हाँडीकोट बन्यो नयाँ गन्तव्य- गण्डकी - कान्तिपुर समाचार

हाँडीकोट बन्यो नयाँ गन्तव्य

कान्तिपुर संवाददाता

काठमाडौँबागलुङ — सूर्योदय हेर्ने उद्देश्यले जैमिनी नगरपालिका–१० को हाँडीकोटमा दैनिक आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ । यसअघि पैदलै यात्रा गर्नुपर्ने बाध्यता हटेर सडकले जोडिएपछि हाँडीकोटमा नियमितरुपमा पर्यटक पुग्न थालेका हुन् । दक्षिणमा गुल्मी, पूर्वमा पर्वत, उत्तरतर्फ धौलागिरि र अन्नपूर्ण हिमशृंखला देखिन्छ ।

वडा १० को राङखानीदेखि कोटसम्म पुग्न नगरपालिकाको लगानीमा सडक खुलेपछि जिपमा यात्रा गर्न सकिन्छ । व्याडथला र डाँडाखानीबाट २ हजार २ सय मिटर अग्लो हाँडीकोट उक्लेपछि वरपरका सबै बस्तीसमेत देखिन्छ । पर्यटक भित्र्याउने लक्ष्यले हाँडीकोटमा लगानीसमेत भएको छ । कोटमा मन्दिर, भ्युटावर र अन्य संरचना बन्दै छन् । नजिकका डाँडाखानी र व्याडथलामा सामुदायिक होमस्टे संचालनमा छ ।

गण्डकी प्रदेशको पर्यटन मन्त्रालयले १०/१० लाख रुपैयाँ दिएर होमस्टे प्रवर्द्धनको कार्यक्रम चलाएको छ । कोटमा निर्माण गर्न लागिएको पूर्वाधारमा पनि प्रदेश सरकार र नगरपालिकाले लगानी बढाएका हुन् । ‘यहाँ झन्डै एक करोडको पूर्वाधार निर्माण हुँदै छ,’ स्थानीय लालबहदुर पुनले भने, ‘यो बनिसकेपछि पर्यटक अझै बढ्नेछन् ।’ यहाँ दैनिक १ सय जनासम्म पर्यटक जान थालेका हुन् । ‘पाहुनालाई खुवाउने र राख्ने चलन थिएन, पर्यटन प्रवर्द्धन भन्ने जानेकै थिएनौं, हाँडीकोटमा सडक पुगेपछि मात्रै हामीले होमस्टे खोल्यौं,’ राङखानी सामुदायिक होमस्टेका अध्यक्षसमेत रहेका पुनले भने, ‘गाउँमा आर्थिक क्रियाकलाप पनि बढेको छ ।’

हाँडीकोट चौबिसे राज्यको पालामा रहेको भुरेटाकुरेमा गनिन्छ । त्यसैले यहाँ पुरातात्त्विक महत्त्वका क्षेत्र पनि छन् । भुरेटाकुरे राजारजौटाले प्रयोग गरेका कतिपय सामग्री यहाँ संग्रह गरेर राखिएको छ । ‘अहिले भवन बन्दै छ, त्यसैले सामान पोको पारेर राखिएको छ,’ हाँडीकोट युवा क्लबका अध्यक्ष नगेन्द्र थापाले भने, ‘पुरानै मोडलको भवन बनाएर सामान प्रदर्शनीमा राख्ने योजना छ ।’ पुरातात्त्विक सामान तथा यहाँ निकालिएका पुराना तामाका धाउसमेत संग्रह गर्ने योजना उनले सुनाए ।

नगरपालिकाले पर्यटन प्रवर्द्धनका लागि लगानी बढाएको नगरप्रमुख इन्द्रराज पौडेलले बताए । यहाँ टावर निर्माण गर्न नगरपालिकाले २१ लाख रुपैयाँ लगानी गरेको छ । त्यस्तै गण्डकी प्रदेशको पर्यटन मन्त्रालयले १३ लाख रुपैया लगानी गरेर शिवमन्दिर निर्माण भैरहेको छ । साथै कोटको वरिपरि तारबार लगाएर संरक्षणको कामसमेत गर्न लागिएको हो । व्याडथलादेखि झन्डै १ किमि लामो पदमार्ग पनि निर्माण गरिएको छ । पर्यटकहरू पैदलयात्रा गरेर पनि हाँडीकोट पुग्न थालेका छन् ।

प्रकाशित : पुस ९, २०७८ ११:२१
प्रतिक्रिया
पठाउनुहोस्

राति बिरामी बोक्न मान्दैनन् एम्बुलेन्स

शमशेरविक्रम जीसी

प्यूठान — झिमरुक गाउँपालिका–६ मर्कावाङ लेखका दानबहादुर पुनमगर मंसिर २७ गते जिल्ला अस्पताल प्यूठान आए । टाउकोमा गम्भीर चोट लागेर उपचार गर्न आएका उनलाई अस्पतालले तत्काल बुटवल जान रिफर गर्‍यो । चिकित्सकको सल्लाहअनुसार उनलाई लैजान खोज्दा जिल्लामा सञ्चालित कुनै पनि एम्बुलेन्स बुटवल जान तयार भएनन् ।

प्यूठानमा अहिले १२ वटा एम्बुलेन्स सञ्चालनमा छन् । तर, बिरामीका आफन्तदेखि अस्पतालका डाक्टर र कर्मचारीले प्रयास गर्दा पनि बुटवल जाने एम्बुलेन्स नभएपछि दुई घण्टापछि पिकअप गाडीमा बिरामीलाई लगिएको आफन्तले बताए । त्यतिबेला तीनवटा एम्बुलेन्स चालकले जिल्लाबाहिर रहेको बताए ।

अन्यले राति जान नसक्नेलगायत बहाना बनाएर पन्छिएको बिरामीका आफन्त धनबहादुर पुनमगरले बताए । ‘आफूले फोन गर्दा नभएपछि स्वास्थ्यकर्मीलाई भन्न लगायौं,’ उनले भने, ‘कसैले फोन उठाएनन्, कसैले के बहाना बनाए कसैले के !’ जिल्लामा सञ्चालित एम्बुलेन्स बिरामीको सेवाका लागि नभएको उनको गुनासो छ । ‘दिनभर आम्दानी कता हुन्छ भन्दै कुद्छन्,’ उनले भने, ‘रात परेपछि कसैलाई कसैको वास्ता छैन ।’ उनका अनुसार एम्बुलेन्स सञ्चालक संस्था र चालक यसप्रति जिम्मेवार नहुँदा बिरामीले सास्ती खेप्नुपरेको छ ।

जिल्ला अस्पताल प्यूठानका सूचना अधिकारी खिमप्रसाद पार्धेले मंसिर २८ गते राति एक जना बिरामीका लागि एम्बुलेन्स खोज्दा कसैले पनि जान नमानेको उल्लेख गर्दै सामाजिक सञ्जालमै असन्तुष्टि पोखेका छन् । ‘रातभरमा १२ वटालाई फोन गरें,’ उनले भने, ‘तर, कसैले जान मानेनन् ।’ नौवटा एम्बुलेन्स जिल्लामै रहँदा पनि कोही जान नमानेको उनले बताए ।

प्यूठानमा सञ्चालित एम्बुलेन्सले बिरामी बोक्न छोडेर अन्य यात्रु बोक्ने, चर्को शुल्क असुल्ने गरेको पनि आरोप लाग्दै आएको छ । एम्बुलेन्सलाई अनुगमन गर्ने संयन्त्र पनि एक वर्षदेखि गुमनाम छ । कुनै छलफल र गुनासो सुन्दैन । कोरोना महामारीको समयमा संक्रमित बिरामी बोक्न नमान्नेदेखि अहिले ठेक्का दिएर चलाउनेसम्मको काम जिल्लामा भइरहेको रेडक्रस सभापति गुमानराज पुलामीले बताए । ‘न एम्बुलेन्स चालक जिम्मेवार छन्,’ उनले भने, ‘न अनुगमन गर्ने संयन्त्र नै ।’ चालक नाफामुखी र सरोकारवाला निकाय गुमनाम हुँदा बिरामीले सधैं दुःख पाउनु परेको उनले बताए । प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले एम्बुलेन्सको लापरबाही र गैरजिम्मेवारीबारे छलफल गर्ने बताए ।

प्रकाशित : पुस ९, २०७८ ११:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×