कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हरियाली नासेर कंक्रिटको पार्क

बागलुङ — बागलुङको ट्राफिक चोक नजिकैको पार्क अहिले पनि ‘वीरेन्द्र ऐश्वर्य पार्क’ ले चिनिन्छ । यहाँ पञ्चायतकालमा तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्यको सालिक प्रतिस्थापन गरिएको थियो । यसले जिल्लाकै पहिचान बढाएको थियो ।

हरियाली नासेर कंक्रिटको पार्क

२०६२/६३ को आन्दोलनमा राजारानीका सालिक ढालियो । अहिले पार्क व्यवस्थापनका लागि भनेर सबै रुख काटिएको छ, भएका संरचना भत्काएर कंक्रिट बिछ्याइए पनि पहिलेजस्तो आकर्षक नभएको स्थानीयले बताए ।

पहिला यहाँ बालबालिका खेल्थे । बागलुङ नगरपालिकाले एकजना हेरालो राखेर सरसफाइ पनि गरेको थियो । पछिल्लो समय भने यहाँ हेरालोसमेत नभएपछि पार्क अव्यवस्थित बन्दै गएको छ । फोहोर फाल्ने र दुर्व्यसनीको अखडा बनेपछि नगरपालिकाले पार्कलाई व्यवस्थित बनाउन डिपिआर बनायो ।

डिपिआरमा कंक्रिट भरिएकाले झन अव्यवस्थित र असुरक्षित हुने स्थानीय व्यवसायी अर्जुन चोखालले बताए । ‘पहिला यो पार्कले जिल्ला प्रवेश गर्नेलाई आकर्षित गर्थ्यो, अहिले फोहोर फाल्ने जस्तो भयो’ चोखालले भने, ‘व्यवस्थित पार्क भनेको कंक्रिट बनाउने होइन ।’ बरु हरियाली पार्कका रूपमा विकास गर्न सकिने उनले सुझाव दिए ।

नगरपालिकाले १ करोड रुपैयाँको लागतमा यो पार्क व्यवस्थापनको ठेक्का लगाएको छ । नगरपरिषद्बाट रकमान्तरण गरेर पनि थप ४० लाख लगानी गर्ने योजना बनाएको छ । तर अधिकांश भाग कंक्रिट र पर्खाल बन्ने भएपछि व्यवस्थापन हुन नसक्ने आशंका बढेको हो ।

‘यहाँका महत्त्वपूर्ण रुख कटान गरिएकोले हरियाली बनाउन धेरै वर्ष लाग्छ,’ वडा नं २ का अध्यक्ष जीवन आचार्यले भने, ‘सरोकारवालाको छलफलबाट बनाउन सकेको भए राम्रो हुन्थ्यो, भएका संरचना मासेर मात्रै विकास हुँदैन ।’ नगरप्रमुख जनकराज पौडेलले भने वरिपरिको सडकभन्दा होचो भएकाले अग्लो बनाएर व्यवस्थापनको काम गरेको दाबी गरे । डीपीआर मार्फत काम गरेकाले व्यवस्थित हुने उनले बताए ।

यहाँका सालिक संरक्षणबारे भने डीपीआरमा कुनै पनि योजना समावेश छैन । यहाँ नागको मूर्तिसमेत रहेकाले पहिले कतिपयले फोहोर गर्न डराउँथे । अहिले डोजर लगाएर फालेकोले धुलैधुलो बनेको छ । गणतन्त्रपछि स्थापित भएका पार्कसमेत अव्यवस्थित छन् । एमालेले स्थापना गरेको मदन आश्रित पार्क, २०५४ मा स्थापना भएको सहिदस्मृति पार्क, बाल उद्यान र कांग्रेसले बनाएको बीपी बाटिका पनि अलपत्र छन् ।

प्रकाशित : माघ ४, २०७८ १२:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?