कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

फेरियो पुम्दीकोट

शिव मूर्ति स्थापनापछि व्यापार बढ्यो, पर्यटनमा उल्लेख्य वृद्धि
दीपक परियार

पोखरा — उत्तरतिर फर्किएर उभिएपछि एकै मेसोमा ताल, हिमाल र पोखरा सहर देखिने पुम्दीकोट केही वर्षअघिसम्म ओझेलमा थियो । स्थानीयले भ्यु टावर बनाएर पर्यटक आकर्षित गर्न खोजेपछि सोचेजस्तो भएनन् । फाट्टफुट्ट मात्रै पर्यटक पुगे । कोरोना महामारीकै बेला विशाल महादेव मूर्ति बनेपछि भने पुम्दीकोटको परिचय फेरिएको छ । 

फेरियो पुम्दीकोट

मूर्ति निर्माण नसकिँदै पुम्दीकोटमा आन्तरिक पर्यटकको चाप छ । शुक्रबार, शनिबार र अन्य बिदाका दिन पुम्दीकोट पुग्ने आन्तरिक पर्यटकको भीड थेगिनसक्नु हुन्छ । देशका विभिन्न स्थानबाट पोखरा आउने आन्तरिक पर्यटक पुम्दीकोट पुग्छन् । सामाजिक सञ्जालमा ‘भाइरल’ पुम्दीकोटमा टिकटक बनाउनेको ताँती लाग्छ ।

पर्यटकको चाप बढेसँगै स्थानीयले होटल, रेस्टुरेन्ट, किराना पसल खोल्ने क्रम बढेको छ । पुराना घर भत्काएर धमाधम होटल, रेस्टुरेन्ट बन्दै छन् । हरेक घरको आगनमा पार्किङ राखेर शुल्क उठाइरहेको देख्न सकिन्छ । पोखरा, काठमाडौंका व्यवसायीले समेत पुम्दीकोटमा होटल, रिसोर्ट बनाउन लगानी गरिरहेका छन् ।

पोखरा महानगरपालिकाको २२ नम्बर वडामा पर्ने पुम्दीकोट पुग्न छोरेपाटन, विश्व शान्ति स्तुप हुँदै जानुपर्छ । विश्व शान्ति स्तुपभन्दा माथि रहेको पुम्दीकोटमा दक्षिण फर्किएर ५१ फिट अग्लो महादेवको मूर्ति राखिएको छ । स्थानीयले पुम्दीकोट विकास समिति गठन गरेर धार्मिक पर्यटकीय स्थलका रूपमा विकास गर्न लागिपरेका छन् । वनको जग्गामा मूर्ति बनाउन अनुमति पाएपछि समितिले महायज्ञको आयोजना गरेर रकम संकलन गरेको थियो । ४० करोड रुपैयाँको योजना पूरा गर्न पोखरा, वीरगन्ज र काठमाडौंसम्मका व्यवसायीले दान गरेका छन् । समितिको योजनामा पोखरा महानगर, गण्डकी प्रदेश सरकार र संघ सरकारले पनि सहयोग गर्‍यो ।

समितिका अध्यक्ष चन्द्रकान्त बरालका अनुसार मूर्तिबाहेक कुमार र पार्वतीको मूर्ति, सुमेरु पर्वत, ग्रिनरी पार्क, व्यवस्थित पार्किङ र विभिन्न देवीदेवताको प्रतिमा निर्माणको क्रममा छ । एक सय ८ स्वर्गद्वारी सिँढी, अपांगमैत्री ढलान बाटो, कार्यालय भवनसहित टिकट काउन्टर र शौचालय भवन बनिरहेको छ । विशाल महादेव मूर्ति निर्माण समितिको अध्यक्ष समेत उनी नै हुन् । ‘रातको समयमा ताण्डव नृत्य प्रदर्शन गरी एक रात पर्यटकलाई पुम्दीकोटमै बसाल्ने योजना छ,’ अध्यक्ष बरालले भने, ‘यसले पर्यटकको बसाइँ लम्बिन्छ ।’

सिंहासनमा बसेको ५१ फिट अग्लो मूर्ति भारतको मथुरामा बनाइएको हो । समितिले यसअघि एक सय ८९ फिट अग्लो मूर्ति बनाउने तयारी गरेको थियो । पोखरामा अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थलसमेत निर्माणको क्रममा रहेकाले उक्त हवाई रुटमा अग्लो संरचना बनाउन नमिल्दा ५१ फिटमा झारिएको हो ।

मूर्तिको विभिन्न भागलाई भारतीय कालीगढले लिफ्ट र क्रेनको सहायताले जडान गरेका थिए । पुम्दीकोटमा हाल निःशुल्क प्रवेश दिइए पनि पूर्ण रूपमा निर्माण भइसकेपछि भने पर्यटकले टिकट काट्नुपर्ने छ । टिकटबाट हुने आम्दानी पुम्दीकोटको विकास, शिक्षालगायतमा खर्च गरिने बरालले बताए ।

स्थानीय नवराज बरालले महादेव मूर्ति स्थापनासँगै आम्दानीमा वृद्धि भएको बताए । सुनसानप्रायः हुने गरेको पुम्दीकोटमा महादेव मूर्तिले कायापलट गरेको उनको अनुभव छ । ‘अहिले प्रशस्त होटल, रेस्टुरेन्ट बन्ने क्रममा छन् । स्थानीय उत्पादन गाउँमै खपत भएको छ,’ उनले भने, ‘व्यवसाय सुरु गर्न पाइएको छ । स्वरोजगार सिर्जना भएको छ ।’

प्रकाशित : मंसिर २३, २०७८ १२:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?