सुनसान माघी- गण्डकी - कान्तिपुर समाचार

सुनसान माघी

बिहान नुहाई पुर्खालाई पूजा गरी दिदीबहिनीलाई तरूलको विशेष खाना ‘निस्रो’ दिने परम्परा
घनश्याम खड्का

म्याग्दी — मगरजातीको प्रमुख चाड माघे संक्रान्ति यस वर्ष पनि खल्लो रह्यो । सदरमुकाममा सांस्कृतिक झाँकीसहित गरिँदै आएको माघे संक्रान्ती पर्व यस वर्ष मगर संघले औपचारिकताका लागि सीमित पुर्ख्यौली समूहमार्फत ‘सरस्वती’ पूजा गरी मनायो । औपचारिक कार्यक्रम नगरे पनि जिल्लाका मगरले घर–घरमा वन तरुलको प्रसाद ‘निस्रो’ ले कुलदेवता र दिदीबहिनीको पूजा गरी माघे संक्रान्ति मनाए ।

प्रकृति पूजक मगर जातिले माघे संक्रान्तिलाई मुख्य चाडको रूपमा मनाउँछन् । माघे संक्रान्ति बिछोड/बिदाइको पर्व पनि हो । माघे संक्रान्तिपछि ‘उभौली’ सुरु भएको मानिन्छ । हिउँदमा जाडो छल्न बेंसी झरेका मगरहरू छुट्टिएर आ–आफ्ना खर्कतर्फ गोठ लाग्ने हुँदा माघे संक्रान्ति उल्लासपूर्वक मनाउने र हिउँदमा माइती भेट्न आएका चेलीबेटीलाई वनको कन्दमूल खुवाई बिदाइ गर्ने पुर्ख्यौली चलन हो ।

‘माघे संक्रान्ति पर्व मनाउने पुख्यौली संस्कार थेग्न एक दिन भए पनि औपचारिकतामा सीमित थियो । यो कोरोना महामारीले त्यो पनि गर्न दिएन । सामूहिक पर्व मनाउन नपाए पनि घर–घरमा भने तरुलका परिकार खाएर उल्सासमय रूपमा मनायौं,’ नेपाल मगर संघ म्याग्दीकी अध्यक्ष डकमाया पाइजाले भनिन्, ‘युग फेरियो । संस्कार र संस्कृति पनि फेरिएको छ । पुर्खाले जे गरे त्यही गर्न सम्भव छैन । यो निरन्तर प्रक्रिया मात्र हो ।’

वनको कन्दमूल तरुलको परिकार बनाई चेलीबेटी पुज्ने र पितृ पूजा गरी मनाउने गर्छन् । पुस मसान्तमा दाजुभाइले ल्याएको वन तरुललाई राति पकाउने चलन छ । माघे संक्रान्तिको बिहान नुहाई पुर्खा (कुलकुलायन) लाई पूजा गरी दिदीबहिनीलाई तरुलको विशेष खाना ‘निस्रो’ दिने गर्छन् । महिला वनमा गई निस्रो खाँदै रमाइलो गर्ने र पुरुषले दिनभर धनुषकाँड (तारो हान्ने) खेल्ने परम्परा हो । तर पछिल्ला तीन वर्षदेखि कोरोना महामारीका कारण मगरहरूले सामूहिक रूपमा माघी मनाउन पाएका छैनन् । साँझ सबै एक ठाउँमा जम्मा भई ‘ख्याली’ गाउने परम्परा भए पनि पछिल्ला वर्ष सांस्कृतिक झाँकीसहित शुभकामना आदानप्रदान गरी मनाउने गरिन्थ्यो । पशुचौपायासहित जहाँ जे बाली पाक्छ त्यहीं नै बसोबास गरी अर्को बाली खान अर्को खर्क (खेतीफाँट) मा बसाइँ सर्ने, जाडो/गर्मी मौसमअनुसार गोठलाई लेक–बेंसी गर्ने परम्परालाई नै ‘उँधौली–उँभौली’ भन्ने गरिन्छ । फिरन्ते गोठ राख्ने (पशुचौपाया पाल्ने) र खेती गरिने फाँटअनुसार बस्ती सार्ने परम्परामा माघदेखि हिँउद सकिएकाले अब बिस्तारै बेंसी झरेका गोठहरू माथिल्लो क्षेत्रतर्फ लग्ने प्रचलन छ ।

यसैबीच म्याग्दी र कालीगण्डकी नदी दोभान बेनीमा परम्परादेखि लाग्दै आएको माघे संक्रान्ति मेला यस वर्ष पनि लागेन । सूर्य धनु राशि छोडेर मकर राशिमा प्रवेश गर्ने पहिलो दिन (माघ १) मा दोभानमा गई स्नान गरिन्थ्यो । यस वर्ष पनि कोरोना महामारीका कारण भीडभाड गर्न सरकारले रोक लगाएकाले बेनी दोभानमा स्नान गर्नेको संख्या नगन्य रह्यो । पछिल्ला केही वर्षदेखी म्याग्दी उद्योग संघ मातहतको महिला उद्यमी संघले माघे संक्रान्तिका दिन गर्ने सडक खाना महोत्सव पनि यस वर्ष मनाइएन ।

त्रिवेणीधाममा माघे संक्रान्ति

पूर्वी नवलपरासी– माघे संक्रान्तिका दिन शनिबार त्रिवेणीधाममा तीर्थालुको घुइँचो लागेको छ । कोरोना संक्रमणको प्रवाह नगरी बिहानैदेखि नेपाल र भारतका हजारौ तीर्थालु त्रिवेणीमा स्नान गर्न आएका हुन् । स्थानीय संदिप निगमका अनुसार तीर्थालुहरू नारायणी नदीमा स्नान गरेर गजेन्द्रमोक्ष दिव्यधाम मन्दिर परिसर, शिवघाट र अन्य मठमन्दिरमा पूजाआजामा व्यस्त भए । यसअघि ३ दिनअघिबाट माघे संक्रान्ति मेला लाग्ने गरेकोमा यसपटक संक्रान्तिकै दिन शनिबार मात्र भक्तजन आएका हुन । त्रिवेणीधामदेखि २ किलोमिटर उत्तरमा रहेको गजग्राहस्थित गजेन्द्रमोक्ष दिव्यधाममा रहेको मन्दिरको दर्शन र पूजाआजा गर्न श्रद्धालुको बिहानैदेखि ओइरो लागेको स्वामी कृष्ण प्रपन्नाचार्यले बताए । धार्मिक पर्यटकका लागि अवलोकन गर्न त्यहाँ शिशमहल (सिसैसिसाको महल) पनि रहेको छ । स्वर्णभद्रा, पूर्णभद्रा र नारायणी नदीको संगमस्थल त्रिवेणीधाममा स्नान गरेर दान गर्नाले पुण्य मिल्ने जनविश्वास छ ।

प्रकाशित : माघ २, २०७८ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्

रूरू मेलामा भीड

कान्तिपुर संवाददाता

पाल्पा — पाल्पा र गुल्मीका स्थानीय प्रशासनले मेला–महोत्सव सञ्चालन नगर्ने निर्णय गरे पनि रूरूक्षेत्रमा माघे संक्रान्तिको मकर मेला लागेको छ । पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले मेला–महोत्सव नगर्न जिल्ला कोभिड संकट व्यवस्थापन समितिबाट निर्णय भएको बताए । तर, गुल्मी र पाल्पातर्फका स्थानीय तहले अटेरी गर्दै मेला लगाएको बताए । रूरू पाल्पा, गुल्मी र स्याङ्जाको संगमस्थल हो ।

‘निदाएकालाई उठाउन सजिलो हुन्छ, जो निदाएको बहाना गर्छ, त्यसलाई उठाउन गाह्रो रहेछ,’ उनले भने, ‘दुवैतर्फका स्थानीय तहसँग कुरा गरे पनि अटेरी गरेका हुन् ।’ स्थानीय प्रशासनले कोरोनाको कारण देखाउँदै २५ जना भन्दा बढी भेला हुन रोक लगाएको छ ।

कालीगण्डकी नदीमा नुहाउन आउनेहरूलाई प्रहरीले मास्क अनिवार्य लगाउन आग्रह गरेको थियो । ऋषिकेश मन्दिरमा प्रवेश गर्नेहरूलाई तानसेन नगरपालिका–१४, अर्गली वडाले निःशुल्क मास्क वितरण गरेको थियो । माघे संक्रान्ति मेलामा टाढा–टाढाबाट कालीगण्डकीमा मकर स्नान गर्न आउने गर्छन् । ऋषिकेशव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पर्शुराम भट्टराईका अनुसार कोरोना संक्रमण त्रासले विगतमा जस्तो श्रद्धालु नआएको बताए । ‘अघिल्ला वर्षमा जस्तो यस वर्ष कोरोना त्रासका बीच मान्छे नुहाउन र ऋषिकेशवको दर्शन गर्न आएनन्,’ उनले भने । कालीगण्डकीमा बिहानैदेखि नुहाउनेको भीड लागेको उनले बताए । मेला भर्न पाल्पा, गुल्मी, स्याङ्जा, अर्घाखाँची, रूपन्देही लगायतका जिल्लाबाट दर्शनार्थी आएका थिए ।

प्रकाशित : माघ २, २०७८ ०८:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×