दुई सातामा पनि भेटिएन नरभक्षी बाघ

नारायण शर्मा

पूर्वी नवलपरासी — दुम्किवास आसपासमा मान्छे खाने बाघ समात्न गरिएको प्रयास दुई साता भइसक्दा पनि सफल हुन सकेको छैन । 

दुई सातामा पनि भेटिएन नरभक्षी बाघ

दुई साताअघिदेखि विनयी त्रिवेणीको विनयी सामुदायिक वनमा चितवन राष्ट्रिय निकुञ्जको हात्तिसहितको टोलीले बाघको खोजी कार्य सुरु गरे पनि अझै समात्न सकेको छैन । क्यामराबाट नरभक्षी बाघ पत्ता लगाएर यकीन गर्नुपर्ने भएकाले समस्या भएको हो ।

आइतबार बिहानसम्म बाघ हेर्न राखिएको क्यामेरामा बाघ हिँडेको पाइला प्रशस्तै देखिएको छ । बाघ नियन्त्रणमा लिने टोली प्रमुख तथा घढियाल प्रजनन तथा वन्यजन्तु उद्धार शाखाका प्रमुख सरोजमणी पौडेलले नरभक्षी बाघ भेटिएपछि हात्ती र प्राविधिक थपिने जानकारी दिए ।

बाघ खोजीमा खटिएका सहायक वन अधिकृत अमृत ज्ञावालीका अनुसार हाल दुई महिनाअघि बाघले मान्छे खाएको स्थान दुम्किबास र अरुणखोलाबीचमा रहेको विनयी सामुदायिक वनमा बाघको खोजी भइरहेको छ । त्यहाँ बाघको पाइला धेरै नै भेटिएको छ ।

क्षेत्र ठुलो भएकाले कुन स्थानमा बसेको छ भन्ने पत्ता लगाउन समस्या भएको छ । ४ हजार हेक्टरभन्दा धेरै क्षेत्रफलमा फैलिएको जंगल भएकाले पत्ता लगाउन समस्या भएको छ । मान्छे खाएको स्थान आसपासमा फेरि बाघको मुभमेन्ट देखिएकाले खोजी त्यतै केन्द्रित गरिएको ज्ञवालीले जानकारी दिए । बाघ रहेको क्षेत्र नारायणी नदीको किनारबाट उत्तरतर्फको ठुलो क्षेत्र भएकाले खोजीमा समस्या भएको छ ।

चितवन राष्ट्रिय निकुञ्जका सहायक वार्डेन राजु घिमिरेले तीनवटा हात्तीसहित १५ जना प्राविधिकको सहयोगमा नरभक्षी बाघको खोजी सुरु गरिएको दुई साता बितिसक्दा पनि बाघ पत्ता नलागेर हैरान भएको बताए ।

मान्छे खाएको स्थानमा देखिएको बाघका पाइला र अहिले फेला परेको बाघको पाइलामा अध्ययन गरेर एउटै हो वा फरक फरक बाघ हो भन्ने यकीन गर्न सकिने उनले जानकारी दिए । ५ साताअघि बाघले मान्छे खाएको स्थान र हाल बाघ हिँडेको क्षेत्र एउटै भएकाले अब पत्ता लाग्नेमा प्राविधिकहरू भने आशावादी छन् । दुवै पटक भेटिएको बाघको पाइला अध्ययनपछि मात्र त्यो यकीन गर्न सकिने उनको भनाइ छ । बाघको यकीन भएपछि हात्ती र बाघ खोज्ने प्राविधकको संख्या थप्ने दाउमा निकुञ्ज प्रशासन रहेको छ ।

‘हात्ती परिचालन भएको सुइँको पाएपछि जोडी बाघ अन्यत्र हिँडेको अनुमान छ । ठुलो जंगलमा बाघको खोजी कार्य जटिल र खर्चिलो छ । तीनवटा हात्ती र १५, १६ जना प्राविधिकको खर्च दैनिक रुपमा ६५ हजार आसपास खर्च हुन्छ,’ सहायक वार्डेन घिमिरेले भने त्यसैमा मान्छे खाएकै बाघ पत्ता लगाउने काम झन जटिल र जोखिमपूर्ण छ ।

दुम्किवास आसपासको क्षेत्रमा गत साढे २ महिनाको अवधिमा बाघले दुई जनाको ज्यान लिएको छ भने अर्का एक जना गम्भीर घाइते छन् । बाघ आतंकपछि स्थानीय जंगल जान छाडेका छन् । ‘पछिल्लो समय त्यहाँ बाघले तीन दिनअघि दुईवटा गाईवस्तु खाएको छ । हाल खोजी भइरहेको ठुलो क्षेत्रमा धेरै बाघ हिँडेको देखिन्छ‚ त्यसैबाट नरभक्षी बाघ पत्ता लगाउने काम जटिल छ‚’ ज्ञवाली भन्छन्‚ ‘प्रयास जारी छ ।’

प्रकाशित : माघ ९, २०७८ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?