तनहुँको आबुखैरेनी गाउँपालिका–२ मा लगेर घाटगद्दी गरेको थियो । उत्खनन रोकेको नगरपालिकाले आबुखैरेनीमा भएको घाटगद्दीको परिमाण पनि यकिन गरेको छ । ‘हालसम्म ७ सय ९२ घनमिटर उत्खनन भएको पाइयो,’ कोइरालाले भने, ‘केही परिमाण खोलामै पनि छ, अब त्यो पनि झिक्न र ढुवानीमा रोक लगाएका छौँ ।’

नदीछेउमै ३ देखि ४ मिटरसम्म गहिरो हुने गरी मेसिनरी सामग्रीको प्रयोगबाट ढुंगा, गिट्टी, बालुवा झिकिएको छ । नदी किनारमा मेसिनरी सामग्रीको प्रयोग गर्न नपाइने उल्लेख भए पनि नदीको बहाव क्षेत्रसम्मै उत्खनन गरिएको छ । ‘यो मरनघाट हो, दाहसंस्कार गर्ने ठाउँ नै मासिने गरी किन ठेक्का लगाउनुपर्‍यो ?,’ स्थानीय भीमकुमारी शाहले भनिन् ।

आगामी वर्ष उत्त घाटमा उत्खननका लागि ठेक्का नलगाउन पनि स्थानीयले माग राखेका छन् । दरौंदी नदीस्थित हाँडी दह दोभान युँखर्क बैटारी, पुरानोडिही, कर्मसिं फाँट, अबुंवालगायतका टोलका स्थानीयले दाहसंस्कारका लागि प्रयोग गर्दै आएका छन् ।

प्रकाशित : माघ १२, २०७८ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?