'नरभक्षी' बाघ समात्न सकस- गण्डकी - कान्तिपुर समाचार

'नरभक्षी' बाघ समात्न सकस

नारायण शर्मा

नवलपरासी पूर्व — दुम्कीबास आसपासमा मान्छेलाई आक्रमण गरिरहने बाघ समात्न गरिएको प्रयास ४ दिन भइसक्दा पनि सफल हुन सकेको छैन । गत बुधबारबाट विनयी त्रिवेणीको विनयी सामुदायिक वनमा चितवन राष्ट्रिय निकुञ्जको हात्तीसहितको टोलीले बाघ खोजी सुरु गरेको हो ।

शनिबारसम्म बाघ बिचरण गरेको स्थान यकीन हुन नसकेको निकुन्जका सहायक वार्डेन राजु घिमिरेले जानकारी दिए । उनका अनुसार तीन वटा हात्तीसहित ९ जना प्राविधिकको सहयोगमा 'नरभक्षी' बाघको खोजी सुरु गरिएको छ ।

विनयी त्रिवेणीको उत्तरमा रहेको होङ्सी सिमेन्टभन्दा केही पर जोडी बाघको (भालेपोथी) पाइला (पगमार्क) देखिएको भए पनि त्यो पाइला नयाँ (हालै हिँडेको) वा पुरानो हो भनेर पत्ता लगाउन समस्या भएको उनले जानकारी दिए । कुन बाघ हो भनेर त्यसको पैतालाको नापजाँच सुरु गरिएको छ ।

मान्छे खाएको स्थानमा देखिएको बाघका पाइला र अहिले फेला परेको बाघको पाइलामा अध्ययन गरेर यकिन गर्न सकिने उनले बताए । ‘तीन साताअघि बाघले मान्छे खाएको स्थान र हाल बाघको पाइला देखिएको ठाउँ २० किलोमिटर टाढा भएकाले फरक बाघ हुन सक्ने पनि देखिन्छ’, घिमिरेले भने । दुवै स्थानका पाइलाको अध्ययनपछि मात्र त्यसको यकिन गर्न सकिने उनको भनाइ छ ।

हात्ती परिचालन भएको सुँइको पाएपछि जोडी बाघ अन्यत्र हिँडेको अनुमान घिमिरेको छ । ‘हात्ती परिचालन भएपछि बाघको भाले पोथी उकालो लाग्दै गरेको अवस्थामा पाईला भेटिएको टोलीले देखेपछि थप अध्ययन सुरु गरिएको छ’, घिमिरेले कान्तिपुरसित भने, ‘हात्ती हिँडेको चाल पाएपछि बाघले बासस्थल फेर्ने सम्भावना हुन्छ त्यसैले पहिला बाघ रहेको क्षेत्र पत्ता लगाएपछि नियन्त्रणमा लिन केही सजिलो हुन्छ ।’

ठूलो जंगलमा बाघको खोजी जटिल र खर्चिलो हुने घिमिरेले सुनाए । ‘३ वटा हात्ती र ९ जना प्राविधिकको खर्च दैनिक रुपमा करिब ४२ हजार रुपैयाँ खर्च हुन्छ’, घिमिरेले भने, ‘त्यसैमा मान्छे खाएकै बाघ पत्ता लगाउने काम झन् जोखिम छ ।’

दुम्कीबास आसपासमा गत २ महिनाको अवधिमा बाघले २ जनाको ज्यान लिएको छ भने अर्का एक जना गम्भीर घाइते छन् । बाघ आतंकपछि स्थानीय जंगल जान छोडेका छन् ।

प्रकाशित : माघ १, २०७८ १६:००
प्रतिक्रिया
पठाउनुहोस्

हिमाली जडिबुटीमा जलवायु परिवर्तनको असरबारे अनुसन्धान सुरु

गोविन्द पोखरेल

काठमाडौँ — नेपालमा पहिलो पटक जलवायु परिवर्तनले हिमालय क्षेत्रका वनस्पतिहरुमा पारेको असरबारे लामो अनुसन्धान सुरु भएको छ । त्रिभुवन विश्वविद्यालय र ग्लोबल इन्स्टिच्यूट फर इन्टरडिसिप्लिनरी स्टडिज् (जीआईआईएस) का अनुसन्धानकर्ताहरुले विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा यो अनुसन्धान थालेका हुन् ।

अनुसन्धान टोलीमा जीआईआईएसका निर्देशक एवं वातावरणविद् डा. उत्तमबाबु श्रेष्ठ, त्रिवि वनस्पतिशास्त्र केन्द्रीय विभागका प्राध्यापक डा. भरतबाबु श्रेष्ठ, डा अन्जना देवकोटा, उपप्राध्यापकहरू डा. अच्युत तिवारी र पृथ्वी नारायण क्याम्पसका डा. बाबुराम पौडेल छन् । उनीहरूले अन्नपूर्ण संरक्षण क्षेत्रको मनाङ र कास्की क्षेत्रमा दुई जडिबुटीका विविध पक्षहरुमा जलवायु परिवर्तनले पार्ने असरको लेखाजोखा गर्न लागेका हुन् ।

यस अनुसन्धानमा हाल दुई जटिबुटी समेटिएका छन् । विष भनिने ‘एकोनिटम स्पिक्याटम’ र पोंकर भनिने ‘एकोनिटम नेभिकुलरे’ समेटिएको मुख्य अनुसन्धानकर्ता डा. भरतबाबु श्रेष्ठले बताए । यी दुई वनस्पति एकै जातका भए पनि यसमा धेरै असमानता छ ।

विष ३०००-४३०० मिटरको उचाइमा पाइन्छ, पोंकर ४०००-४८०० मिटरमा । विष ४५ सेमिसम्म अग्लो हुन्छ, भने पोंकर मात्र १.५ सेमि । विष सरकारले प्राथमिकतामा राखेको ३० वनस्पतिमध्ये एक हो । पोंकर स्थानीय आम्ची विधिको उपचारमा दोस्रो धेरै प्रयोग गरिने वनस्पति रहेको उनले बताए । ‘हामीले स्थानीय र राष्ट्रिय महत्व भएका प्रजाति समेट्न खोजेका हौं,’ डा. श्रेष्ठले भने ।

‘हामीले यस अनुसन्धानमा जलवायु परिवर्तनले यी दुवै वनस्पतिको बासस्थानको फैलावट, बिउ अंकुरण र वृद्धि, परागसेचन प्रक्रियामा पार्ने असरको बारेमा समग्र अध्ययन गर्दैछौं,’ डा. तिवारीले भने । यो परीक्षण फिल्डको प्राकृतिक वातावरण र प्रयोगशालाको कृत्रिम रुपमा तयार पारिएको वातावरणमा हुने उनले बताए ।

प्राकृतिक अवस्थामा अहिले गरिएको परीक्षणमा यी जुडिबुटीको बिउ हाल पाइने ठाँउको तापक्रमभन्दा २ र ५ डिग्री बढी तापमान हुने स्थानमा रोपिएको छ । ‘त्यसरी तापमान बढाएर राख्दा यिनीहरुको वृद्धिमा कस्तो किसिमको असर गर्छ भन्ने हामीले अनुसन्धान गर्दछौं,' अर्का अध्येता पौडेलले भने ।

मनाङको लेदरमाथि ४७ सय मिटरमा परीक्षण प्लट । तस्बिर सौजन्य : भरतबाबु श्रेष्ठ ।

पहिलो चरणमा मनाङका ३७ सय, ४३३० र ४७०० मिटरको उचाइमा त्यस्तो परीक्षण प्लट बनाइएको छ । पौडेलको विषय परागसेचन विज्ञान हो । उनले तापक्रम बढ्दा जडिबुटीमा हुने परागसेचनलाई त्यसले कस्तो असर गर्छ भन्ने अध्ययन गर्दैछन् ।

यस्तै, परीक्षणका क्रममा प्राकृतिक अवस्था जस्तै प्रयोगशालामा सकेसम्म उस्तै प्रकारको तापक्रम लगायतका माइक्रो क्लाइमेट बनाएर बिउ अंकुरणको अवस्था हेरिने डा. देवकोटाले बताइन् । त्यहाँ हुने अंकुरणलाई प्राकृतिक अवस्थाको नतिजासँग तुलना गरिनेछ । प्रयोगशाला र फिल्डमा दुवै ठाउँमा परीक्षण गरिने हुनाले यो अध्ययनको नतीजा थप भरपर्दो हुने अनुसन्धानकर्ताहरुले बताएका छन् ।

‘नेपाल जलवायु परिवर्तनको धेरै कुरा भए पनि यसको असरको बारेमा हामीकहाँ विश्वसनीय अनुसन्धान भएका छैनन्, प्रयोगात्मक र लामो समयसम्म गरिने अनुसन्धान त छँदै छैन भन्दा पनि हुन्छ ,’ डा. उत्तमबाबु श्रेष्ठले कान्तिपुरसित भने,‘धेरैजसो अनुसन्धान स्थानीयको अनुभवमा आधारित छन् । हाम्रो अनुसन्धानले त्यो खाडल पुर्दै वैज्ञानिक प्रमाणमा आधारित केही नयाँ जानकारी दिने अपेक्षा छ ।’ यो अनुसन्धानको थप विशेषता भनेको यो फिल्डमा अवलोकन र परीक्षण, प्रयोगशालमा परीक्षण र कम्प्युटर मोडलिङ सबै प्रयोग गरिने छ ।

३ वर्षसम्म हुने यो अनुसन्धानका क्रममा कम्तिमा पाँच जना विद्यार्थीको पनि शोधपत्र तयार गर्ने उनीहरुले बताए । अनुसन्धानलाई स्रोत जुटाएर दिर्घकालीन हिसाबले सञ्चालन गर्न खोजेको श्रेष्ठले जानकारी दिए । अनुसन्धानमा थप प्रजातिको बारेमा मात्रै नभएर बासस्थान र चरनमा नै परेको असरको बारेमा अध्ययन गर्ने तयारी उनीहरुको छ ।

अनुसन्धानले वैज्ञानिक प्रमाणसँगै सम्बन्धित निकायहरुलाई दिर्घकालीन अनुसन्धानको महत्वको बारेमा सजग तुल्याउने उनीहरुले बताए ।

विभिन्न अनुसन्धानहरुले शताब्दीको अन्त्यसम्म पृथ्वीको तापमान १.५ डिग्री बढ्दा नेपाललगायत हिमालय क्षेत्रमा त्योभन्दा बढी १.८ डिग्रीसम्म हुने देखाएको छ । नेपालको उच्चतम तापमान वृद्धिदर प्रतिवर्ष ०.०६ डिग्री छ । जलवायु परिवर्तनका कारण बाढी, पहिरो जस्ता विपद्मा बढोत्तरी मात्रै होइन, पारिस्थितिक प्रणाली, वनस्पति र वन्यजन्तुमा समेत असर परेको छ । तर, जलवायु परिवर्तनको असर वनस्पतिलाई कस्तो पर्दछ भन्ने फिल्डमै गरिने प्रयोगात्मक परीक्षणको भने नेपालमा चरम अभाव छ । यस विषयमा लामो समय लगाएर गरिने यो सम्भवतः पहिलो अनुसन्धान हो।

प्रकाशित : माघ १, २०७८ १५:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×