२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

अन्ततः बन्द गरिए पर्वतका विद्यालय

यसअघि सरकारले आदेश दिए पनि कोरोनाको जोखिम नरहेको भन्दै विद्यालय पूर्ण रुपमा बन्द भएका थिएनन्
अगन्धर तिवारी

पर्वत — कोरोनाको जोखिममा पनि विद्यालय सञ्चालन गर्न जिल्लाका स्थानीय तहले गरेको निर्णय दुई दिन पनि टिकेन । कुश्मा नगरपालिकासहित जलजला, पैयुँ गाउँपालिका लगायतले विद्यालयमा नियमित पढाइ सञ्चालन गर्ने निर्णय गरेको भए पनि मंगलबारको प्रशासनको निर्णयका कारण विद्यालय बन्द गर्न बाध्य हुनुपरेको पालिकाहरूले जनाएका छन् ।

अन्ततः बन्द गरिए पर्वतका विद्यालय

सरकारले आदेश दिए पनि विद्यालय पूर्ण रूपमा बन्द भएका थिएनन् । मंगलबार जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले विद्यालयसहित सार्वजनिक स्थानका लागि जारी गरेको निषेधाज्ञालगत्तै कुश्मा नगरपालिकाले सबै विद्यालय बुधबारदेखि बन्द गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङले बताए । जिल्ला कोभिड संकट व्यवस्थापन समितिले विद्यालय बन्द गर्न सूचित गरेपछि कुश्मा नगरपालिकाको आकस्मिक बैठक बसेर विद्यालय बन्द गर्ने निर्णय गरेको गुरुङले बताए ।

भौतिक उपस्थितिमा हुने पठनपाठन बन्द भए पनि वैकल्पिक विधिमार्फत नियमित पठनपाठन गराउन अनुरोध गरिएको नगरप्रमुख रामचन्द्र जोशीले बताए । ‘पहिला पनि अनलाइनबाट लामो समय पढाइ भएकै थियो,’ जोशीले भने, ‘अब सोही प्रविधि अवलम्बन गरेर पठनपाठन गर्न भनेका छौं । भौतिक उपस्थिति नहुँदा पनि खासै समस्या हुँदैन ।’ पैयुँ गाउँपालिकाले पनि मंगलबार एक सूचना जारी गरी सबै विद्यालय बन्द गर्न आग्रह गरेको छ ।

कोरोना संक्रमण बढ्न नदिन स्वास्थ्यका मापदण्ड पालना गर्न र गराउन अनुरोध गरिएको गाउँपालिकाका अध्यक्ष खगेन्द्रप्रसाद तिवारीले बताए । जलजलाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रबहादुर क्षेत्रीले प्रशासन र अन्य पालिकाले पनि बन्द गर्ने निर्णय गरेकाले प्रशासनको निर्णय मान्नैपर्ने बताए ।

फलेवास नगरपालिकाले भने अहिलेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छैन । पुस ३० मा विद्यालयहरूको बैठक बसेर विद्यालय खुल्ला राख्ने निर्णय गरेको र समस्या देखिएका वडामा मात्रै बन्द गर्ने र समस्या नभएको खण्डमा यथावत् विद्यालयको पठनपाठन जारी रहने प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद श्रेष्ठले बताएका थिए । उनका अनुसार सम्बन्धित वडाध्यक्षको सल्लाहमा विद्यालय बन्द वा खुल्ला हुन्छ ।

विहादी गाउँपालिकाले देशभरिका विद्यालयलाई गरेको परिपत्रअनुसार विद्यालय बन्द गरेको अध्यक्ष कमलप्रसाद भुसालले बताए । मोदी र महाशिला गाउँपालिकाले यस विषयमा कुनै प्रतिक्रिया सार्वजनिक गरेका छैनन् ।

नेपाल सरकारले विद्यालय बन्द गर्ने परिपत्र गरे पनि जोखिम नहुन्जेलसम्म भन्दै स्थानीय तहले विद्यालय बन्द नगर्ने निर्णय गरेका थिए । नेपाल सरकारको परिपत्र अनुसार जिल्ला शिक्षा समन्वय इकाइले यसअघि विद्यालयको पठनपाठन रोक्न भन्दै सूचित गराइसकेको थियो ।

प्रकाशित : माघ ६, २०७८ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?