कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

‘चुम्बा’ र ‘नुब्री’ जनगणनामा सूचीकृत

गोरखा — जातीय पहिचान स्थापित गर्न उत्तरी गोरखावासीले १२ औं राष्ट्रिय जनगणनामा ‘चुम्बा’ र ‘नुब्री’ जाति सूचीकृत गराएका छन् । चुमनुव्री गाउँपालिकाअन्तर्गत नुब्रीका स्थानीयले जाति र भाषा दुवैमा नुब्री र चुमका स्थानीयले जातिमा चुम्बा र भाषामा चुम टिपाएका हुन् ।

‘चुम्बा’ र ‘नुब्री’ जनगणनामा सूचीकृत

अध्ययन र पाका पुस्तासँग छलफल गरेर जातीय पहिचान स्थापित गर्न स्थानीय युवाको अगुवाइमा जनगणनाअघि यहाँ अभियाननै सञ्चालन गरिएको थियो ।

चर्चामा नरहेका चुम्बा र नुब्री जातिको भाषिक, सांस्कृतिक पहिचान स्थापित गराउन अभियान चलाएर गणक पनि स्थानीय स्तरकै युवा खटिएका किमोलुङ फाउन्डेसन नेपालका संस्थापक अध्यक्ष वाङचुक राप्तेन लामा (चुम्बा) ले बताए । लामा थर लेख्ने यहाँका स्थानीय २०६८ को जनगणनासम्म तामाङमा सूचीकृत हुँदै आएका थिए । ‘राष्ट्रिय जनगणना सुरु भएको पनि १ सय १० वर्ष भइसक्यो तर चुम्बा र नुब्रीको पहिचान खुलेन,’ राप्तेनले भने, ‘चुम र नुब्री ठाउँको पनि आफ्नै पहिचान छ तर आजसम्म जनगणनामार्फत न ठाउँ चर्चामा आयो न जाति ।’

चुमभ्यालीअन्तर्गत छेकम्पार र चुम्चेतका स्थानीयले चुम्बा र नुब्री उपत्यकाअन्तर्गत सामागाउँ, ल्हो, विही र प्रोकका स्थानीयले नुब्री जाति टिपाएको उनले बताए । भाषा, धर्म, संस्कृति, आर्थिक र राजनैतिक विकास र उत्थानको लागि पहिचानले सघाउने स्थानीयको विश्वास छ । अधिकांश स्थानीयले आफ्नो पहिचान स्थापित गर्ने अभियानअनुसार नै जातमा नुब्री टिपाएको प्रोकका पेमा ग्याल्बोले बताए । ‘हामीले जाति र भाषा दुवै नुब्री लेखेका छौं ।

भाषा आयोगमा नुब्री भाषा दर्ता भए पनि २०६८ को जनगणनामा त्यो उल्लेख भएन,’ उनले भने, ‘यसअघि जातिमा लामा भनेर टिपाउँदा तामाङमा सूचीकृत भयो । स्थानीय पढेलेखेका छैनन्, पहिचान हराउँदै गयो, सबैलाई जातिमा नुव्री लेख्न पर्छ भनेर अभियान चलाएर गणकलाई टिपाउन लगायौं ।’ नुब्रीवासीले दोस्रो भाषामा भने भोट र कसैले नेपाली टिपाएको उनले बताए ।

जनगणनामा चुम्बा र नुब्री जातिमा सूचीकृतले कोड नम्बर भने नपाएको वाङ्चुकले बताए । स्थानीयलाई स्वइच्छाले चुम्बा र नुब्री जाति लेखाउन आग्रह गरिएको लामाले बताए । ‘तल्लो भेगबाट आएकाले नाम, जात बिगारिदन पनि सक्छन् भनेर जनगणना सुरु भएपछि सकेसम्म गणकका रुपमा स्थानीय नै पठाउन आग्रह गर्‍यौं,’ उनले भने, ‘हामी युवा नै जनगणनामा खटिएका हौं ।’

भावी पुस्तालाई बुझाउन पनि पहिचान स्थापित गराउने कार्यमा सघाउने छेकम्पारका नेवाङ लामाले बताए । ‘हामी चुम्बा नै हौं । अहिले पहिचान स्थापित भयो भने आउने पुस्ताले पनि आफ्नो पहिचान बुझ्न सक्छन्,’ उनले भने ।

भाषा आयोगले पछिल्लो समय पहिचान गरेको भाषामा पनि गोरखामा बोलिने चुम स्यार र नुब्री लार्के समेटिएका छन् । गणनाको क्रममा चुमनुब्री गाउँपालिकाका जातिमा चुम्बा र नुब्री टिपाउनेको कोड नम्बर उल्लेख नगरी विवरण संकलन गरिएको जिल्ला जनगणना कार्यालयका प्रमुख महेन्द्रप्रसाद ढुंगानाले बताए । ‘सबै फाराम विभागमा पठाइसकेका छौं,’ उनले भने ।

प्रकाशित : पुस ७, २०७८ १३:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?