२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

डलरको अवैध कारोबारीविरुद्ध मुद्दा

दुई पटक प्रहरीको फन्दाबाट उम्केका छिरिङढुन्डु गुरुङ तेस्रो पटक हिरासतमा पुगे

कास्की — विदेशी मुद्राको अवैध कारोबार गरेको आरोपमा पक्राउ परेका छिरिङढुन्डु गुरुङलाई राजस्व अनुसन्धान विभागले शुक्रबार जिल्ला अदालत कास्कीमा विदेशी मुद्रा (अमेरिकी डलर) ओसारपसारसम्बन्धी शीर्षकमा मुद्दा दर्ता गराएको छ ।

डलरको अवैध कारोबारीविरुद्ध मुद्दा

विभागका शाखा अधिकृत गणेश खनालले गुरुङविरुद्ध मुद्दा दर्ता गराएका हुन् । खनालको नेतृत्वमा ७ जनाको समूहले गुरुङलाई पोखरा ल्याएको थियो । ‘जुन ठाउँबाट पक्रिएको हो त्यही जिल्लामा मुद्दा दर्ता गराउनुपर्छ,’ खनालले भने, ‘गुरुङलाई पोखराबाटै पक्रिएकाले यहीं मुद्दा चलाएका छौं ।’

काठमाडौंबाट पोखरा आउँदै गरेको बा२ख ३९५० नम्बरको माइक्रो बसमा सवार गुरुङलाई पोखरा–३२ मजुवामा सवारी जाँचका क्रममा गत मंसिर १० को साँझ पक्राउ गरिएको हो । प्रहरीले सिटमुनि झोलामा राखेको अवस्थामा १ लाख ९४ हजार २ सय अमेरिकी डलर (२ करोड ३२ लाख रुपैयाँ) बरामद गरेको थियो । त्यसबाहेक २ थान मोबाइल, एउटा चेकबुक र नागरिकताको प्रमाणपत्र पनि बरामद गरेको थियो । मुस्ताङको लो–घेकर दामोदरकुण्ड–१ घर भई पोखरा–९ शिवालयचोक बस्दै आएका ४२ बर्षिय गुरुङ विदेशी मुद्रा ओसारपसारको काम गर्दै आएका थिए ।

प्रहरीको अनुसन्धान अनुसार गुरुङ जहाजबाट काठमाडौं जाने र माइक्रोमा करोडौं अवैध डलर लिएर पोखरा आउने गर्थे । प्रहरीले विदेशी मुद्राको अवैध कारोबार भएको सुराकीको आधारमा सवारी जाँच गरेको थियो । दुई पटकसम्म प्रहरीको फन्दाबाट उम्केका उनी तेस्रो पटक हिरासतमा पुगे । प्रारम्भिक अनुसन्धानपछि प्रहरीले मंसिर १२ मा उनलाई अवैध रकमसहित विभागमा बुझाएको कास्की प्रहरी प्रमुख एसपी रमेश थापाले बताए ।

कास्की प्रहरीले यो घटना संगठित अपराध रहेको र थप कुरा खुलाउन नसकिने भन्दै पक्राउ परेको भोलिपल्टै गुरुङलाई सार्वजनिक गरेको थियो । अवैध रकमले अवैध कारोबार गर्न सक्ने प्रहरीको अनुमान छ । प्रहरीका अनुसार प्रारम्भिक बयानका क्रममा गुरुङले यसअघि पनि यसरी नै ठूलो परिमाणमा डलर लिएर पोखरा आउने गरेको स्वीकार गरेका छन् । गुरुङले विभागमा दिएको बयानमा आफूले ५० हजार रुपैयाँ पाउने आसले अर्कैको रकम ल्याइदिएको बताएका छन् । आफूले २५ हजार काठमाडौंमा पाएको र बाँकी २५ हजार रुपैया पोखरा पुगेपछि पाउने भनी रकम लिएर पोखरा आएको बताएका छन् । काठमाडौंको महाबौद्धमा रहेको अकुपेमा रेस्टुरेन्टका मालिक ढोल्पुले उक्त रकम रेस्टुरेन्ट अगाडि दिएको बताएको विभागले जनाएको छ ।

यसअघि पनि उनले ढोल्पुकै रकम पोखरा ल्याएको र उक्त रकम लिन तिब्बतीयन आएको उनले बताएका छन् । प्रहरीले पक्राउ गरेपछि मात्र डलर कति छ भन्ने थाहा पाएको बताएका गुरुङले यसअघि पोखरा ल्याएको डलर कति थियो भन्ने आफूलाई जानकारी नभएको बताए । गुरुङको साथबाट अवैध डलर बरामद गरेपछि प्रहरीले नेपाल राष्ट्र बैंकका प्राविधिक लगेर बरामद डलर सक्कली रहेको पुष्टि गरेको थियो ।

एसपी थापाले डलरको तस्करीसँग सुन पनि जोडिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए । प्रहरीले यसमा ठूलो संख्यामा गिरोह नै संलग्न हुन सक्ने जनाएको छ । विभागका अधिकृत खनालले खुला सीमानाका कारण भारतबाट अवैध सुन तस्करी हुने गरेको र त्यसको ‘कनेक्सन’ अवैध विदेशी मुद्रासँग जोडिएको हुन सक्ने तथा पोखरा ‘ट्रान्जिट हब’ बन्न सक्ने बताए । ‘यसमा ठूलो गिरोह संलग्न छ, हामी अनुसन्धान गर्दै छौं’ उनले भने ।

विदेशी विनियम (नियमित गर्ने) ऐन, २०१९ को दफा ३(१) विदेशी विनियम कारोबार गर्न चाहने व्यक्ति, फर्म, कम्पनी वा संस्थाले बैंकबाट इजाजतपत्र लिनुपर्ने कानुनी प्रावधान छ । सोही ऐनको दफा ४(१) मा कसैले पनि बैंकको स्विकृति नलिई इजाजतपत्र प्राप्त व्यक्तिसँग बाहेक अरू व्यक्तिसँग विदेशी विनिमय कारोबार गर्न नहुने व्यवस्था कानुनले गरेको छ । गुरुङलाई विदेशी मुद्रा विनिमय नियमित गर्ने ऐन २०१९ र विदेशी मुद्रा अपचलनसम्बन्धी ऐनअनुसार मुद्दा दर्ता गरिएको विभागले जनायो ।

प्रकाशित : पुस १२, २०७८ ११:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?