कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

संक्रमण बढेपछि सेवा प्रभावित

अगन्धर तिवारी

पर्वत — कोभिडको तेस्रो लहरको प्रभाव सबैजसो क्षेत्रमा परिसकेको छ । बढीजसो भीडभाड हुने बैंक, अस्पताल तथा पालिकामा यसको संक्रमण फैलिएपछि सेवाप्रवाह प्रभावित भएका छन् । केही दिनयता कुश्मा नगरपालिका, राष्ट्रिय वाणिज्य बैंक, पर्वत अस्पताललगायतमा कार्यरत कर्मचारी तथा स्वास्थ्यकर्मीमा संक्रमण देखिएको हो ।

संक्रमण बढेपछि सेवा प्रभावित

कर्मचारी र स्वास्थ्यकर्मी संक्रमित भएपछि प्रवाह हुने सबैजसो सेवा प्रभावित भएका हुन् । कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङका अनुसार आइतबारसम्म नगरपालिकाका १६ कर्मचारी र जनप्रतिनिधि संक्रमित भइसकेका छन् । ‘पहिला जस्तो डराएर सबै सेवा ठप्प गरिएको छैन,’ गुरुङले भने, ‘संक्रमित आइसोलेसनमा हुनुहुन्छ । नभएकाले सावधानी अपनाएर अत्यावश्यक काम गरिएकै छ ।’

नगरपालिकाको राजस्व, प्रशासन तथा विभिन्न वडामा कार्यरत कर्मचारी संक्रमित भएको उनले बताए । कुश्मा नगरपालिकाका स्वास्थ्य सहसंयोजक यामप्रसाद शर्माका अनुसार सामान्य लक्षण देखिएका सबैजसोमा कोभिड पोजिटिभ देखिएको छ । आइतबार मात्रै परीक्षण गरिएकामध्ये ७५ प्रतिशतमा संक्रमण पुष्टि भएको छ । कुश्मा नगरपालिकाले आइतबारै सूचना प्रकाशित गर्दै अत्यावश्यकबाहेकका सबै सेवा एक साताका लागि बन्द गरेको छ । प्रमुख प्रशासकीय अधिकृत गुरुङद्वारा हस्ताक्षरित सूचनामा कर्मचारी र जनप्रतिनिधिमा समेत संक्रमण फैलिएकाले त्यसको असर सेवाग्राहीमा नपरोस् भनेर एक साताका लागि अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको जनाइएको छ ।

राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीमा संक्रमण पुष्टि भएपछि उक्त बैंकका सेवा एक सातादेखि प्रभावित भएका छन् । बैंकका सबै कर्मचारीमा संक्रमण पुष्टि भएपछि गत सोमबारदेखि बैंकका सम्पूर्ण सेवा बन्द गरिएको एक कर्मचारीले बताए । ‘हामी सबैमा पोजिटिभ देखिएपछि अहिलेसम्म बैंक बन्द छ,’ ती कर्मचारीले भने, ‘सोमबार एक साता हुन्छ । त्यसपछि सबैको परीक्षण गरेर संक्रमणमुक्त भए सेवा सुचारु हुन्छ । नभएसम्मका लागि बैंक खुल्दैन ।’

पर्वत अस्पतालका ३ चिकित्सकसहित १४ जना स्वास्थ्यकर्मी संक्रमित छन् । स्वास्थ्यकर्मी संक्रमित भएपछि केही दिनयता नियमित सेवा प्रभावित भएको अस्पतालका सूचना अधिकारी लक्ष्मण शर्माले बताए । उनका अनुसार आइतबारदेखि अस्पतालको ओपीडी सेवा बन्द गरिएको छ । परीक्षण गरिएकामध्ये ८० प्रतिशतभन्दा धेरैमा संक्रमण देखिएपछि आइतबारदेखि नै इमर्जेन्सीबाहेकका सेवा बन्द गरेर फिबर क्लिनिक सञ्चालनमा ल्याइएको उनले बताए । स्वास्थ्यकर्मीका अनुसार अहिले देखिएका संक्रमितमा हल्का ज्वरो आउने, टाउको दुख्ने, मांसपेसी दुख्ने, बान्ता आउनेलगायतका लक्षण देखिएका छन् ।

स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा सक्रिय संक्रमितको संख्या २ सय ७६ पुगेको छ । संक्रमितको तुलनामा अस्पताल भर्ना हुनेको संख्या निकै न्यून रहेको कार्यालय प्रमुख सन्तोष पौडेलले बताए ।

प्रकाशित : माघ १०, २०७८ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?