१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

समुदायमा फैलँदै संक्रमण

‘अहिले घरघरै पोजिटिभ केस देखिएका छन् । यति हुँदा पनि सचेत भएनौं भने समस्या पर्ने हामीलाई नै हो ।’
आश गुरुङ

लमजुङ — जिल्लामा कोरोना संक्रमण बढ्दो छ । परीक्षण गरिएका आधाभन्दा धेरैमा संक्रमण पाइन थालेपछि संक्रमण समुदायमै पुगिसकेको चिकित्सकहरूले बताउन थालेका छन् । तर स्वास्थ्य मापदण्ड पालनामा भने चासो दिने गरिएको छैन ।

समुदायमा फैलँदै संक्रमण

जिल्ला अस्पताल लमजुङले बिहीबार ५४ जनाको एन्टिजेन परीक्षण गर्दा ३२ जनामा कोरोना संक्रमण देखियो । अस्पताल प्रशासन प्रमुख हेमन्त श्रेष्ठका अनुसार बुधबार ४० जनाको परीक्षण गर्दा १७ जनामा र मंगलबार ५५ जनाको परीक्षण गर्दा २१ जनामा संक्रमण पुष्टि भएको थियो । ‘कोरोना भुसको आगोझैं सल्किरहेको छ । अझै पनि बढ्ने संकेत देखिन्छ,’ उनले भने । मर्स्याङ्दी गाउँपालिका–६ का एक ८७ वर्षीय पुरुष संक्रमितको उपचारका क्रममा मंगलबार मृत्युसमेत भएको थियो ।

मध्य नेपाल नगरपालिकामा माघ १ देखि बिहीबारसम्म ४२ जनामा एन्टिजेन परीक्षण गरिएकामा २८ जनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य शाखा प्रमुख सूर्यप्रसाद पौडेलले बताए । यो ६६.६६ प्रतिशत हो । सुन्दरबजार नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत नीरज सापकोटाका अनुसार पुस ३० देखि बिहीबारसम्म ५७ जनाको पीसीआर परीक्षण गरिएकामा ३५ जनामा संक्रमण पाइएको छ । त्यसबाहेक ४८ जनामा एन्टिजेन परीक्षण गर्दा ३० जनाको रिपोर्ट पोजिटिभ आएको छ । ‘कोरोना संक्रमण बढ्दो छ । यही हिसाबले अझै बढ्ने देखिन्छ,’ उनले भने ।

जिल्ला अस्पतालमा ३२ जना र स्थानीय तहले स्वास्थ्य कार्यालयलाई जानकारी गराएको २९ जना गरी लमजुङमा बिहीबार मात्रै ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सक्रिय संक्रमित झन्डै २ सय जना पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । पछिल्लो समय कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको स्वास्थ्य कार्यालय प्रमुख अमर दवाडीले बताए । उनका अनुसार माघ १० तिर जिल्लामा कोरोना उच्च बिन्दुमा पुग्ने र १ साताजति स्थिर रहन सक्छ । त्यसपछि बिस्तारै कम हुँदै जाने उनको आकलन छ । ‘अहिले घरघरै पोजिटिभ केस देखिएका छन् । यति हुँदा पनि सचेत भएनौं भने समस्या पर्ने हामीलाई नै हो । हामीले सचेतना जगाउँदा सकारात्मक रूपमा लिनुपर्‍यो,’ उनले भने ।

सबै मिलेर लागेमा कोरोना संक्रमण न्यूनीकरण गर्न सकिने उनको भनाइ छ । ‘अहिले परिवारमा संक्रमण फैलिन थालेको छ । परिवारमै कसरी कोरोनाबाट बच्ने भन्ने छलफल हुन आवश्यक छ । हरेक तह र तप्काका व्यक्तिले स्वास्थ्य मापदण्ड मात्रै पालना गर्ने हो भने कोरोना धेरैमा सर्न पाउँदैन,’ उनले भने । गत वैशाखयता लमजुङमा कोरोना संक्रमितको संख्या ३ हजार नाघेको छ । ३९ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् ।

प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले कोरोना संक्रमण बढ्दै गएकाले जिल्ला प्रवेशद्वार पाउदीमा हेल्थ डेस्क स्थापना गरिएको बताए । मास्क नलगाउने यात्रु बोक्ने चालकलाई समेत कारबाही गरिने उनले बताए । ‘हामी कोरोनालाई नियन्त्रण र न्यूनीकरण गर्ने हिसाबले अघि बढेका छौं । सबैभन्दा ठूलो सचेतना हो । स्वास्थ्य मापदण्ड मात्रै पालना गर्ने हो भने कोरोना नियन्त्रण हुन धेरै बेर लाग्दैन,’ उनले भने ।

कोरोना नियन्त्रणको रणनीति तयार गर्न व्यवसायी, सामाजिक व्यक्तित्व, स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी, सुरक्षा निकायका प्रमुखसँग अनौपचारिक छलफल भइरहेको र औपचारिक छलफलका लागि बोलाइएको उनले जनाए । ‘कोरोना संक्रमण दिनका दिन बढ्दो छ । अब हामीले नयाँ कदम चाल्नैपर्छ । यसबारे छलफल हुँदै छ,’ उनले भने ।

प्रकाशित : माघ ७, २०७८ १०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?