कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

अस्पतालमै थन्किए अक्सिजन प्लान्ट

विद्युत्, जनशक्ति र नियमित मर्मत नहुँदा सञ्चालनमा अड्चन

कास्की — जिल्ला अस्पताल स्याङ्जाले अक्सिजन प्लान्ट जडानका लागि गत जेठमा खरिद प्रक्रिया अगाडि बढायो । भदौमा अक्सिजन प्लान्ट अस्पतालमा भित्रियो । अक्सिजन प्लान्ट खरिद गर्दा अस्पतालले विद्युतीय ट्रान्समिटर भने खरिद गरेन । यसले हालसम्म अक्सिजन प्लान्ट सञ्चालनमा आउन सकेको छैन ।

अस्पतालमै थन्किए अक्सिजन प्लान्ट

अक्सिजन प्लान्टलाई आवस्यक पर्ने विद्युत् नहुँदा प्लान्ट थन्किएको र विद्युत्को व्यवस्थापन नहुँदासम्म सञ्चालनमा ल्याउन नसकिने स्याङ्जाका प्रमुख जिल्ला अधिकारी राजु पौडेलले बताए । हाई भोल्टेजको बिजुली नभएकाले यो समस्या आएको उनको भनाइ छ । यस विषयमा विद्युत् कार्यालयमा छलफल भइरहेको प्रजिअ पौडेलले बताए । ‘ट्रान्समिटर माग गरिरहेका छौं,’ उनले थपे, ‘अहिलेसम्म पाएका छैनौं ।’

स्याङ्जामा एउटा पुरानो अक्सिजन प्लान्ट छ । सोही प्लान्टले हालसम्म काम चलाइएको छ । सञ्चालनमा आउन नसकेको नयाँ प्लान्ट हो । गण्डकी प्रदेश सरकारले प्रदेशका एघारवटै जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्ने योजनाअन्तर्गत केही जिल्लामा अक्सिजन प्लान्ट जडान गरिएको भए पनि केही जिल्लामा भने विविध समस्याका कारण सञ्चालनमा आउन सकेका छैनन् । गण्डकीका प्रदेश स्वास्थ्य निर्देशक खिमबहादुर खड्काले मनाङमा पनि विद्युत्कै समस्याले जडान गर्न नसकिएको बताए ।

‘अक्सिजन प्लान्ट जडानको लागि थ्रिफेज लाइन चाहिन्छ’ उनले भने, ‘मनाङमा थ्रिफेज लाइन पुगेकै छैन । एक पटक पुगेको थियो लैजान नपाउँदै बाढीपहिरोले बिगार्‍यो । पुनः पुगेको छैन । जसले गर्दा प्लान्ट अस्पतालमै थन्काएर राखिएको छ ।’ उनले थ्रिफेज लाइनको लागि विद्युत् प्राधिकरणसँग सहकार्य भइरहेको बताए । संघीय सरकारको परिपत्रअनुसार गण्डकीको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार मुख्यमन्त्री कृष्णचन्द्र नेपालीसहित गण्डकीका स्थानीय तहका प्रमुख/उपप्रमुख, प्रमुख जिल्ला अधिकारीसँग कोभिड व्यवस्थापनबारे छलफल चलाएको थियो ।

सोही क्रममा अधिकांश प्रमुख जिल्ला अधिकारीले कोभिड व्यवस्थापनका समस्या सुनाएका थिए । यस्तै, बाग्लुङको धौलागिरी अस्पतालमा पनि अक्सिजन प्लान्ट जडान हुन सकेको छैन् । खरिद प्रक्रिया ढिला भएकाले सञ्चालनमा आउन नसकेको खड्काले बताए । उनका अनुसार प्लाण्ट ल्याउने कार्य जारी छ ।

यसैगरी, लमजुङ जिल्ला अस्पतालमा पनि अक्सिजन प्लान्ट मर्मत गर्नुपर्ने अवस्था छ । २ हजार सिलिन्डर चलेपछि प्लान्टको फिल्टर परिवर्तन गर्नुपर्छ । तर, बजेट अभावका कारण प्लान्ट यत्तिकै थन्किएको छ । जति मर्मत गरे पनि खर्च बढ्दै जाने भएकाले यतिकै रहेको मन्त्रालयको भनाइ छ ।

मन्त्रालयका एक अधिकारी भन्छन, ‘जिल्लाबाट माग हुने कुरा स्वाभाविक हो । तर, बजेट व्यवस्थापनमै समस्या छ । यतिमात्र होइन पुनः मर्मत गर्नुपर्नेमा खर्च बढ्दै जाने भएकाले यतिकै भएको हो ।’ मन्त्रालयका सचिव डा. विनोदविन्दु शर्माले जनशक्ति अभाव भएका जिल्लामा दरबन्दीअनुसार केही दिनमा जनशक्ति पठाउने बताए । ‘एक दुई दिनमै स्वास्थ्यकर्मी खटिनेछन्’ उनले भने, ‘हामीले नियुक्ति दिन लागेका छौं ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्री मघुमाया अधिकारीले सञ्चालनमा आउन नसकेको अक्सिजन प्लान्ट सञ्चालनका लागि बजेट व्यवस्थापन गरिएको बताइन् । ‘हामीले कोभिड व्यवस्थापन समितिको बैठक बसी बजेट छुट्याएका छौं,’ उनले भनिन्, ‘सबै जिल्लामा आवश्यकअनुसार पठाउनेछौं ।’ मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले भइरहेका स्रोत र साधनलाई अपडेट गर्दै लैजाने बताए ।

प्रकाशित : माघ ७, २०७८ १०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?