२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

घरघरमा धारा आएपछि राहत

गोरखा, तनहुँ — आँगनको धारामा पानी खसेपछि गोरखाको बारपाक सुलिकोट–६ ताकुकोटकी लीलाकुमारी थापाले वर्षौंदेखिको दुःखबाट छुट्कारा पाएकी छन् । घरमै पानी भर्न पाएपछि उनको समय पनि बचत भएको छ । खेर गएको पानी करेसाबारीमा प्रयोग गर्न थालेकी छन् । 

घरघरमा धारा आएपछि राहत

एक ग्रागी पानीकै लागि घण्टौं लाइन बस्नुपर्ने बाध्यताबाट छुट्कारा पाएको थापाले बताइन् । भन्छिन, ‘एउटै मुहानमा ३०–४० घरका मान्छे जाँदा समयमै पालो पाइँदैनथ्यो । झिसमिसेमै उठेर पँधेरो जानुपर्थ्यो, एक गाग्री पानीले एउटा बिहान खर्लप्पै खान्थ्यो । यस्तो ठाउँमा अहिले भान्सामै धारा, शौचालयमै धारा, आँगनमै धारा भएपछि सोच्दै नसोचेको सजिलो भएको छ ।’

नजिकै मूल नहुँदा ताकुकोटबासी पुस्तौंदेखि खानेपानीको समस्या खेप्दै आएका थिए । खानेपानीकै लागि एकाध घण्टाको मूल खोज्दै भौंतारिनुपर्ने बाध्यता थियो । २०७१ सालबाट भुत्तेखोलाको मुहानबाट पानी ल्याउन खानेपानी तथा सरसफाइ उपभोक्ता समिति गठन गरी काम अघि बढाइयो । गाउँमा अहिले ७९ धारा जोडिएको छ ।

खानेपानीको पुस्तेनी समस्या समाधान भएको बुढेसकालमा देख्न पाउदा ८८ वर्षीय टीकाबहादुर सुवेदी हर्षित छन् । सुवेदीले खानेपानी योजना ल्याउन खट्ने उपभोक्ता समितिका पदाधिकारी र सहयोगीलाई सम्मान समेत गरे । भुत्तेखोलाबाट ५ सय मिटरमाथि मनिडाँडामा लिफ्टिङ प्रविधिबाट घर–घरमा पानी वितरण गरेको उपभोक्ता समितिकी कोषाध्यक्ष विष्णुमायाँ श्रेष्ठले बताइन् । यसका लागि मुहान र मनिडाडाँमा ५०–५० घनमिटरको ट्यांकी बनाइएको छ ।

प्रहरी चौकी, गाउँपालिका कार्यालय, सूर्यज्योति माविमा पनि उक्त योजनाको खानेपानी जडान भएको छ । विद्यालयमा खानेपानी धारा जडान भएपछि विद्यार्थीको समेत समय बचत भएको छ । ‘पानी लिन जाँदा विद्यार्थीले पहिलो पिरियड पढ्न पाउँथेनन्,’ शिक्षिकासमेत रहेकी श्रेष्ठले भनिन् ।

लिफ्टिङ प्रविधिको आयोजना सम्पन्न गर्न दुई करोड ११ लाख रुपैयाँ खर्च भएको छ । जिल्ला खानेपानी डिभिजन कार्यालय, प्रदेश र संघीय सरकारबाट रकम विनियोजन भएको समितिका सचिव जयराम निरौलाले बताए । योजना सम्पन्न भएसँगै बाहाकोट, पल्लो गाउँ, भञ्ज्याङ, पाल्खुका ७५ धर लाभान्वित भएका छन् । बारपाक सुलिकोट गाउँपालिकाको प्रत्येक घरधुरिमा पाँच वर्ष भित्र घर–घरमा धारा पुर्‍याउने लक्ष्यअनुसार नै ताकुकोटको भुत्तेधारा योजना सम्पन्न भएको गाउँपालिका अध्यक्ष विष्णु भट्टले बताए । पाँच वर्षको अवधिमा गाउँपालिका भरिका झन्डै ८० प्रतिशत घरमा धारा जडान भएको उनले बताए ।

लिफ्ट प्रविधिबाट गाउँमा खानेपानी

‘पहिला खानेपानी खोज्दै घटौं समय खर्चिनुपर्थ्यो,’ तनहुँको भानु–१३ मिर्लुङस्थित टुटेपानी गाउँकी नन्दकुमारी गुरुङले भनिन, ‘अहिले आँगनमै पानी आएर निकै सहज भएको छ । यस्तो होला भन्ने सोचेकै थिएनौं । खुसीको सीमै छैन ।’

गण्डकी प्रदेश सरकारले लिफ्टिङ प्रविधिबाट खानेपानी पुर्‍याएपछि गाउँबासीलाई सहज भएको हो । ‘बिहान भाले नबास्दै बस्ती तलको कुँवामा पानी लिन जानुपर्थ्यो’, उनले भनिन्, ‘अब चौबिसै घण्टा आँगनमै पानी आउने भएको छ । होमस्टेमा पाहुँना आउँदा पनि अब पानीको जोहो गर्नुपर्ने चिन्ता हटेको छ ।’

प्रकाशित : माघ ४, २०७८ १२:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?