कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

लुदिखोला घाटमा अनियन्त्रित उत्खनन‚ स्थानीयको विरोध

हरिराम उप्रेती

गोरखा — गोरखा नगरपालिकाले मृतकको अन्तिम दाहसंस्कारका लागि प्रयोग हुँदै आएको घाट मासिनेगरी नदीजन्य पदार्थ उत्खननको ठेक्का लगाएको छ ।  बिहीबार स्थानीयले गोरखा नगरपालिका-१२ र १३ मा पर्ने दरौदी नदीस्थित लुदिखोला घाट क्षेत्रमा अनियन्त्रित उत्खनन कार्य रोकेका छन् ।

लुदिखोला घाटमा अनियन्त्रित उत्खनन‚ स्थानीयको विरोध

२०४० सालदेखि मृतकको अन्तिम संस्कारका लागि प्रयोग हुँदै आएको हाँडिरह दोभानको घाट मासिने गरी नदीजन्य पदार्थ उत्खनन बढेपछि त्यसलाई रोक्न माग गर्दै स्थानीयबासी उत्खननको विरोधमा उत्रिएका हुन् । ‘यो परम्परागत घाट हो, यहाँबाट ढुङ्गा गिट्टी ननिकाल्न भनेर मेयरलाई फोन गर्‍यौं; ठेकेदारलाई भन्यौं; तर हाम्रा कुरा कसैले सुनेनन्,’ गोरखा नगरपालिका–१३ अवुवा कर्मसिं टोल विकास संस्थाका अध्यक्ष किसान उप्रतीले भने । बिहीबार यहाँका स्थानीयले दरौदी नदी किनार पुगेर उत्खनन रोकेका हुन् ।

नदीजन्य पदार्थको उत्खननको जिम्मा पाएको तनहुँको मनोकामना गुरुङ निर्माण सेवाले अनियन्त्रित रुपमा उत्खनन गरिरहेको छ । नगरपालिकाको ठेक्काको शर्तअनुसार नै उत्खनन भइरहेको निर्माण सेवाका प्रमुख गोपिलाल गुरुङले दाबी गरेका छन् ।

ढुंगा‚गिट्टी‚बालुवा उत्खनन बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड-२०७७ मा उत्खनन गर्दा सडक, वन, खोलानालाको किनारा, घाटलाई कुनै हानी नोक्सानी गर्न नमिल्ने उल्लेख छ । तर दरौदी नदीको लुदी खोला घाट क्षेत्रमा भने नदी किनारमा भने जेसीभीको प्रयोगबाट घाट भएको क्षेत्र उत्खनन भइरहेको छ । दरौदी बहावको बिचमा निर्माण सामग्री थुपारिएको छ ।

कानुनविपरीत भइरहेको उत्खनन रोक्न नगरपालिकाले चासो नदिएको स्थानीयको आरोप छ । टेलिफोनमार्फत गरेको गुनासो सुनुवाइ नभएपछि लिखित रुपमै नगरपालिकालाई उत्खनन रोक्न आग्रह गर्ने स्थानीयले बताए । घाटमा भइरहेको उत्खनन तत्काल रोक्नुपर्ने गोरखा नगरपालिका-१३ की भिमकुमारी शाहले बताइन् ।

‘यतिका वर्ष संरक्षण गरेर राखेको घाट मासिने गरी किन ढुङ्गा गिट्टी झिक्नुपर्‍यो,’ उनले भनिन् ।

नियमअनुसार नै उक्त घाटमा ठेक्का लगाएको गोरखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश राज पन्तले बताए । ‘गोरखा नगरपालिकाले ठेक्का लगाएको हो, दुई-तीन जनाले विरोध गर्दैमा उत्खनन रोकिँदैन‚’ उनले भने, ‘नगरपालिकाले ठेक्का लगाएको ठाउँमा काम गर्न नदिने भन्ने हुँदैन ।’ स्थानीयले रोक्न नमिल्ने भन्दै काम अघि बढ्ने उनले बताए ।

प्रकाशित : माघ ६, २०७८ १८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?