म्याग्दीमा ११ जलविद्युत् आयोजना बन्दै

मिस्ट्रीखोला र घलेम्दी सञ्चालनमा, अन्यको पनि ड्याम, टनेल र पहुँच मार्गको काम धमाधम
घनश्याम खड्का

म्याग्दी — जिल्लाको तीनवटा जलाधार कालीगण्डकी, म्याग्दी र राहुघाट खोलामा ३ सय ८८ मेगावाट क्षमताका ११ वटा जलविद्युत् आयोजना निर्माणाधीन रहेका छन् । म्याग्दीखोला जलाधारमा समेटिएका धवलागिरी र मालिका गाउँपालिकामा पर्ने म्याग्दीखोलामा ३, रघुगंगा गाउँपालिकामा पर्ने राहुघाटखोलामा ३ र कालीगण्डकी जलाधारमा पर्ने अन्नपूर्ण गाउँपालिकामा ५ आयोजना बन्दै छन् । 

म्याग्दीमा ११ जलविद्युत् आयोजना बन्दै

सदरमुकाम बेनीबाट २४ किमी पश्चिम मालिका गाउँपालिका र धौलागिरी गापाको सीमावर्ती फेदीमा बाँध निर्माण गरी ५ किमी लामो सुरुङबाट म्याग्दीखोलाको पानी ल्याई दुःखुवेशीमा विद्युत गृह बन्ने दरबाङ म्याग्दीखोला जलविद्युत् आयोजनाले सुरुङका लागि अडिट निर्माण थालेको छ । धौलागिरी कालिका हाईड्रो लिमिटेड मुख्य प्रवर्द्धक रहेको आयोजनामा प्रवासमा रहेका जिल्लावासीको ठूलो लगानी छ । ‘प्रवासी म्याग्दीवासी र जिल्लावासीको लगानी रहेको दरबाङ म्याग्दीखोला जलविद्युत आयोजनाको निर्माण सुरु भएको छ’ लिमिटेडका अध्यक्ष विनोद कुंवरले भने, ‘अडिटको काम थालेका छौं । थप उपकरण ल्याउनेक्रम सुरु गरेकोले छिटै ड्याम र टनेलको काम सुरु हुन्छ ।’

त्यस्तै, धवलागिरी–५ खाम्लामा ड्याम बनाई मालिका–७ भारवाङमा विद्युतगृह बन्ने अपर हाईड्रो लिमिटेड प्रवर्दक रहेको ५३.५ मेगावाट क्षमताको अपर म्याग्दीखोला जलविद्युत आयोजना र धवलागिरी–४ मुदीमा निर्माण हुने ५७.३ मेगावाटको म्याग्दीखोला जलविद्युत आयोजनाले पनि पहुँच मार्ग धमाधम निर्माण गरिरहेका छन । रघुगंगा गाउँपालिकाका ३ देखि ८ वडाभित्र बग्ने राहुघाटखोलामा ४२ मेगावाटको राहुघाट, ४८.५ मेगावाटको अपर राहुघाट र ३५ मेगावाट क्षमताको मंगलेराहुघाट जलविद्युत् आयोजना निर्माणाधीन छन् । नेपाल विद्युत्प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो लिमिटेडले निर्माण गर्न लागेको राहुघाट जलविद्युतको हालसम्म ३५ प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको छ ।

आयोजनाको सिभिलतर्फ भारतको जयप्रकाश एसोसएट तथा इलेक्ट्रोमेकानिकल तर्फको भारतीय सरकारी कम्पनी भारत हेभी इलेक्ट्रीकल्स (भेल) ले ठेक्का लिएका छन । राहुघाट आयोजना प्रमुख राजबहादुर विष्टले भने, ‘सन २०२३ जनवरीसम्म विधुत जडान गरी सक्ने गरी काम भैरहेको छ ।’ त्यसैगरी राहुघाट खोलामै तुँदीपावर लिमिटेडले ४८.५ मेगावाटको अपर राहुघाट र ३५ मेगावाट क्षमताको मंगले राहुघाट आयोजना एकसाथ सुरु गरेको छ । रघुगंगा–८ मंगलेमा बाँध वनाई राहुघाट खोलाको पानी चिमखोलाको बन्दीमा ल्याएर विद्युत उत्पादन गर्ने र सोही पानीलाई फेरी अर्को टनेलमा छिराएर चिमखोलाकै पुछारमा विद्युत्गृह बनाउने गरी अपर राहुघाट आयोजना पनि सञ्चालनमा छन् ।

दुवै आयोजनाले टनेल निर्माण थालेका छन । अन्नपूर्ण–६ घारखोलामा निर्माणाधिन १४ मेगावाट क्षमताको घारखोला आयोजनाले टनेलको काम फिनिसिङ गर्दै, पेनस्टक पाइप राख्ने र विद्युत्गृह बनाइरहेको छ । अन्नपूर्ण–४ नारच्याङमा पर्ने निलगिरी र अन्नपूर्ण हिमालबाट बग्ने मिस्त्रीखोलामा ३८ मेगावाट क्षमताको निलगिरी–१ र ७१ मेगावाटको नीलगिरी २ आयोजनाको निलगिरीखोला हाइड्रोपावर लिमिटेडले एकसाथ योजना निर्माण थालेको छ ।

रेलेखोलामा पनि ह्युम कन्सल्टले ६ मेगावट क्षमताको रेलेखोला र सुपरघलेम्दी हाइड्रोले ९.१४ मेगावाट क्षमताको सुपर घलेम्दी दुवैको पहुँच मार्ग निर्माण सकेर ड्यामसाईडमा काम थालेका छन् । अन्नपूर्ण–४ नारच्याङमा पर्ने मिस्त्रीखोलामा माउन्टेन इनर्जीले ४२ मेगावाट क्षमताको मिस्त्रीखोला र मिस्त्रीको सहायक घलेम्दीखोला जलविद्युत् आयोजनाले ६ मेगावाट विद्युत् उत्पादन गरी केन्द्रीय ग्रीडमा जोडेका छन् ।

प्रकाशित : पुस १९, २०७८ १२:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?