१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

कुपोषण घटाउन वडामा समिति

प्रकाश बराल

बागलुङ — ख्याउटे, पुड्कोपन र कुषोषण हटाउन बागलुङ नगरपालिकाका सबै वडामा पोषण तथा खाद्यसुरक्षा निर्देशक समिति गठन थालिएको छ । उमेरअनुसारको तौल र उचाइ नहुँदा, दीर्घ कुपोषण हुँदा र ख्याउटेपन बढ्दै जाँदा बालबालिकाको मृत्युसमेत हुने गरेकोले निर्देशक समितिमार्फत कुपोषण घटाउने कार्यक्रम गर्न थालेको बागलुङ नगर स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले बताए ।

कुपोषण घटाउन वडामा समिति

सहर बजारभित्रैका धेरैजसो बालबालिकामा कुपोषण देखिएको खनालको भनाइ छ । ‘विपन्न, दलित र मजदुर परिवारका बालबालिका खान नपाएर कुपोषित छन्, धनीका छोराछोरी बढी खाएर कुपोषित छन्,’ खनालले भने, ‘खान पुग्नेले पनि सन्तुलित आहारा दिन सकेका छैनन् ।’ जंकफुड र कार्बोहाइड्रेट बढी भएका खानेकुरा मात्रै खाने बानीले बालबालिकामा कुपोषण बढाएको उनको भनाइ छ ।

नेपाल सरकारले बहुक्षेत्रीय पोषण कार्यक्रम सञ्चालन गरे पनि यसबारे तल्लो तहमा बुझाउन नसक्दा कुपोषण नघटेको प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवाली बताउँछन् । त्यसका लागि अब वडा तहमा समिति गठन गरेर नियमित अनुगमन गर्ने, विपन्न परिवारमा पनि खानेबानीमा सुधार ल्याउन पहल गर्न लागिएको उनले जानकारी दिए ।

‘स्वास्थ्य शाखाले हेरेर मात्रै यो अभियानले सफलता पाएन, त्यसैले अब कृषि, शिक्षा, महिला तथा बालबालिका, खानेपानी, पूर्वाधारजस्ता क्षेत्रले पनि पोषणलाई प्राथमिकता दिनुपर्छ ।’ कृषि उत्पादनमा जोड, शुद्ध खानेपानीको व्यवस्था, विद्यालय तहबाटै पोषणबारे पढाइ, अभिभावक शिक्षा र विपन्नलाई राहत तथा पोषिलो खानाको व्यवस्था गराउन जिल्लाभरका वडामा बजेट विनियोजन हुनुपर्नेमा उनले जोड दिए ।

नेपालमा बालबालिकामध्ये अहिले पनि ३६ प्रतिशतमा पुड्कोपन, २७ प्रतिशतमा कम तौल र ४३ प्रतिशतमा कुपोषण देखिएकोले त्यो अनुपात घटाउन अभियान चलाउनुपरेको खनाल बताउँछन् । ‘सन् २०३० सम्ममा ख्याउटेको संख्या ४ प्रतिशतमा झार्ने, कमतौल हुने १० प्रतिशत र कुपोषितको संख्यालाई १५ प्रतिशतमा झार्ने योजना छ,’ उनले भने, ‘पालिकास्तरमा २/२ वटा बाल बहिरंग सेवासमेत स्थापना गराउँदै छौं ।’ हाल धौलागिरि अस्पतालमा बालपोषण गृह सञ्चालनमा छ । यहाँ बर्सेनि १ सय ५० जनासम्म बालबालिकाले पोषणसम्बन्धी समस्याको उपचार गराउँछन् ।

पोषणयुक्त खाना नपाएका बालबालिका उमेर पुगेपछि पनि कमजोर हुने गरेको तथ्यांक छ । उनीहरूबाट जन्मने बालबालिकासमेत कुपोषित हुँदा जनशक्ति नै कुपोषित भइरहेकोले देश विकासमा समेत योगदान गर्न नसकेको अध्ययनले देखाएको ज्ञवालीले बताए । ‘कुपोषणको दुष्चक्र पुस्तौंदेखि फैलिएको छ, त्यसैले अहिले पनि बौद्धिक विकासका काममा हाम्रा जनशक्ति कम छन्,’ उनले भने, ‘महिलामा हुने रक्तअल्पताको समस्या मात्रै समाधान गर्दा पनि धेरै बालबालिका स्वस्थ्य जन्मन्छन् ।’ परम्परागत खानालाई भान्सामा पुनःस्थापित गर्ने अभियान चलाउन पहल भइरहेको उनले जनाए ।

सबै पालिका र स्वास्थ्य चौकी तहमा हरियो सागपात, कोदो, मकै, जौजस्ता अन्तपात खाने बानीको विकास गराउन पहल भइरहेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताए ।

प्रकाशित : मंसिर २२, २०७८ १२:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?