१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

विकासले रोकेन बसाइँसराइ

विकासका पूर्वाधार बन्ने क्रम तीव्र हुँदा पनि एक वर्षमै करिब ३ सय जनाले छोडे फलेवास
अगन्धर तिवारी

पर्वत — ग्रामीण बस्तीमा विकासको लहर ल्याउने भन्दै ‘गाउँगाउँमा सिंहदरबार’ को नारासहित २०७४ मा स्थानीय तहको निर्वाचन भयो । त्यसको करिब एक वर्षअघि नै ग्रामीण बस्तीसमेत समेटेर गाउँपालिका र नगरपालिका गठन भए । फलेबास नगरपालिकामा घोषणा गरिएअनुसार विकास नभएको पनि होइन ।

विकासले रोकेन बसाइँसराइ

नगरपालिकाको मुख्य सडक कालोपत्र भइसकेको छ । शाखा सडकहरूको पनि स्तरोन्नति र चौडा पार्ने काम तीव्र छ । माध्यमिक विद्यालयका लागि बसको व्यवस्था गरेको छ । कृषि तथा पशु अधिकृतको व्यवस्थापन गरेर किसानका समस्या समाधानमा केन्द्रित पनि छ । नगरवासीका खानेपानी, सिँचाइ, सामुदायिक भवन, कृषिलगायत क्षेत्रका समस्या समाधान र योजना वितरण गर्न वडैपिच्छे सम्झौतासमेत भइरहेको छ । तर जतिसुकै विकासका पूर्वाधार बने पनि स्थानीयले नगर छाड्ने क्रम भने रोकिएको छैन ।

नगरपालिकाको पञ्जीकरण शाखाको गत वर्षको तथ्यांकअनुसार एक सय तीन परिवारका २ सय ९८ जनाले बसाइँ सरेका छन् । उनीहरूमध्ये अधिकांश परिवार तराईका जिल्ला, त्यसमा पनि बजारक्षेत्रमा बसाइँ सरेको देखिन्छ । नगरका सबै वडामा बसाइँसराइको सिफारिस लिएका आधारमा यो तथ्यांक निकालिएको पञ्जीकरण शाखाका अधिकृत कृष्ण पौडेलले बताए ।

‘हरेक मान्छे सुविधाको खोजीमा हुन्छ,’ उनले भने, ‘यहाँभन्दा बढी सुविधा अन्यत्र पाएपछि यहाँ बसिरहने कुरा हुँदैन । हामीले पनि बसाइँसराइको सिफारिस मागेपछि नदिने कुरा हुँदैन ।’ बसाइँसराइको सिफरिस लिने क्रममा कारण उल्लेख गर्नुपर्ने हुन्छ । अधिकांश वडाबाट आएका विवरणमा रोजगारी, शिक्षा, स्वास्थ्यलगायत सुविधाको खोजीमा बसाइँ सर्न लागेको कारण खुलाइएको पाइएको उनले बताए ।

नगरमा अधिक बसाइँ सराइ गर्नेमा वडा–३ शंकरपोखरी अगाडि छ । यहाँबाट एक वर्षमै १७ परिवारका ७० जनाले आफ्नो थातथलो छाडेका छन् । त्यस्तै, पाङराङबाट १२ परिवारका ५९ जनाले, कुर्घाबाट १३ परिवारका ४२ जनाले, भंगराबाट ८ परिवारका ३४ जनाले, ठानामौलाबाट ५ परिवारका २९ जनाले, मुडिकुवाबाट ६ परिवारका २२ जनाले बसाइँ सरेर अन्यत्र गएका छन् ।

त्यस्तै, देवीस्थानबाट १० परिवारका १८ जना, खानीगाउँबाट ५ परिवारका १३ जना र लिमिठानाबाट ४ परिवारका ११ जनाले बसाइँ सरेका छन् । कार्कीनेटा र थापाठानाबाट बसाइँसराइको सिफरिस लिएको भए पनि कसैले गाउँ छोडेको प्रमाण नभेटिएको नगरपालिकाले जनाएको छ । कार्कीनेटाबाट ४ र थापाठानाबाट १९ परिवारले यस्तो सिफारिस लिएका छन् ।

कतिपयले रोजगारीका सिलसिलामा अतिरिक्त सुविधा लिनकै लागि अन्यत्र गएको देखिन्छ । सरकारी कर्मचारीलाई अन्तरजिल्ला बसाइँ सरेको सिफारिस पेस गर्दा अतिरिक्त सुविधा पाइन्छ ।

बसाइँ सराइ रोक्न नगरपालिकाले घरघरै सीपमूलक तालिम, कृषि तथा पशुपालनमा अनुदान, दूध र मासुमा अनुदान तथा हरित नगर लगायतका थुप्रै लोकप्रिय कार्यक्रमहरू ल्याएको छ । तर नगरको विकास भइरहेको अवस्थामा समेत नगरवासी स्थायी रूपमै अन्यत्र जाने क्रम नरोकिनु दुःखद पक्ष भएको नगर प्रमुख पदमपाणि शर्मा बताउँछन् ।

‘कतिपयलाई बसाइँ सराइ बाध्यता होला,’ उनी भन्छन्, ‘विकासकै अभावले नगरवासी बसाइँ सराइ गर्नुपर्ने अवस्था छैन । भएको भए त्यो दुःखद हो । रोक्ने कार्यक्रम ल्याउँछौं ।’ कोही नगरवासी गरिबीको रेखामुनि नपरून् भनेर मजदुरका लागि समेत कल्याणकारी कोष सञ्चालनमा ल्याइएको उनले बताए ।

प्रकाशित : मंसिर २२, २०७८ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?