कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

सांसदको तलवभत्ता समाजसेवामा

कास्की — गोरखाको निर्वाचन क्षेत्र नम्बर २ को ‘ख’ बाट निर्वाचित गण्डकी प्रदेश सभा सदस्य प्रकाशचन्द्र दवाडीले आफ्नो सरकारी तलवभत्ता समाजसेवामा खर्चिँदै आएका छन् ।

सांसदको तलवभत्ता समाजसेवामा

२०७७ पुसको पहिलो सातादेखि २०७८ पुस मसान्तसम्म प्राप्त तलव, भत्ता र बैंकले दिएको व्याजसहित ७ लाख ८२ हजार ३ सय ६२ रुपैयाँ समाजसेवामा नै खर्चिएको मंगलबार पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।

‘मैले पाएको सेवा सुविधाभन्दा केही रकम थप गरेर सहयोग गरेको छु’ उनले भने, ‘कतिपय कोभिडका बिरामी छन् । उनीहरूको लागि अक्सिज सिलिण्डर किन्ने क्षमता हुँदैन । कतिपयलाई एम्बुलेन्स झिकाएर अस्पताल पुर्‍याउने गरेको छु । कतिपयलाई पठनपाठन र सुत्केरी महिलाको लागि पनि सहयोग गरेको छु ।’ उनले जनताको समस्या पहिचान गरी आफ्नो सहयोगले घाउमा मल्हम लगाउने काम गरेको बताए । एक वर्षसम्म सेवासुविधाको रकमसहित आफूले थप गरी १३ लाख ६३ हजार ८ सय रुपैयाँ समाजसेवामा खर्चिएको उनले जनाए ।

सहयोग कसैलाई देखाउन नभई आत्मसन्तुष्टिका लागि गरिएको उनको भनाइ थियो । उनले सांसद भएको भोलिपल्ट नै आफूले पाउने सेवासुविधा जनताकै लागि खर्चिने घोषणा गरेका थिए ।

त्यसपछि हालसम्म आफूले पाएको सेवासुविधा समाजसेवामा नै खर्चिएको उनले बताए । यस्तो कामबारे उनले गत वर्ष पनि पत्रकार सम्मेलनमार्फत जानकारी गराएका थिए । धनाढ्य सांसद्‍ले जनतालाई सहयोग गर्दा राज्यको अपनत्व नभएको भन्ने संचारकर्मीको प्रश्नमा जवाफ दिँदै सांसद दवाडीले राज्यलाई गाउँ–गाउँसम्म पुर्‍याउन र जिम्मेवार बनाउन पनि आफूले सहयोग गरेको दाबी गरे ।

‘यो गुनासो सांसदहरूबाट पनि आएको छ’ उनले थपे, ‘निरन्तर राजनीतिमा लाग्नेको लागि आम्दानी हुँदैन । सहयोग कसरी गर्ने ? म त बीचमा व्यवसाय गरेको मान्छे । व्यवसायबाट राजनीतिमा लागेकाले बीचको समय पैसा कमाउन पाएँ । त्यही पैसा अहिले सहयोग गर्न पाएको छु ।’ व्यवसायसँगै लामो समय जापान बसेर आएकाले राजनीतिबाट लामो समय टाढिनुपरेको उनको भनाइ छ ।

सांसद दवाडीले सरकारबाट हुनुपर्ने जति काम हुन नसकेको गुनासो पनि गरेका थिए । ‘सरकारको ढिलासुस्ती छ । झक्झकाउने काम भइरहेको छ,’ उनले भने । यस क्रममा उनले संविधानले व्यवस्था गरे अनुसार नै स्थानीय तहको निर्वाचन हुनुपर्ने धारणा राखेका थिए ।

प्रकाशित : माघ ११, २०७८ १३:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?