१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

आफन्तबाटै बालिका असुरक्षित

घनश्याम खड्का

म्याग्दी — बेनी–५ का एक ४७ वर्षीयले गत कात्तिक २७ मा आफ्नै ७ वर्षीया नातिनीलाई घरमै बलात्कार गरे । प्रहरीले उनलाई गत मंगलबार जिल्ला अदालतमा हाडनाताभित्रको नाबालिकालाई जबर्जस्ती करणी मुद्दा दायर गरेकामा अदालतले भोलिपल्ट ती व्यक्तिलाई पुर्पक्षका लागि थुनामा पठायो । 

मंगला–५ का एक ४७ वर्षीयले कात्तिक १८ मा हाडनाताभित्रै ७ वर्षीयालाई बलात्कार गरे । मंसिर ४ मा इलाका प्रहरी कार्यालय दरबाङमा परिवारले जाहेरी दिएपछि बल्ल घटना बाहिरिएको हो । प्रहरीले शुक्रबार उनलाई जिल्ला अदालतमा जबर्जस्ती करणी मुद्दा दर्ता गरेकामा आइतबार उनलाई पनि अदालतले थुनामा राख्ने आदेश गर्‍यो ।

यी उदाहरण मात्र हुन् । प्रहरी कार्यालयमा जाहेरी दर्ताअनुसार चालु वर्षको पहिलो तीन महिना दुई साताको समयमा ७ बलात्कार र २ बलात्कार प्रयासका घटना भएका छन् । जसमा अधिकांश पीडित परिवारका सदस्य वा आफन्तैबाट बलात्कृत भएका छन् । ‘प्रहरीमा आएका प्रायः सबै बलात्कारका घटनामा आफन्तबाट बालिका बलात्कृत भएका छन् । केही छिमेकीबाट पीडित छन्,’ प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले भने, ‘म्याग्दीमा पछिल्ला केही वर्षदेखिका जबर्जस्ती करणीका घटना हेर्दा बालिका परिवारका सदस्य वा आफन्तबाटै बलात्कृत हुने क्रम बढेको छ ।’

जिल्ला प्रहरीमा दर्ता भएका जबर्जस्ती करणीका ७ घटनामा ५ वटा ७ देखि १६ वर्षमुनिका बालिका पीडित भएका छन । ७ वर्षीया बालिकाहरू एकाघरका सदस्यबाट बलात्कृत भएका छन् । बाँकी तीन वटा घटनाका पीडित पनि नाता पर्ने वा छिमेकी छन् । बलात्कारमा पीडित भएका अन्य दुई घटनाका आरोपी पनि छिमेकी तथा कुनै न कुनै नाता पर्ने परिचित छन् ।

जिल्ला अदालतकी कम्प्युटर अपरेटर लक्ष्मी पौडेलका अनुसार जबर्जस्ती करणीका २ वटा घटनाका पीडित र आरोपी दुवै १५ वर्षमुनिका भएकाले जिल्ला अदालतको असोज ४ र ७ गतेको आदेशबाट एक जनालाई संरक्षकको जिम्मा लगाइएको र अर्का एक जनालाई बालसुधार केन्द्र पोखरा पठाइएको छ । प्रहरीले जबर्जस्ती करणी उद्योगमा जिल्ला अदालतमा दर्ता गरेका दुई मुद्दामध्ये एक जनालाई १ लाख धरौटीसहित तारेखमा छोड्ने आदेश भएको छ । अर्को मुद्दामा भने पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ ।

प्रकाशित : मंसिर २१, २०७८ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?