३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

गोरखामा संक्रमित दिनहुँ बढ्दै

गोरखा —  केही दिनयता जिल्लामा कोरोना संक्रमितको संख्या दिनहुँ बढेको छ । स्वास्थ्य कार्यालयका अनुसार पुस २५ यतामात्र ८४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । ११ स्थानीय तह रहेको जिल्लाको गोरखा नगरपालिकामा मात्र ५३ जना सक्रिय संक्रमित छन् ।

गोरखामा संक्रमित दिनहुँ बढ्दै

सोमबार मात्र ३४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी नवराज खड्काले बताए । ‘२० जनाको पीसीआर रिपोर्ट प्राप्त हुँदा १५ जनाको पोजिटिभ आयो,’ उनले भने, ‘दिनैपिच्छे संक्रमित थपिएका छन् ।’ सोमबार नै ४५ जनाको एन्टिजेन परीक्षण गर्दा १९ जनाको रिपोर्ट पोजिटिभ आएको पनि उनले बताए ।

‘सोमबारको मात्र पोजिटिभ दर ५२.३१ प्रतिशत छ,’ उनले भने । शंका लागेर परीक्षण गरिएकामध्ये धेरैजसोमा संक्रमण पुष्टि भएको स्वास्थ्यकर्मीको भनाइ छ । संक्रमितको स्वास्थ्य अवस्था भने सामान्य रहेको खड्काले बताए । पछिल्लो समय गोरखासहित पालुङटार नगरपालिका, भीमसेन थापा गाउँपालिका, सहिद लखन, आरुघाट गाउँपालिकामा कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमण सहरदेखि गाउँसम्मकालाई देखिएको छ ।

यसैबीच जिल्लामा मंगलबारबाट बुस्टर (तेस्रो) डोज खोप दिन सुरु भएको छ । दोस्रो मात्राको खोप लगाएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी पत्रकारलगायत अग्रपंक्तिमा खटिनेलाई बुस्टर डोज खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ । खोप अभियानअन्तर्गत यस पहिले लगाएको ६ महिना पुगेकाहरूका लागि बुस्टर डोज खोप लगाउन सुरु भएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

कोरोना संक्रमण जोखिम बढे पनि जिल्लामा स्वास्थ्य सुरक्षा सतर्कता अपनाइएको छैन । बढी भीडभाड हुने सार्वजनिक स्थलमा स्वास्थ्य सुरक्षा सतर्कता अपनाउने गरी तयारी थालिएको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए ।

प्रकाशित : माघ ५, २०७८ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?