कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

विद्यालय बन्द नगरी नियमित पढाइ

अगन्धर तिवारी

पर्वत — कोरोना महामारीको तेस्रो लहरका बीच सरकारले देशभरका विद्यालय बन्द गर्ने निर्णय गरे पनि जिल्लाका विद्यालय भने यथावत् सञ्चालनमा छन् । जिल्लाभर कोभिडको संक्रमण भयावह नभइसकेको र शैक्षिक सत्रको कोर्स पूरा गर्नुपर्ने बाध्यता रहेकाले विद्यालयले बन्द गर्न मानेका छैनन् । 

विद्यालय बन्द नगरी नियमित पढाइ

स्थानीय तहले विद्यालय बन्द गर्नुपर्ने वा नपर्ने अवस्थाबारे विद्यालय व्यवस्थापन समिति तथा प्रधानाध्यापकसँग छलफल गरिरहेका छन् । छलफलका क्रममा सामाजिक दूरी कायम गरी स्वास्थ्य मापदण्ड अपनाएर अध्यापन गर्न सकिने भएकाले बिहीबार कुश्मा नगरपालिकाभित्रका प्रधानाध्यापकलाई छलफलका लागि बोलाएर नगरपालिका विद्यालय बन्द नगर्ने निर्णयमा पुगेको हो ।

बैठकमा सबै प्रधानाध्यापकको एक मत रहेकाले विद्यालय बन्द नगर्ने निर्णय भएको कुश्मा नगरपालिकाको नगर शिक्षा शाखाका प्रमुख विष्णुप्रसाद तिवारीले बताए । कोरोनाको नयाँ भेरिएन्टको संक्रमण अन्य जिल्लामा बढ्दो देखिए पनि कुश्मा नगरक्षेत्रमा बन्द गर्नुपर्ने अवस्था नदेखिएको उनले बताए । ‘हाल सामान्य अवस्था छ’, उनले भने, ‘यस्तोमा पढाइ प्रभावित नपार्न सबै प्रअ सहमत छन् । संक्रमणको अवस्था बढेमा बन्दको निर्णय गरिने छ ।’

त्यस्तै फलेबास नगरपालिकाले पनि शनिबार कार्यपालिकाको बैठक राखेर विद्यालय बन्द गर्ने, नगर्ने विषयमा छलफल गरेको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद श्रेष्ठले बताए । उनका अनुसार माध्यमिक तहका विद्यालय बन्द गर्नुपर्ने भएमा सम्बन्धित वडा कार्यालयसँग समन्वय गर्ने निर्णय भएको छ । ‘जुन वडामा समस्या हुन्छ सोही वडा कार्यालयसँग समन्वय गरेर बन्द गर्ने गरी निर्णय भएको छ,’ श्रेष्ठले भने, ‘अहिले पहिले जस्तो सबै विद्यालय बन्द गर्नुपर्ने भन्ने छैन । संक्रमणको जोखिम हुने वडामा मात्रै सोही वडाध्यक्षको अध्यक्षतामा बैठक बसेर निर्णय हुन्छ ।’

जलजलाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रबहादुर क्षत्रीका अनुसार पालिकाभित्रका सबै विद्यालयले नियमित कक्षा सञ्चालन गर्न सहमति जनाइसकेका छन् । ‘सोमबार पालिकाले सबै प्रअलाई बोलाएर निर्णय गर्ने तयारी गरेको छ,’ उनले भने, ‘हामीले कसैलाई पनि बन्द गर्न भनेका छैनौं । उहाँहरू पनि बन्द गर्ने पक्षमा हुनुहुन्न ।’ गत वर्ष लामो समय लकडाउन भएका कारण विद्यालय बन्द हुँदा पठनपाठन प्रभावित भएकाले यस वर्ष जसरी पनि कोर्स सक्ने तयारीमा विद्यालय छन् । बिहादी, पैयुँ, महाशिला र मोदी गाउँपालिकाका विद्यालयमा पनि नियमित रूपमा पठनपाठन भइरहेका त्यहाँका अधिकारीहरूले बताए ।

जिल्ला प्रशासन कार्यालयले भने यसअघि नै सूचना निकालेर बढीमा २५ जनाभन्दा बढी भेला हुन नपाउने गरी निर्देशन दिइसकेको छ । प्रशासनको आदेशले सार्वजनिक स्थानमा मान्छे भेला भएर हूलमूल गर्नेलाई मात्रै प्रभावित पार्ने भएकाले विद्यालयमा सामाजिक दूरी कायम गरेर अध्यापन गर्दा त्यसको प्रभाव नपर्ने सरोकारवाला बताउँछन् ।

अभिभावकहरू भने विद्यालय जाने १२ वर्षमुनिका बालबालिकाले खोप नलगाएका कारण सबैभन्दा जोखिम क्षेत्र विद्यालय नै रहेको बताउँदै आएका छन् । सरकार र स्थानीय प्रशासनले विज्ञहरूकै सुझावअनुसार विद्यालय बन्द गर्न भनेकाले विज्ञले दिएको सुझाव गलत नहुने अभिभावकहरूको प्रतिक्रिया छ ।

प्रकाशित : माघ ४, २०७८ १०:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?