बैठकमै नगई ५ वर्षदेखि तलब

प्रकाश बराल

बागलुङ — गत स्थानीय निर्वाचनमा विजयी यहाँका दुई जना जनप्रतिनिधिले एक दिन पनि बैठकमा सहभागी नभई सेवा/सुविधा लिएका छन् ।

बैठकमै नगई ५ वर्षदेखि तलब

बागलुङको काठेखोला–२ मा एमालेबाट निर्वाचित वडा सदस्य चिरन थापा र कांग्रेसबाट निर्वाचित जयबहादुर थापाले बैठकमा भागै नलिईकन रकम बुझेका हुन् । उनीहरूले मासिक १३ हजार ५ सय रुपैयाँ बुझिरहेका छन् । यहाँ २०७४ वैशाख ३० मा स्थानीय तहको निर्वाचन भएको थियो ।

निर्वाचनमा विजयी भएपछि उनीहरू शपथग्रहणमा आएका थिए । शपथग्रहणमा आएपछि कर्मचारीले बैंक खाता नम्बर र फोन नम्बर टिपेर राखेका थिए । ‘बैठकमा फोनबाट बोलाउने, पत्र पनि पठाउने चलन छ तर उहाँहरू आउनुभएको छैन,’ एक कर्मचारीले भने, ‘पटकपटक खबर भइरहेकै छ, वास्ता भने गर्नु हुन्न ।’ बरु उनीहरूले बेलाबेला फोन नम्बरसमेत फेर्ने गरेकाले खोज्नसमेत समस्या भएको उनले बताए ।

सदस्य जयबहादुर थापाले पहिलो बैठकमै फरक दलका रूपमा अपमान गरेकाले बैठकमा नगएको बताए । ‘एमालेले जितेको छ, म कांग्रेसको परें, सुरुमै हेपाहा प्रवृत्ति देखाए,’ उनले भने, ‘त्यसपछि बैठकमा गएको छैन ।’ घरमै बसेर गाईभैंसी र खेतीपातीमा लागेको उनले बताए । उनले ५ वर्षदेखि नै मासिक १३ हजार ५ सय रुपैयाँ भने खाइरहेका छन् । ‘जनप्रतिनिधिको हाजिरी हुँदैन, बैठकमा आए नआएको विषयले तलब नदिने भन्ने छैन, त्यसैले पठाएका छौं,’ प्रशासकीय अधिकृत मनोज कार्कीले भने, ‘तलब गइरहेको छ, पर्दैन पनि भन्नुभएको छैन ।’ थापाले सेवा सुविधा पाएको विषयमा भने केही बोलेनन् ।

अर्का सदस्य चिरन थापाले पनि अहिलेसम्म बैठकमा भाग लिएका छैनन् । वडा अध्यक्ष विद्यापति शर्माले उनी एक–दुईपल्ट बैठकमा आएको दाबी गरे । ‘बैठकमा नआए पनि दुवै जनाले मलाई सधैं सहयोग गर्नुभएको छ, मैले ल्याएका योजनामा साथ दिनुभएको छ,’ उनले भने, ‘वडा र गाउँपालिकाको बैठकमा किन आउनु भएन, त्यो उहाँले जान्ने कुरा हो ।’ गाउँपालिका अध्यक्ष अमरबहादुर थापाले पनि दुई सदस्य सहभागी नभएको बताए । अन्य जनप्रतिनिधिले वडाको बैठकसहित कार्यपालिका र गाउँसभामा सक्रिय सहभागिता जनाउने गर्छन् ।

साथै योजना अनुगमन, मूल्यांकन तथा अन्य विकास निर्माणका काममा पनि सहयोग गरेको थापाले बताए । खटिने जनप्रतिनिधिले भने काममा लाग्दा तलब मात्र नभई आफ्नो पैसा पनि खर्च हुने बताए । ‘दैनिक काममा खटिँदा हजारौं रकम खर्चसमेत हुन्छ, नहिँड्नेलाई त बचत होला,’ कार्यपालिका सदस्य टीका संगम विकले भने ।

प्रकाशित : माघ ३, २०७८ १२:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?