१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

विद्यालय पुरिएपछि सिरेटो सहँदै पढाइ

अगन्धर तिवारी

पर्वत — गत भदौको तेस्रो साताको बाढीसँगै खसेको पहिरोले विद्यालय भवन पुरिएपछि मोदी–६ तिलाहारको दोबिल्लास्थित हरि प्राथमिक विद्यालयका विद्यार्थीले चिसो सिरेटो सहँदै पढ्न बाध्य छन् । विद्यालय भवन पहिरोले पुरिएपछि विद्यार्थीलाई स्थानीयको अस्थायी घरमा आलोपालो गर्दै पढाउनुपरेको छ ।

विद्यालय पुरिएपछि सिरेटो सहँदै पढाइ

कोरोनाका कारण गत वैशाखदेखि बन्द विद्यालय भदौ तेस्रो साता खुल्ने तयारी थियो । विद्यालयका शिक्षक, कर्मचारी र व्यवस्थापन समितिले विद्यालय सञ्चालनको तयारी गर्दैगर्दा भदौ १७ को राति भीषण वर्षासहित खसेको पहिरोले विद्यालयको भवन पुरिदियो । बाटोसमेत भत्काइदियो । विद्यालयको भवन पुरिएपछि करिब एक महिनासम्म विद्यालयको पठनपाठनै रोकियो । करिब एक महिनापछि विद्यालयकै सहयोगी रचना केसीको घरमा राखेर पढाउनुपरेको प्रधानाध्यापक सीता पौडेलले बताइन् ।

उनका अनुसार केसीले आफू अर्कै भाडाको घरमा बसेर विद्यालयका लागि आफ्नो अस्थायी घर दिएकी थिइन् । एक महिनापछि भाडाको घर छोड्नुपर्ने भएपछि केसी आफ्नै घरमा फर्किनुपर्‍यो । विद्यालयले केसीको घर खाली गरिदियो । भोलिपल्टबाट विद्यार्थीको पढाइ पुनः रोकियो ।

‘बस्ने ठाउँ नपाएपछि केही समय विद्यार्थीको पढाइ रोकियो,’ पौडेलले भनिन्, ‘पछि स्थानीय छविलाल प्रधानले आफ्नो घर दिनुभयो । अहिलेसम्म त्यहीं पढाउँदै आइरहेका छौं । कक्षाकोठामा जस्तो सजिलो कहाँ छ र ।’ अधिकांश विद्यार्थी आउजाउ गर्ने बाटोसमेत पहिरोले पुरिएपछि गाडतारा हुँदै आउने विद्यार्थीको पढाइ अहिलेसम्म पूरा हुन नसकेको अभिभावकले बताएका छन् । घरदेखि विद्यालयसम्म पुग्ने बाटो पहिरोले भत्काएपछि विद्यालयसम्मको यात्रा रोकिएको छ । ‘अहिलेसम्म विद्यालय पठाउनै सकिएको छैन,’ अभिभावक लालबहादुर केसीले भने, ‘अहिलेसम्म बाटो बनेकै छैन ।’ लामो समयसम्म आउजाउ गर्ने बाटो रोकिएपछि करिब डेढ घण्टा दूरीको तिलाहारमा पठाइएको उनले बताए ।

१७ भदौको राति खसेको पहिरोले विद्यालयको ३ कोठे भवन सबै पुरेको छ । बालकक्षादेखि ३ कक्षासम्म पढाइ हुने विद्यालयमा कोठा अभावले बहुकक्षा शिक्षणबाट पठनपाठन हुँदै आएको थियो । त्यसमा पनि भएको भवन पुरिएपछि सबै विद्यार्थीलाई दुवैतर्फबाट सिरेटो आउने एउटै कोठामा राखेर पढाउनुपरेको शिक्षकको गुनासो छ । ‘कक्षाकोठाभित्रका कुनै सामान पनि जोगाउन सकिएन,’ व्यवस्थापन समितिका अध्यक्ष चित्रसागर श्रेष्ठले भने, ‘तीन दिनपछि झ्यालको रड काटेर कम्प्युटरसम्म निकालेथ्यौं । तिनै कम्प्युटर राख्ने ठाउँसमेत छैन ।’

तत्काल अरू विकल्प नभएपछि एक कोठे अस्थायी घरमा सबै कक्षाका विद्यार्थी राखेर पढाउनुपरेको हो । विद्यालय भवन तत्काल नयाँ बन्ने अवस्था नरहेपछि स्थानीय शिव मन्दिर परिसरमा रहेको धर्मशालामा राखेर पढाउने तयारी गरिएको भए पनि सरोकारवालाको सहयोग नहुँदा धर्मशाला मर्मतसमेत हुन सकेको छैन । धर्मशाला पुरानो गाविस भवन हो । पञ्चायतकालमा निर्माण भएको उक्त भवन केही वर्षअघि स्थानीयले मर्मत गरेर धर्मशाला बनाएका थिए । धर्मशालाको छानो, झ्यालढोका मर्मत तथा कोठा बारबेर गरेर अस्थायी कक्षाकोठा बनाउने गरी तयारी थियो ।

तर, गाउँपालिकाले मौखिक आश्वासन दिएर बजेट नदिँदा उक्त काम पूरा हुन नपाएको शिक्षक र अभिभावकको गुनासो छ । ‘दसैंतिहारको बिदासम्ममा मर्मत सकेर विद्यालय सार्ने योजना थियो,’ अध्यक्ष श्रेष्ठले भने, ‘पालिकाले मौखिक आश्वासन दियो । बजेट नदिँदा काम पूरा हुन पाएन ।’ गाउँपालिकाका शिक्षा अधिकृत झकप्रसाद गौतमले पुरानो विद्यालय भवनको कुनै संरचना काम नलाग्ने भएकाले अन्यत्र जग्गाकै विकल्प खोज्न लगाइएको बताए । विद्यालयमा पहिला ३० विद्यार्थी रहेकोमा पहिरोपछि आधै घटेका छन । विद्यालयमा दुई शिक्षक र एक विद्यालय सहयोगी कार्यरत छन् ।

प्रकाशित : माघ ५, २०७८ १२:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?