गण्डकी प्रदेशभर संक्रमण दर बढ्दो


पोखरा — गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या गत पुस ९ मा ७ जना मात्रै थियो । पछिल्लो १० दिनयता भने संक्रमण दर भने उकालो लाग्दै छ । पुस २३ मा १६ जना संक्रमित हुँदा त्यसको भोलिपल्टै ३८ जना, २७ पुससम्म आइपुग्दा १ सय १४ जनामा पुगेको संक्रमण माघ १ मा संक्रमितको संख्या बढेर २ सय ६ जना पुगिसकेको छ ।



आइतबार प्रदेशभरमा २ सय १३ जना संक्रमित थपिएका छन् । दैनिक संक्रमितको संख्या बढिरहँदा सहरमा भने भीडभाड घटेको छैन । प्रदेशमा भारतबाट भित्रिने नाका पूर्वी नवलपुरको त्रिवेणी मात्रै हो । उक्त नाका हुँदै नेपाल भित्रिनेको संख्या न्यून भए पनि भारतबाट अन्य प्रदेशका नाका हुँदै गण्डकीमा आउनेको संख्या धेरै छ ।
प्रदेश सरकारले प्रदेश भित्रिने नाकामा स्वास्थ्यकर्मी र प्रहरीसहितको डेस्क राखे पनि प्रभावकारी भएको छैन । उनीहरूले सवारीमा यात्रा गर्नेले मास्क लगाए/नलगाएको मात्रै हेर्ने गरेका छन् । तनहुँ र चितवनको सिमाना आबुखैरेनी, पाल्पा र स्याङ्जाको सिमाना रामदीमा चेकपोस्ट छन् ।
नाकामा डेस्क प्रभावकारी नभएको प्रदेश स्वास्थ्य निर्देशक खिमबहादुर खड्का स्विकार्छन् । अन्य प्रदेशका नाका हुँदै धेरैजना भारतीय गण्डकी प्रदेश आएकाले त्यसलाई रोक्न नसकिएको उनले सुनाए । ‘ओमिक्रोन व्यापक मात्रामा भित्रिइसक्यो, प्रदेशको सीमामा कडाइ गरेर मात्रै के गर्ने ?,’ उनले भने, ‘भित्रै अस्तव्यस्त भएपछि नियन्त्रण गर्न सम्भव नै छैन ।’ समुदायभर छताछुल्ल संक्रमण फैलिएकाले रोक्न सक्ने स्थिति नभएको उनी बताउँछन् ।
सर्वसाधारणले स्वास्थ्य मापदण्ड पालना नगर्ने, प्रशासनको आग्रहलाई अटेर गर्ने स्थिति बनेको उनको भनाइ छ । ‘भेला, बैठक, कार्यक्रम भइरहेकै छन्, सर्वसाधारणको पनि लापरबाही देखिन्छ,’ उनले भने, ‘संक्रमण फैलिन नदिन सबैले आआफ्नो दायित्व पूरा गर्नुपर्छ ।’
गण्डकीमा आइतबारसम्म १ हजार १ सय ५४ सक्रिय संक्रमित छन् । तीमध्ये १ हजार १ सय १८ संक्रमित होम आइसोलेसनमा छन् । अस्पतालको साधारण बेडमा १३ जना, एचडीयूमा १५ जना, आईसीयूमा ७ जना र भेन्टिलेटरमा एक जनाको उपचार भइरहेको छ । १ हजार ७२ बेड क्षमतामध्ये बाँकी बेड खाली छन् । प्रदेशमा १८ वर्षमाथि ९२.३ प्रतिशतले पहिलो मात्रा र ७९.५ प्रतिशतले पूरा मात्रा कोरोनाविरुद्धको खोप लगाएका छन् ।
१२ देखि १७ वर्ष उमेर समूहमा ५९.४ प्रतिशतले पहिलो मात्रा र १.१ प्रतिशतले पूरा मात्रा खोप लगाएका छन् । यो उमेर समूहकालाई हाल पहिलो मात्रा खोप लगाउने कार्य जारी छ । प्रदेशका जिल्ला खोप समिति र स्थानीय तहले सोमबारदेखि तालिका बनाएर बुस्टर डोज लगाउँदै छन् ।
प्रदेशमा कास्की रेड जोनमा छ । कास्कीमा आइतबार १ सय ५८ जना नयाँ संक्रमित थपिँदा सक्रिय संक्रमितको संख्या ७ सय ७ पुगेको छ । संक्रमणको दर बढ्दै गएपछि कास्कीले शनिबारदेखि स्मार्ट लकडाउन सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालयले स्वास्थ्यका मापदण्ड कायम गर्न, भेला, बैठक, कार्यक्रम नगर्न आदेश जारी गरेको छ । प्रशासनको निर्णयबमोजिम प्रहरीले सार्वजनिक सवारीमा स्वास्थ्य मापदण्ड पालना गरे, नगरेको जाँच गर्न सुरु गरेको छ ।
प्रकाशित : माघ ३, २०७८ ०९:५९