कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

जोखिम बढ्यो, छैन सतर्कता

पहिलेका आइसोलेसन, क्वारेन्टिन सञ्चालनलाई निरन्तरता दिन स्थानीय तह निष्क्रिय, हेल्थडेस्क लथालिंग

गोरखा, बागलुङ — कोभिड जोखिम बढेसँगै सरकारले देशभरका विद्यालय माघ १५ सम्म बन्द गर्ने निर्णय गर्‍यो । सरकारको निर्देशनसँगै जिल्लाका विद्यालय पनि बन्द छन् । केही विद्यालयले अनलाइन कक्षा सञ्चालन गरी सिकाइ सहजीकरणको तयारी गरे पनि अधिकांश विद्यालय पठन पाठनलाई निरन्तरता दिने विषयमा अन्योलमा छन् । 

जोखिम बढ्यो, छैन सतर्कता

तर सार्वजनिक स्थल, सेवा प्रदायक कार्यालयमा भने भीडभाड उस्तै छ । पहिलो र दोस्रो लहरको कोरोना संक्रमणको बेला जिल्ला भित्रने नाकामा स्थापना भएका हेल्थडेक्स लथालिंग छन् । अघिल्ला वर्ष स्थापना भएका आइसोलेसन र क्वारेन्टिन सञ्चालनलाई निरन्तरता दिन स्थानीय तह अग्रसर छैनन् । ‘हालसम्म कुनै पनि सतर्कता अपनाइएको छैन, अन्तिम अवस्थामा पुगिसकेपछि तयारी गर्ने कुराले नागरिकलाई आफू सुरक्षित छु भन्ने महसुस हुँदैन,’ नागरिक अगुवा स्थानेश्वर दवाडी भन्छन्, ‘विगतको सिकाइलाई ध्यान दिँदै सुरुदेखि सतर्कता अपनाउनु जरुरी छ ।’

परीक्षणको दायरा बढाउनुपर्ने उनले बताए । संक्रमित समेत खुलमखुला हिँड्दा जोखिम झनै बढेको उनले बताए । ‘संक्रमितले पनि सतकर्ता अपनाइदिनुपर्‍यो, परीक्षण गरेपछि पनि रिपोर्ट नआउँदासम्म खुलमखुला हिँड्नु भएन,’ उनले भने । जिल्ला प्रशासनले पुस २८ बाट लागु हुने गरि २५ जनाभन्दा बढी उपस्थिति हुने गरी मेला, भेला तथा महोत्सव र सामाजिक कार्य नगर्न आदेश जारी गरेको छ ।

सेवाग्राहीको बढी चाप हुने जिल्ला प्रशासन, मालपोत, नापी, आन्तरिक राजस्व कार्यालय र बैंक तथा वित्तीय संस्थामा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी भीडभाड नहुने व्यवस्था मिलाउन निर्देशन गरेको छ । तर सरकारी कार्यालयले नै भीडभाडलाई व्यवस्थित बनाउन सकेका छैनन् । ‘सेवा पनि दिने भीडभाड पनि नगर्ने किसिमले व्यवस्थित बनाउन सकिन्छ,’ दवाडीले भने, ‘तर सरकारी कार्यालयमा यस्तो देखिँदैन, कोचिएर, ठेलिएर सेवा लिनुपर्ने बाध्यता छ ।’

स्वास्थ्य कार्यालय गोरखाका अनुसार हाल २८ सक्रिय संक्रमित छन् । यीमध्ये पालुङटारस्थित आँपपिपल अस्पतालका ४ चिकित्सकलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । गोरखा नगरपालिकामा १४, पालुङटार नगरपालिकामा ७, भीमसेन थापा गाउपालिका र सिरानचोक गाउँपालिका १/१ जना र आरुघाट गाउँपालिकामा ५ सक्रिय संक्रमित छन् । कोभिड जोखिम बढेसँगै परीक्षणको दायरा बढाउने तयारीमा रहेको आरुघाट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विजय श्रेष्ठले बताए । ‘रुघाखोकीका बिरामी बढ्दै छन्, शंका लागेकालाई परीक्षणको लागि आउन भनेका छौँ,’ उनले भने ।

जिल्लामा खोप अभियान चलिरहेको छ । १८ वर्ष माथिका एक लाख ५९ हजार दुई सय ३८ लाई खोप लगाउने लक्ष्य राखिएकोमा एक लाख २६ हजार ६ सय ९० जनाले पूर्ण खोप लगाएका छन् । ११.४३ प्रतिशतले पूरा मात्रा खोप लगाउन बाँकी छ । १२ देखि १७ उमेर समुहका २६ हजार ६ सय ६१ मध्ये ८९.५२ प्रतिशतले मात्र पहिलो मात्राको खोप लगाएका छन् । उनीहरूलाई दोस्रो मात्राको डोज दिनै बाँकी रहेको स्वास्थ्य कार्यालय गोरखाका सुचना अधिकारी नवराज खड्काले बताए ।

विदेशबाट आएकालाई बढी निगरानी

कोरोना संक्रमण बढ्दै गएपछि जिल्लाका नाका र धार्मिक स्थलमा कडाइ शुरु भएको छ । भारत र तेस्रो देशबाट आएकाको बिशेष निगरानी थालिएको छ । धार्मिक स्थलमा पनि धेरै मानिस जम्मा हुन रोक लगाइएको छ ।

मठमन्दिरमा हिडेकालाई प्रहरी नै खटिएर अनिवार्य मास्क लगाउन भनेको प्रहरी उपरिक्षक कृष्णबहादुर पल्लीमगरले बताए । जिल्ला प्रवेश गर्ने मालढुंगामा चौबिसै घण्टा चेकिङ भइरहेको प्रमुख जिल्ला अधिकारी रमेश ढकालले बताए । ‘क्वारेन्टाइन नभएकोले बिदेशबाट आएका कोही रहेछन् भने सोझै वडाध्यक्षलाई सूचना दिएर होमआइसोलेसन बस्ने व्यवस्थापन सुरु भएको छ,’ ढकालले भने, ‘होल्डिङ सेन्टर र केही सांकेतिक आइसोलेसन भने बनाउनुपर्ने भएको छ ।’ त्यसका लागि स्थानीय तह, स्वास्थ्य कार्यालयसँग छलफल भइरहेको उनले बताए ।

यसअघि पहिलो लहरमा अधिकांश विद्यालयलाई क्वारेन्टिन बनाइएको थियो । यो पटक भने विद्यालयहरू सकेसम्म प्रयोगमा नल्याउने गरी छलफल भएको शिक्षा विकास तथा समन्वय इकाइका उपसचिव कृष्णराज रेग्मीले बताए । अस्पतालमा भने आइसोलेसनसहित अन्य उपचारको तयारी भइरहेको स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौले बताए । ‘जिल्लामा ५४ जना सक्रिय संक्रमित रहेको र गम्भीर बिरामी परेमा तत्काल अस्पताल पुर्‍याउने व्यवस्थापन गरेका छौं’ गुरौले भने, ‘यो पटकको फैलावट धेरै छ ।’ फैलावटको दृष्टीले ओमिक्रोन भाइरस भएको स्वास्थ्यकर्मीले अनुमान गरेका छन् ।

अधिकांश पोजिटिभ केसहरू एन्टिजेन्टमार्फत भएकाले कुन भाइरस भन्ने पत्ता नलागेको हो । कोभिड १९ मा एक जनाले बढीमा २ वा तीन जनालाई संक्रमण पार्न सक्छ भने ओमिक्रोन भाइरस एकजनाले १० जनासम्मलाई संक्रमित बनाउन सक्ने उनले बताए ।

संक्रमणको जोखिम बढेकै कारण मेला महोत्सव र कार्यक्रमहरू अधिकांश कटौती भैसकेका छन् । विभिन्न दिवस तथा कार्यक्रम पनि सीमित मानिस बसेर सम्पन्न गरेको ढकालले बताए । यहाँको कुश्मीसेरामा सञ्चालित जैमिनी महोत्सव र बिहुँमा सञ्चालित महायज्ञलाई पनि छोट्याइएको उनले जानकारी दिए ।

प्रकाशित : माघ ४, २०७८ १२:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?