हिउँले विद्यालयमा क्षति

हरिराम उप्रेती

गोरखा — लगातार परेको हिउँको भारले चुमनुव्री गाउँपालिका–७ छेकम्पारस्थित लारको बुद्ध प्राथमिक विद्यालयको छाना भत्किएको छ । हिउँको भारले छाना धसिएको स्थानीय बुर्जी छिरिङ लामाले बताए ।

हिउँले विद्यालयमा क्षति

‘दुई/ तीन दिन भयो छानामाथि हिउँ थुप्रिएर छाना लच्किँदै गएको,’ उनले भने, ‘जस्ता अड्याउन राखेको काठ भाँचिएर छाना धसिएको छ ।’ छाना भत्किएसँगै विद्यालय भवनभित्र पानी चुहिने समस्या थपिएको उनले बताए । उक्त विद्यालयमा ३५ विद्याथी अध्ययन गर्दै आएका छन् । सदरमुकामबाट ५२ कोष उत्तरमा रहेको उक्त विद्यालय भवनमा क्षति पुगेसँगै पुननिर्माणमा समस्या थपिएको छ ।


हिमपातपछि बुद्ध प्राविसँगै छेकम्पारमा रहेका तीन वटा विद्यालयले जाडो बिदा दिइसकेका छन् ।


तिब्बत सीमा क्षेत्रको छेकम्पारमा दिनमा घाम लागेपनि रातमा दिनहुँजसो हिउँ परिरहेको लामाले बताए । लगातारको हिमपातले जनजीवन कष्टकर बनेको स्थानीयले बताए । स्थानीय घरभित्रै आगो तापेर बसेका छन् । गाउँमा पाइपबाट वितरण भएको खानेपानी पाइप भित्रै जमेको छ । ‘चिसो निकै बढेको छ, जताततै हिउँ जमेको छ,’ उनले भने । चिसोले पशु चौपायको आहारामा पनि समस्या थपिएको उनले बताए । चर्न गएका याक र चौरी बस्ती फर्किएका छन् । ‘घाँस सबै हिउले ढाकेको छ,’ उनले भने,‘अहिले चौरीलाई कुँडो र गहुँको नल खुवाउने गरेका छौं । अझै १० दिनजति यसरी नै हिउँ परे नल सकिँदै जान्छ, खुवाउने कुरा पनि हुन्न ।’


प्रकाशित : पुस २९, २०७८ १३:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?