कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काम सकेपछि ठेक्का सम्झौता

कागजी प्रमाण नभएपछि नगरपालिकाले भुक्तानी दिन नमानेपछि निर्माण कम्पनीको उल्टो तरिका
प्रकाश बराल

बागलुङ — गत आर्थिक वर्ष अगावै सकिएको कामका लागि ढोरपाटन नगरपालिकाले चालु आवमा ठेक्का सम्झौता गरेको खुलेको छ । ढोरपाटन–९ को देउरालीमा गेट निर्माण तथा सडक चौडा पार्ने शीर्षकमा सम्झौता गरे पनि सडकको काम भने गत आवमा सकिएको थियो । निर्माण कम्पनीले सम्झौता बिनै गत आवमा काम सकेर चालु आवमा भुक्तानी खोजेपछि कैफियत देखिएको हो ।

काम सकेपछि ठेक्का सम्झौता

मौसमी कन्स्ट्रक्सनले बिनासम्झौता अन्दाजी १४ लाख रुपैयाँ बराबरको काम गरेको भुक्तान लिन चालु आवमा सम्झौता गरेको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम भट्टराईले बताए । सम्झौताअनुसार भुक्तानी माग्न जाँदा नगरपालिकाले नदिएको र आफू अन्यायमा परेको भन्दै ठेकेदार तेजेन्द्र थापाले गुनासो गर्न थालेपछि नगरपालिकाको यो विषय बाहिरिएको हो ।

गत वर्षको जेठमा कन्स्ट्रसनले सडक सम्याउने, चौडा पार्ने र सिकार आरक्षको गेटका लागि फाउन्डेसन बनाएको थियो । त्यसका लागि झन्डै १ सय ९६ घण्टा डोजर चलाएको ठेकेदार तेजेन्द्र थापाले बताए । उक्त कामका लागि ढोरपाटन सिकार आरक्षका वार्डेन वीरेन्द्रराज कँडेल र नगरप्रमुख देवकुमार नेपालीको मौखिक आग्रहका आधारमा सम्झौता नगरी थापाले काम गरेका थिए ।

काम सकेर असार मसान्तमा ठेकेदार थापा भुक्तानी माग्न गएका थिए । तर कागजी प्रमाण नभएपछि नगरपालिकाले भुक्तानी दिन मानेन । त्यसपछि थापाले नगरप्रमुखलाई ताकेता गरे । वडा ६ का अध्यक्ष जीवनकुमार पुनले पनि भुक्तानीका लागि दबाब दिएपछि प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम भट्टराईले अर्को सर्त राखे, सोही स्थानमा थप केही काम दिएर उनको भुक्तानी दिने ।

‘काम गरेको देखेर केही सम्झौतामार्फत भुक्तानी दिने योजनाले गेट निर्माण तथा सडक स्तरोन्नतिको काममा सम्झौता गरायौं,’ भट्टराईले भने, ‘अनुगमन मूल्यांकन गर्दा गेट निर्माणको काम पूरा नभएको पाएपछि भुक्तानी दिन सकेनौं ।’ थापाले पेस्की स्वरूप लगेको ३ लाख ३० हजार रुपैयाँ पनि फरफारक भइनसकेको उनले बताए । चालु वर्षको बजेटमा सम्झौता भएकाले असार मसान्तसम्म थापालाई नगरपालिकाले समयसीमा दिएको छ ।

थापाले नगरपालिकाबाट ठगिएको भन्दै गुनासो गर्न थालेका छन् । ‘मैले गतवर्ष नै काम सकेको छु, तर अहिलेसम्म भुक्तानी पाएको छैन,’ थापाले भने, ‘मेरो १० लाख रुपैयाँको भ्याट बिल लगेर भुक्तानी रोकेका छन् ।’ बिल स्वीकार गरेको तर भुक्तानी नदिएकाले नगरपालिकाले कमिसन खोजेको आरोपसमेत उनले लगाए । थापाले ढोरपाटन देउराली गेट निर्माण उपभोक्ता समितिको नामबाट सम्झौता गरेका छन् । काम भने सडक सम्याएको अवस्था मात्रै छ । थापाले गत वर्ष सडक चौडा पारेपछि आरक्षले चालु वर्ष गेट निर्माण थालेको वार्डेन वीरेन्द्रराज कँडेलले बताए । नगरप्रमुख देवकुमार नेपालीले भने सम्झौता र कामको मूल्यांकनका आधारमा मात्र भुक्तानी दिने बताए । ‘जे सम्झौता छ, जस्तो काम छ त्यसैमा भुक्तानी दिने हो, मौखिक कुरा के भयो भन्ने थाहा भएन,’ उनले भने । नेपालीले प्रक्रियागत रूपमा काम र भुक्तानी हुनुपर्ने बताए ।

प्रकाशित : माघ २, २०७८ १२:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?