कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

अलपत्र व्यास परासर पार्क

सम्झना रसाइली

तनहुँ — जिल्लामा पर्यटकीय गन्तव्य थप गर्ने उद्देश्यले निर्माण गरिएको पार्क अलपत्र अवस्थामा पुगेको छ । व्यास–५ स्थित पाटनको व्यास परासर क्षेत्रलाई आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने भन्दै पार्क निर्माण कार्य अगाडि बढाइएको थियो । करोडौं रुपैयाँको लागतमा निर्माण गरिएका संरचना अहिले अलपत्र बनेका छन् । 

अलपत्र व्यास परासर पार्क

सेती र मादी नदीको दोभानमा निर्माण गरिएको पार्कको लागत करिब ३ करोड रुपैयाँ रहेको छ । पार्क निर्माणपश्चात यसको संरक्षणको जिम्मा कसैले नलिँदा पार्क जीर्ण अवस्थामा पुगेको बेनीपाटन टोल विकास संस्थाका अध्यक्ष परशुराम गिरी बताउँछन् । उनले भने, ‘यसको संरक्षणको जिम्मा कसैले नपाउँदा पार्क बेवारिसे अवस्थामा पुगेको छ । बनाइएका संरचना पनि काम नलाग्ने आवस्थामा पुगेका छन् ।’

पार्कको दायाँबाट सेती र बायाँबाट मादी नदी बग्छन् । पार्कसँगै परासर आश्रम छ । ४ वेद १८ पुराणका रचयिता वेदव्यासको तपोभूमिलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न योजना अगाडि सरिए पनि निर्माण सम्पन्न नहुँदै अलपत्र हुन पुगेको उनले बताए । निर्माण गरिएको पार्कको दायाँबायाँ क्षेत्र तटबन्द नहुँदा नदीले कटान गर्दै लगेको छ ।

‘पार्कमा निर्माण गरिएको संरचनाका कतै टायल फुटेका, हराएका छन् भने यसको हेरचाहको जिम्मा भने कसैले लिएको छैन,’ उनले भने, ‘जुन उद्देश्यले पार्क निर्माण गरियो त्योअनुसारको प्रतिफल आउन सकेन । उद्घाटन पनि नहुँदै १५/२० वर्षअघि निर्माण भएको पार्कजस्तो जीर्ण देखिन पुगेको छ ।’

सहरी विकास तथा भवन निर्माण विभाग गोरखाले २०७५ साउन १६ बाट निर्माण सुरु गरेको यो पार्क मुलुक संघीय संरचनामा गएसँगै संघीय आयोजना कार्यान्वयन इकाइ, कास्कीले हेरेको छ । २०७६ माघ १६ मा नै निर्माण सम्पन्न यस पार्कमा बाढीका कारण क्षति पुगेपछि मर्मतसँगै केही पूर्वाधार थपको काम भइरहेको इकाइकी इन्जिनियर रेखा लामिछानेले बताइन् ।

‘पार्कको निर्माण कार्य सम्पन्न भइसकेको छ,’ इन्जिनियर लामिछानेले भनिन्, ‘शौचालयका लागि पानीको आवश्यक पर्ने भएकाले आर्थिक वर्ष २०७७/७८ को बजेटले पानी ट्यांकी निर्माण कार्य भइरहेको छ । बाढीका कारण भत्किएको स्थानको मर्मत सुधार कार्य अगाडि बढाउने चरणमा छौं ।’ पानी ट्यांकी निर्माणका लागि ५० लाख रुपैयाँ विनियोजन भएको उनले बताइन् ।

उक्त व्यास परासर पार्कमा माछाको आकारमा पानी पोखरी, क्यारी वल, पिक्निक स्पोर्ट, बास्केटबल कोट, एमपी थ्रेटर, पार्किङ स्थान निर्माण गरिएको छ । भ्याट र कन्टेन्जेन्सीबाहेक आयोजनाको कुल लागत करिब ३ करोड ५४ लाख रुपैयाँ रहेको उनले बताइन् । उक्त पार्कको निर्माण जिम्मा न्यु ड्रैगन/एएनजी जेभी काठमाडौंले लिएको थियो ।

पार्क निर्माण गरी त्यसको स्वामित्व जिल्लामै हस्तान्तरण नगर्दा पार्कको संरक्षण हुन नसकेको व्यास–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठ बताउँछन् । उनले भने, ‘पर्यटकीय गन्तव्य विकासका लागि पार्क निर्माण गरिनु राम्रो हो तर, सरकारको लगानीको संरक्षण नहुँदा यति ठूलो लागनी बालुवामा पानी मिसाएको जस्तै भएको छ ।’

प्रकाशित : माघ १, २०७८ १२:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?