कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

जोखिममा बेनीबजार

घनश्याम खड्का

म्याग्दी — बाढीपहिरोको उच्च जोखिममा रहेको सदरमुकामको बेनीबजार नदी कटानबाट बचाउने काम मध्य हिउँद पुरा हुँदासमेत सुरु हुन सकेको छैन । मुस्ताङ र हिमाली भेगमा हिउँ पग्लन थालेपछि कालीगण्डकी नदीमा फागुनबाट पानीको सतह बढ्न थाल्छ ।

जोखिममा बेनीबजार

तर बेनी संरक्षण जिम्मा पाएको पोखराको रुपाताल संरक्षण परियोजनाले पुस अन्तिमसम्म पनि तटवन्धको काम सुरु गरेको छैन ।

परियोजनाले फागुन सूरुमै ठेकदार परिचालन गर्नेगरी काम भइरहेको जनाएको छ । कालीगण्डकी नदी र म्याग्दी खोलातर्फ पक्की आरसीसी तटबन्ध लगाउन परियोजनाले १४ करोड लागत अनुमान गरी ठेक्का आह्वान गरेकोमा रौताह कन्ट्रक्सनले ४२ प्रतिशत न्यून अंक ठेक्का पारेपछि समयमै गुणस्तरीय तटबन्ध हुने कुरामा शंका गर्न थालिएको छ ।

‘बेनी संरक्षणका लागी १४ करोड बढी लागतको ठेक्का भएको छ । ४२ प्रतिशत कममा रौताह कन्ट्रक्सनले ठेक्का पाएको हो । तर ठेकदारसँग सम्झौता हुन बाँकी छ,’ परियोजनाका ओभरसियर अशोक तिमिल्सिनाले भने, ‘ठेक्का स्वीकृत भै सम्झौता गर्दासम्म सवै कागजी प्रक्रिया पूरा गर्न एक महिना लाग्छ । सम्भवतः फागुन सुरुबाट निर्माण सुरु होला ।’

साविक जल उत्पन्न प्रकोप कार्यालयले लगाएको पक्की तटबन्ध कालीगण्डकी नदीमा आएको बाढीले गत मनसुनमा बगाएपछि स्थानीयले सुरक्षाका लागि अस्थायी ग्याभिन जाली भरेका थिए । फागुन लागेपछि जलसतह बढ्ने हुँदा पुस अन्तिमसम्म ठेक्का प्रक्रियामा नै अल्झिदा बेनीबासी असारसम्म पनि तटवन्ध नबन्ला भन्ने त्रासमा छन् । बेनी संरक्षणमा बर्सेनि ससानो बजेटमा तटबन्धको काम हुने गरेपनि गुणस्तरीय नहुँदा बर्सेनि बाढीले बगाउने गर्छ । दुई वर्षअघि असारमा लगाएको पक्की आरसीसी तटबन्ध साउनमा बगाएपछि अहिलेसम्म तटबन्धको काम भएको छैन ।

‘हाम्रा नीति निर्माता र प्राविधिकले कालीगण्डकीको स्वभावलाई चिन्ने प्रयास नै गर्दैनन् । फागुनबाट नदीमा पानी बढ्छ, असारदेखि कालीगण्डकीमा काम गर्न सकिन्नँ । यस्तै ढिलासुस्ती भए आउने बर्खा बेनीबजार बगाउने खतरा हुन्छ,’ बेनी–८ कालीपुलका उत्तमकुमार कर्माचार्यले भने, ‘कालीगण्डकीमा तटबन्ध लगाउने भए पनि एक टुक्रा ढुंगा र एक बेल्चा बालुवा झिक्न मिल्ने ठाउँ छैन, सबै किन्नुपर्छ । तर न्यून अंकमा ठेक्का लिएको सुनेपछि समयमा र गुणस्तरीय काम हुने कुरामा शंका छ ।’

हिमाली जिल्ला म्याग्दीमा चुरेन, गुर्जा, धवलागिरि शृंखला, नीलगिरि, अन्नपूर्णसमेत करिब दर्जन हिमाल अवस्थित छन् । यी ९० डिग्री बढी भिराला छन् । यिनै हिमालबाट झर्ने थुप्रै सहायक खोला मिसिने म्याग्दी र कालीगण्डकी नदीको संगमस्थलमा बेनीबजार छ ।

त्यसैले दायाँ बग्ने कालीगण्डकी र बाँयाको म्याग्दी खोलाको कटानबाट बेनी बढी जोखिममा छ । ठेकदार छनोटमै ढिलाइले कालीगण्डकी र म्याग्दी खोलामा समयमै काम नहुने र आउँदो बर्खा बाढीको उच्च जोखिममा रहने आंकलन गरी स्थानीय प्रशासनले पनि चासो देखाउन थालेको छ । ‘परियोजनालाई टेलिफोन र पत्राचार गरी छिटो काममा परिचालन हुन दबाब दिइरहेका छौं’ जिल्ला समन्वय समितिका संयोजक देवेन्द्रबहादुर केसीले भने, ‘यस्तै ढिला सुस्ती रहे, असार–भदौमा जोखिम झनै बढ्छ’, ‘पुरानो अस्थायी तटबन्ध पनि हट्ने, नयाँ पनि नबन्ने जोखिम देखेका छौं ।’

सदरमुकामको कालीपुलदेखि खुल्ला मञ्चसम्मको करिब दुई किलो मिटर लामो कालीगण्डकी किनारामा नागरिक सक्रियतामा २०५५ देखि नै सदरमुकाम संरक्षण अभियान सुरु भएको थियो । ग्याभिन जाली र ठूला ढंगा राखेर कालीगण्डकी र म्याग्दी नदी किनारामा अस्थायी तटबन्ध लगाइएकोमा अघिल्लो वर्षदेखि पक्की आरसीसी वाल लगाउन थालिएको हो । आरसीसी फाउन्डेसनसहित तटबन्धपछि नदी नियन्त्रणसँगै सदरमुकामको ट्राफिक चाप पनि कम बनाउने लक्ष्य छ ।

कालीगण्डकी नदी २०१४ सालमा ठूलो पहिरोले थुनिएको थियो । २०५५ साल असोज १० मा अन्धगल्छीको तातोपानी बजारमा शिख गाविसको गोगनपानी भीर खस्दा कालीगण्डकी १० घण्टा थुनिएको थियो । पछिल्लो पटक २०७२ जेठ १० मा राम्चे गाविसको काफलडाँडा मुनीको महभीर खस्दा १६ घण्टा थुनिएको थियो । २०४४ मा आएको बाढीले कालीगण्डकी तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍याएको थियो ।

प्रकाशित : पुस २४, २०७८ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?