माइनस तापक्रममा कोरोनाको ‘बुस्टर’ खोप

आश गुरुङ

लमजुङ — हिमाली जिल्ला मनाङमा अहिले तापक्रम माइनस डिग्रीमा छ । अत्यधिक चिसोमा स्थानीय जीवनयापन गरिरहेका छन् । माइनस डिग्रीमै अहिले मनाङमा कोरोनाविरुद्धको ‘बुस्टर’ खोप लगाउने काम भइरहेको छ । हिमपात, मौसम बदली र चिसो एकसाथ हुँदा जनजीवन प्रभावित बनेको छ ।

माइनस तापक्रममा कोरोनाको ‘बुस्टर’ खोप

चिसोका कारण धेरैजसो मनाङी काठमाडौं, पोखरा, बेंसीसहर झरे पनि गाउँमा भएकाहरू घरभित्रबाट निस्केर बुस्टर डोज खोप लगाउन पुग्ने गरेका छन् ।

मनाङमा १८ वर्षमाथि सबैले पहिलो र दोस्रो मात्राको खोप पाइसकेका छन् । चामे र नासों गाउँपालिकाका १२ देखि १८ वर्षसम्मका विद्यार्थीले मोडर्ना खोप लगाइसकेका छन् । नार्पाभूमि र मनाङ ङिस्याङ गाउँपालिकाका विद्यार्थी यसअघि नै झरिसकेकाले लगाउन बाँकी छ ।

मनाङमा प्राथामिकतामा पर्ने सुरक्षाकर्मी, ज्येष्ठ नागरिक, विभिन्न बिरामी साथै अन्य सर्वसाधारणलाई पनि बुस्टर खोप लगाउन थालिएको स्वास्थ्य कार्यालय प्रमुख बद्रीराज आचार्यले बताए । उनका अनुसार प्राथमिकतामा पर्नेसँगै अन्य नागरिकलाई पनि बुस्टर खोप लगाउन थालिएको छ । उनले चिसो र हिमपातका बाबजुत पनि बुस्टर खोप लगाइएको बताए । ‘खोपलाई २ देखि ८ डिग्री सेन्टिग्रेटमा राख्नुपर्छ । यहाँ दिउँसै तापक्रम माइनस ७ सम्म छ,’ उनले भने, ‘स्वास्थ्यकर्मीले म्यानेज गरेर खोप लगाइदिने गरेका छन् ।’

उनले खोप लगाइदिने स्वास्थ्यकर्मीको हातसमेत चिसोले समस्या पार्ने भएकाले हातलाई न्यानो राख्नेबारे समेत स्वास्थ्यकर्मी आफैंले ख्याल गरेको बताए । ‘हिमपात भइरहे पनि ओत लगाउने ठाउा, अस्पताल, स्वास्थ्य चौकी, कुनै भवनको ओभानो ठाउँमा हामीले खोप लगाउने गरेका छौं,’ उनले भने । उनका अनुसार यसअघि चामे गाउँपालिकामा बुस्टर खोप लगाउन सुरु गरिएकोमा तल्लो क्षेत्रको नासों गाउँपालिकामा आइतबारदेखि बुस्टर खोप लगाउन थालिएको छ । माथिल्लो मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा फागुन २० बाट लगाउने भनिएको छ । नार्पाभूमि गाउँपालिकामा चिसोका कारण सबैजना काठमाडौं, पोखरा, बेंसीसहर झरेकाले फागुनमा मात्रै बुस्टर खोप लगाउनेबारे छलफल भएको उनले बताए ।

स्वास्थ्य कार्यालय मनाङका अनुसार माघ ५ बाट सुरु भएको बुस्टर डोज खोप लगाउने कार्यक्रमअन्तर्गत सोमबारसम्म ७ सय जनाले खोप लगाइसकेका छन् । प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले चिसोका कारण प्रायः मनाङीले जिल्ला छाडेकाले सोचेअनुरूप खोप दिन नसकिएको बताए । उनले मनाङी फर्केपछि खोप अभियानलाई तीव्र पारिने बताए ।

‘अहिले पनि उपलब्ध र कोरोनाविरुद्धको कोभिसिल्ड र भेरोसेलको दोस्रो मात्रा लगाएर ६ महिना पुगेकालाई हामीले बुस्टर खोप दिएका छौं । सबैलाई आउन आह्वान गरेका छौं,’ उनले भने, ‘अहिले मान्छे नै छैन । मान्छे आउनेबित्तिकै हामी दिन्छौं । हामीसँग पर्याप्त खोप छ ।’ उनका अनुसार मनाङमा १८ वर्षभन्दा माथिका सबैले कोरोनाविरुद्धको दोस्रो मात्राको खोप लगाइसकेका छन् । पहिलो र दोस्रो खोपको मात्राको खोप लगाइसकेका ४ हजार ३ सय ९९ जना रहेको उनले बताए ।

प्रकाशित : माघ ११, २०७८ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?