अखेटोपहार र बन्दुकसहित एक जना पक्राउ


पोखरा — वन्यजन्तुको छाला (अखेटोपहार) र बन्दुक घरमा लुकाएर राखेको आरोपमा प्रहरीले पोखरा-२२ पुम्दीभुम्दीका २८ वर्षीय खोबहादुर थापालाई पक्राउ गरेको छ । उनको साथबाट एक थान दुईनाले कार्तुस बन्दुकसमेत बरामद भएको छ ।

कास्की प्रहरीका प्रवक्ता एवं डीएसपी सुन्दर तिवारीका अुनसार थापाको घरबाट ७ फिट लम्बाइको चितुवाको छाला, २ फिट ६ इन्च चौडाइ भएको पुच्छरसहितको टाटेपाटे खैरो रंगको एउटा छाला बरामद भएको छ ।
यसैगरी चितुवाको दाह्रासहितको दाँतको भागको एक टुक्रा, कार्तोस बन्दुकामा लाग्ने प्रयोग भएका खाली खोका ४५, सोही बन्दुकमा प्रयोग हुने धातुका छर्रा १९१ थान, ३१५ ग्राम बारुद, सानो छर्रा डेढ सय र छर्रा बनाउन प्रयोग हुने सिसाको धातु झन्डै तीन केजी बरामद भएको तिवारीले बताए ।
बुधबार पक्राउ परेका उनलाई कास्की जिल्ला अदालतबाट हातहतियार तथा खरखजानासम्बन्धी कसुरमा म्याद थपी अनुसन्धान थालिएको र वन्यजन्तु संरक्षण ऐन २०२९ सम्बन्धी कसुरसमेत गरेकाले थप अनुसन्धान र कारबाहीका लागि अखेटोपहारसहित डिभिजन वन कार्यालय कास्कीमा पठाउन लागिएको तिवारीले बताए ।
प्रकाशित : माघ ७, २०७८ १५:२३