व्यवस्थापन समिति नहुँदा अस्तव्यस्त अस्पताल

पूर्वाधारमा मात्रै भव्य देखिएको अस्पताल सेवा प्रवाह र संरचना व्यवस्थापनमा भने बिजोग
अगन्धर तिवारी

पर्वत — स्तरवृद्धि गरेर ५० शय्यामा विस्तार गर्न पर्वत अस्पतालमा संरचना निर्माण सुरु भएको चार वर्ष पुग्नै लाग्यो । १५ बाट ५० शय्यामा स्तरवृद्धि गरेपछि सामान्य खालका अप्रेसन साथै विशेषज्ञ सेवासमेत सञ्चालन गर्ने भनिएको जिल्ला अस्पताल पछिल्लो समय भने अस्तव्यस्त बनेको छ । पूर्वाधारमा मात्रै भव्य देखिएको अस्पताल सेवा प्रवाह र संरचना व्यवस्थापनमा बिजोग छ ।

व्यवस्थापन समिति नहुँदा अस्तव्यस्त अस्पताल

अस्पताल अढाई महिनायता व्यवस्थापन समितिविहीन छ । समिति नहुँदा अस्पतालको भौतिक कार्य अलपत्र छ । अस्पतालमा दीर्घकालीन तथा अल्पकालीन योजना तर्जुमा गर्ने गराउने, आवश्यक साधन र स्रोत जुटाउने, अस्पतालको बजेट स्वीकृत गर्नेलगायत काम रोकिएका छन् । भइरहेका संरचना व्यवस्थापन, दैनिक कार्यसम्पादन तथा बिरामीको सुविधाका लागि अस्पतालले दिने सेवासुविधालगायत काम अलपत्र छन् । भौतिक पूर्वाधारसमेत लथालिंग छन् ।

कोभिडको तेस्रो लहर सुरु भइसक्दा सम्भावित तयारी शून्यजस्तै छ । कोभिड बिरामीका लागि लक्षित गरी प्रदेशको सामाजिक विकास मन्त्रालयले २ वर्षअघि दिएको अक्सिजन प्लान्ट सुरु नहुँदै बिग्रिएको छ । त्यसलगत्तै करिब एक महिनाअघि लायन्स क्लबहरूको अगुवाइमा बिभिन्न दाताहरूले करिब सवा एक करोडको लागतमा स्थापना गरिदिएको अर्को प्लान्टसमेत सञ्चालनमा आउन सकेको छैन ।

दैनिक ४० सिलिन्डर ग्यास भर्न मिल्ने उक्त प्लान्ट एक लाख रुपैयाँको जोहो हुन नसक्दा सञ्चालनमा आउन नसकेको अस्पतालका डा. धनबहादुर क्षेत्री बताउँछन् । ‘विद्युत् जडान गर्न एक लाखजति खर्च लाग्दो रहेछ,’ उनले भने, ‘त्यो रकम व्यवस्थापन गर्न नसक्दा नयाँ प्लान्टबाट अक्सिजन उत्पादन गर्न सकिएको छैन ।’ व्यवस्थापन समिति भए उक्त रकम जुटाएर अक्सिजन प्लान्ट सञ्चालनमा ल्याउन सहज हुने उनले बताए ।

अस्पतालकै लागि दुई वर्षअघि नै प्रदेश सरकारले उपलब्ध गराएका ५ बेड आईसीयू र ५ बेड भेन्टिलेटरसमेत अलपत्र छन् । ती बेडको व्यवस्थापन र सञ्चालन गर्न सक्ने जनशक्ति नहुँदा अस्पतालकै गल्लीमा बेड सडिरहेका छन् । तत्काल सञ्चालनमा ल्याउन नसक्ने हो भने ती आईसीयू र भेन्टिलेटर बेडसमेत काम नलाग्ने अवस्थामा पुग्ने कर्मचारी बताउँछन् ।

अस्पतालका सूचना अधिकारी लक्ष्मण शर्माका अनुसार झट्ट हेर्दा समितिविहीन अस्पतालमा कुनै प्रभाव नपरेको भए पनि आन्तरिक व्यवस्थापन र पूर्वाधार, संरचना व्यवस्थापनमा गम्भीर संकट उत्पन्न भएको छ । ‘दैनिक कार्यसम्पादनमा खासै समस्या देखिएको छैन,’ शर्माले भने, ‘स्रोत जुटाएर सबै व्यवस्थापन गर्ने काममा अभिभावकविहीन हुँदा समस्या नहुने कुरा भएन ।’

स्तरवृद्धि र क्षमता बढाउन ६० करोड बढीका संरचना निर्माण भएको भए पनि अस्पतालमा २ वर्षयता दरबन्दीअनुसारको मेडिकल सुपरिन्टेन्डेन्टको नियुक्ति हुन सकेको छैन । दसौं तहको वरिष्ठ चिकित्सकको मेसुको दरबन्दी रहेकोमा २ वर्षयता सातौं र आठौं तहका मेडिकल अफिसरहरूले काम चलाउँदै आएका छन् । कार्यरत चिकित्सक र अरू स्वास्थ्यकर्मीको समेत दरबन्दी अभाव छ । स्वास्थ्यकर्मी अधिकांश सिकारु र केही समयको प्रशिक्षणका लागि आएकाहरूले काम चलाइरहेका छन् । अस्पतालमा भएका शौचालय फोहोरले पुरिएर दुर्गन्धित हुँदासमेत सरसफाइ हुन सकेको छैन । बिरामी र कुरुवा दुर्गन्धले शौचालय प्रयोग गर्न सकेका छैनन् ।

गत कात्तिक २५ गते समयावधि सकिएपछि व्यवस्थापन समिति पुनर्गठित हुन सकेको छैन । दुई महिना अवधिमा ६ बिरामीका आफन्त चिकित्सकको विरोधमा उत्रिएपछि त्यसको निराकरणमा समस्या पर्‍यो । त्यो अवधिमा अस्पतालका भौतिक संरचना तोडफोड हुनुका साथै कर्मचारी व्यवस्थापन र कार्य सम्पादन हुन सकेको छैन । अस्पतालको भवनसमेत पूरा हुन सकेको छैन ।

व्यवस्थापन समिति नहुँदा दीर्घकालीन तथा अल्पकालीन योजना तर्जुमा गर्ने गराउने, आवश्यक साधन र स्रोत जुटाउने, अस्पतालको बजेट स्वीकृत गर्ने, सेवा शुल्क निर्धारण गर्ने, भौतिक सम्पत्तिको संरक्षण तथा मर्मतसम्भार गर्ने काम अलपत्र छन् ।

प्रकाशित : माघ ३, २०७८ १०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?