कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

कालीगण्डकी करिडोरले बढायो व्यवसाय

करिडोर खुलेपछि दुई दिनको बाटो ४–५ घण्टामा छोटिएपछि स्थानीयमा खुसियाली 
प्रकाश बराल

बागलुङ — दक्षिण बागलुङको छिस्तीका रघुनाथ पौडेललाई बुटवल जानुपर्दा सदरमुकाम आउनै एक दिन लाग्थ्यो । त्यसपछि गाडि चढेर दोश्रो दिन गन्तव्यमा पुग्थे । सडक खुलेपछि पनि ५ सय भाडा तिरेर सदरमुकाम आएपछि फेरि बुटवल गएको ७ सय भाडा लाग्थ्यो । अहिले उनको गाउँ बेलबगरबाटै बुटवलका लागि बस चल्न थालेको छ । ५ सय भाडामै बुटवल पुगिन्छ । 

कालीगण्डकी करिडोरले बढायो व्यवसाय

सदरमुकाममा भन्दा बुटवलमा धेरै सस्तोमा सामान पाइन्छ । त्यसैले उनको परिवार र छिमेकी बेलाबेला बुटवल पुगेर सामान ल्याउँछन् । ‘अहिले चार–पाँच घण्टामा बुटवल पुगिन्छ, सदरमुकाम पुग्न पनि उत्तिकै समय लाग्छ’ पौडेलले भने, ‘प्रशासनिक काम परे सदरमुकाम जाने हो, किनमेलको काम बुटवलतिर सरेको छ ।’ जैमिनी नगरपालिकाको छिस्ती, जैदी, अर्जेवालगायत गाउँबासी अहिले बुटवल जान सजिलो मान्छन् । यहाँको कुश्मीसेराबाट दैनिक दुईवटा बस र केही जिप नियमित बुटवल जान थालेका छन् ।

उत्तर–दक्षिण कालीगण्डकी करिडोर खुलेपछि बुटवल आउजाउ नजिक भएको स्थानीय तमसम रानाले बताए । उनले सदरमुकामको व्यवसाय छाडेर गाउँमै सरेका छन् । ‘घर छेवैबाट करिडोर गएको छ, सदरमुकाममा किन बस्नु ?’ रानाले भने, ‘अब घरमै फलाएको तरकारी, खसीबोका बेच्न थालेको छु ।’ उनले बेलबगरमा रेस्टुरेन्ट संचालन गरेका छन् । पत्नी तुलसीले व्यवसायमा सघाएकी छन् ।

कालीगण्डकी किनारको भीर फोडेर राष्ट्रिय गौरवको करिडोर बनेपछि यहाँ दर्जनौं पसल खुलेका छन् । ‘यहाँको दुईवटा वडामा मात्रै २० रेस्टुरेन्ट खुलिसके’ रानाले भने, ‘अब खाद्यान्न, सिलाइ, फेन्सी र गहना पसलसमेत खुलेर रमाइलो बजार बनिसक्यो ।’ तर्साउँछ भन्ने गरेको भीरमा अहिले बजार बनेर रमाइलो भएको उनले बताए । यहाँ प्रहरी चौकीसमेत बसेको छ । बिहानै गाउँका किसानले दूध र तरकारी सडक छेउमा ओराल्छन् । ती सामान बजार क्षेत्रमै खपत हुन्छ । केही तरकारी, माछा र खसीबोका भने बुटवल र बागलुङ बजार जाने गरेको स्थानीय लक्ष्मीदेवी चालिसेले बताइन् । ‘पहिला एउटा खास्टो किन्नुपरे नजिकको बजार गुल्मीको पूर्तिघाट पुग्नुपर्थ्यो,’ चालिसेले भनिन्, ‘अहिले घरघरै पसल छन्, चाहेको बेला जे खोज्यो त्यही सामान यहीं पाइन्छ ।’

नेपाली सेनाले बागलुङको मालढुंगादेखि छिस्तीसम्मको ३६ किमीसहित गुल्मीको रिडीसम्मको ८० किमि सडक ट्र्याक खोलेर १० मीटर चौडा पारिसकेको छ । गत कात्तिक मसान्तदेखि यो सडकको जिम्मा सडक विभागमा सरेको छ । यो सडकले छिमेकी भारत र चीन जोड्छ । त्रिदेशीय मार्गमध्ये यो सबैभन्दा छोटो भएको नेपाली सेनाको सडक निर्माण कार्यदलका निमित्त प्रमुख शालिकराम नेपालले बताए । ‘समग्रमा चार सय १७ किमीमा करिडोरले भारतदेखि चीन जोड्छ,’ नेपालले भने, ‘पाल्पा हुँदै भारत जोड्दा ३ सय ६९ र मिर्मी हुँदै भारत जोड्दा ३ सय ४२ किमि मात्र छ ।’

यो सम्पन्न हुँदा आसपासका १० लाख ३० हजार जनसंख्यालाई बसाइँसराइ रोक्न सहयोग पुग्ने करिडोर सरोकार समितिका अध्यक्ष टीकाराम न्यौपानेको अध्ययन छ । सेनाले हस्तान्तरण गरेपछि मालढुंगादेखि मुस्ताङसम्म सडक विभागले काम गरिरहेको छ । उपल्लो मुस्ताङतर्फ भने अझै सेनाको निर्माण कार्यदल सक्रिय छ । ‘२०४४ देखिको परिकल्पना भएपछि धेरैपछि यो सडक बन्यो,’ न्यौपानेले भने, ‘अब सेनाले झैं छिटो काम गरेर कालोपत्र बनाउनुपर्छ ।’

करिडोर कालोपत्र भएमा बागलुङको जैमिनी नगरपालिका, बरेङ गाउँपालिका तथा गुल्मीको कालीगण्डकी र खड्गकोट गाउँपालिकावासीलाई पाल्पा र गुल्मी जोड्न सहज हुनेछ । करिडोरमार्फत तराईबाट पर्यटक भित्र्याउनसमेत सजिलो हुने जैमिनी–८ का डिलबहादुर श्रीशले बताए । करिडोरमा सेनाले ५ वटा बेलिब्रिज पनि बनाएको छ ।

प्रकाशित : पुस ८, २०७८ १२:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?