कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

नरभक्षी बाघको खोजी कार्य सुरु

नारायण शर्मा

पूर्वी नवलपरासी — दुई महिनायता दुम्किवास क्षेत्रमा देखिएको बाघ खोज्न चितवन राष्ट्रिय निकुञ्जले खटाएको टोली दुम्किवास आइपुगेको छ । तीनवटा हात्तीसहित एक दर्जन विज्ञहरूको टोली सोमबार राति दुम्किवास आइपुगेको हो । 

नरभक्षी बाघको खोजी कार्य सुरु

चितवन निकुञ्जका सहायक वार्डेन राजु घिमिरेले नरभक्षी बाघ नियन्त्रणमा लिनेगरी टोली फिल्डमा खटिएको र जंगलमा बाघको पछिल्लो (नयाँ) पाइला देख्नासाथ प्राविधिक टोलीलाई खबर गर्ने र नियन्त्रण प्रयास गरिने जानकरी दिए ।

बाघ रहन सक्ने सम्भावित स्थानमा हात्तीसहितको टोली हिँड्छ र बाघको नयाँ पाइला भेटिए नियन्त्रणमा लिने सम्भावना बढ्छ । दुम्कीवास आसपासको क्षेत्रमा डेढ महिनायता दुई जनालाई खाइसकेको छ भने एक साताअघि मध्यबिन्दुमा एक जनालाई आक्रमण गरेर गम्भीर घाइते बनाएको छ ।

बाघले निकुञ्जभन्दा बाहिरको मध्यवर्ती क्षेत्रको जंगलमा आक्रमण गरेको हो । बाघको आक्रमणबाट दुई जनाको ज्यान गइसकेको र अर्का एक जना गम्भीर घाइते भएपछि स्थानीय बासिन्दा जंगल जान छोडेका छन् ।

चौपाया चराउन जंगल जानेहरूले ठाउँठाउँमा बाघ देखेको खबर गरेपछि स्थानीय त्रसित छन् । विनयी त्रिवेणी गाउँपालिकाले चितवन निकुञ्ज र जिल्ला वन कार्यालयलाई पत्र पठाएर बाघ नियन्त्रणमा लिन आग्रह गरेको एक सातापछि निकुञ्जले बाघ नियन्त्रणमा लिने टोली खटाएको हो ।

चितवन निकुञ्जका सहायक वार्डेन राजु घिमिरेले नरभक्षी बाघ नियन्त्रणमा लिने टोली बर्दिया र पूर्वी नवलपरासीमा खटाउनुपर्ने भएकाले काम विभाजन गरेर पठाइएको जानकारी दिए । बर्दिया र पूर्वी नवलपरासीमा बाघ आतङ्क छ ।

दुवै जिल्लामा बाघको बासस्थान र विचरण गर्ने क्षेत्र पत्ता लगाउन (बाघ रहेको क्षेत्र) जंगलमा क्यामेरा जडान भइसकेको उनले सुनाए । दुईवटा क्यामेरा राखिएको छ । डाँडाजोर क्षेत्रमा गाईवस्तु खाएको छ । त्यो क्षेत्रमा पनि क्यामेरा राखिएको छ । एउटै बाघ हो कि फरक फरक बाघ हो भन्ने पत्ता लगाउन कठिन भएकाले केहि समय लाग्ने निकुञ्जको भनाइ छ ।

‘नियन्त्रणमा लिन त्यति सजिलो छैन‚’ एक प्राविधकले भने‚ ‘जंगलको ठुलो एरियामा धेरै बाघ बस्छ । त्यसैबाट मान्छे खाने बाघ पत्ता लगाउन सजिलो काम होइन‚’ ती प्राविधिकले भने प्रयास गर्छौं ।

प्रकाशित : पुस २८, २०७८ ११:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?