१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

बेनी-जोमसोम सडक फेरिँदै

मापदण्डअनुसार  बनाउन नसकेपछि सुरूङको सम्भावना अध्ययन सुरू
घनश्याम खड्का

म्याग्दी — निर्माणाधीन बेनी–जोमसोम–कोरला सडकको पहिलो प्याकेजमा पर्ने महभीर–टिम्मुरे खण्डको भीरकाटेमा डिजाइन फेरिन लागेको छ ।

बेनी-जोमसोम सडक फेरिँदै

गण्डकी प्रदेशको लाइफलाइन मानिएको उत्तर–दक्षिण अन्तरदेशीय व्यापार मार्ग कालीगण्डकी करिडोर निर्माणाधीन बेनी–जोमसोम सडक निर्माण सम्पन्न भइसक्ने बेलामा ३ सय मिटर लामो सुरुङ निर्माण हुने गरी डिजाईन फेरिन लागेको हो । उक्त सडक २०७६ पुसमा निर्माण सक्ने गरी ठेक्का सम्झौता भएको थियो ।

सडकको सवैभन्दा कठिन भाग मानिएको १८ किलोमिटर उत्तर महभीर–टिम्मुरे खण्ड र २८ किमिमा पर्ने काप्रे–बाँदर जुँगभीर खण्डमा साविकको मापदण्डअनुसार डिजाइन परिवर्तन गर्न लागिएको हो । काप्रे–वाँदर जुँगभीरमा विस्फोटक पदार्थ प्रयोग गरी सडक चौडा पारिंदै छ । महभीर–टिम्मुरे खण्डको भीरकाटेमा भने ३ सय मिटर सुरुङ मार्ग बनाउन अध्ययन भइरहेको कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ ।

दुवै खण्ड संसारकै गहिरो गल्छीमा पर्ने र अति साँघुरो कडा पहरा भएकोले मेसिन वा मानव श्रमबाट खोल्न नसकिएको आयोजनाको दाबी छ । ‘सडकको महभीर–टिम्मुरे खण्डमा मापदण्ड अनुसारको सडक निर्माण गर्न नसकिने भएपछि डिजाइन परिवर्तन गरी सुरुङको सम्भावना अध्ययन भइरहेको छ,’ सडक आयोजना प्रमुख जगत प्रजापतिले भने, ‘अर्को जटिल भाग मानिएको काप्रेभीरमा भने विस्फोटक पदार्थ प्रयोग गरी सडक बिस्तार गर्दैछौं ।’

बेनी–जोमसोम–कोरला १ सय ८६ किलोमिटर सडकमध्ये जोमसोम–कोरला एक सय १० किमी सडक कालोपत्र/ग्राभेल स्तरमा निर्माण सम्पन्न भएका छन । बेनी–जोमसोम ७६ किमिलाई ४ प्याकेज बनाई निर्माण भैरहेकोमा सबै अधुरा छन् । प्रजापतिका अनुसार गलेश्वर–तातोपानी पहिलो खण्डमा ६० प्रतिशत, तातोपानी–घाँसा दोस्रो प्याकेजमा ६० प्रतिशत, घाँसा–लेते तेस्रो प्याकेजमा ८५ प्रतिशत र लेते–जोमसोम चौंथो प्याकेजमा ६५ प्रतिशत भौतिक प्रगती छ ।

बेनी–जोमसोम खण्डमा २०७६ पुसमा सक्नेगरी ७ मिटर कालोपत्रसहित ११ मिटर सडक निर्माण गर्न २ अर्ब ४९ करोडमा र जोमसोम–कोरला १ सय १० किमि ७ मिटर ग्राभेलसहित ११ मिटर चौडा सडक निर्माण गर्न २ अर्ब ५० करोड रुपैयाँ लागतमा ठेक्का लगाइएको थियो ।

प्रकाशित : पुस १०, २०७८ १३:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?