२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

सुत्केरीलाई यातायात सुविधा

लमजुङ — मर्स्याङ्दी गाउँपालिकाले सुत्केरीलाई निःशुल्क यातायात सेवा दिन थालेको छ । यसका लागि गाउँपालिकाको एम्बुलेन्स परिचालन गरिएको छ । बिरामी बोकेर एम्बुलेन्स पालिका वा जिल्ला बाहिर गएको अवस्थामा आफू चढेको गाडी समेत उपलब्ध गराएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए ।

सुत्केरीलाई यातायात सुविधा

उनका अनुसार एम्बुलेन्स नभएको अवस्थामा पालिकाभित्रकै कुनै सवारी साधनमार्फत सुत्केरीलाई यातायात सेवा उपलब्ध गराउने र यसबापतको खर्च गाउँपालिकाले व्यवस्थापन गर्ने उनले बताए ।

‘गाउँपालिकाको ८८ औं बैठकले सुत्केरीलाई निःशुल्क यातायात सेवा दिने निर्णय गरेका छौं । यसअघि नै सुत्केरीलाई एम्बुलेन्स सेवा उपलब्ध गराउँदै आएका थियौं । अप्ठ्यारो परेको बेला आफैं चढेको गाडी पनि उपलब्ध गराएको छु,’ उनले भने । उनका अनुसार पालिकाको कुनै पनि ठाउँबाट ताघ्रिङ, घेर्मु, ङादी र खुदीमा रहेको बर्थिङ सेन्टर र त्यहाँ सुत्केरी हुन नसक्ने अवस्थामा बेंसीसहरसम्म ल्याउने र लाने व्यवस्था गरिएको छ ।

‘गाउँमा भनेको समय सवारी साधन पाइँदैन । कतिपयसँग अस्पताल जानका लागि खर्च पनि हुँदैन । विपन्न नागरिकलाई सेवा दिन निःशुल्क यातायात सेवा उपलब्ध गराएका हौं,’ उनले भने । उनका अनुसार मातृशिशु मृत्युलाई कम गराउन गाउँपालिकाले यो नीति अपनाएको हो ।

मर्स्याङ्दी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख लुलबहादुर घलेका अनुसार गर्भवतीलाई निःशुल्क क्याल्सियम चक्कीको व्यवस्था गरिएको छ । सुत्केरी भएपछि स्वास्थ्य चौकीमार्फत ५ सय रुपैयाँ बराबरको अण्डा, गेडागुडी, हरियो सागपात र पहेंलो फलफूल दिने गरिएको छ । सुत्केरीलाई घरमै गएर स्वास्थ्य सेवा दिने गरिएको उनले बताए । उनका अनुसार गर्भावस्थामा चार पटक स्वास्थ्य जाँच गर्दा पटकैपिच्छे २ सय रुपैयाँका दरले ८ सय रुपैयाँ प्रोत्साहन खर्च दिने गरिएको छ । संघीय सरकारमार्फत यातायात खर्च सुत्केरीलाई २ हजार रुपैयाँ दिने गरिएको उनले बताए ।

स्वास्थ्य शाखाका अनुसार मर्स्याङ्दी गाउँपालिकामा हाल १ सय २० को हाराहारीमा गर्भवती महिला छन् । १५ जना चालु आर्थिक वर्षमा सुत्केरी भइसकेका छन् । सेवासुविधा दिन थालेपछि गर्भवती महिला बार्थिङ सेन्टर वा स्वास्थ्य संस्थामा पुगेर सुत्केरी हुने गरेको स्वास्थ्य शाखा प्रमुख घलेले बताए । ‘बर्थिङ सेन्टर सञ्चालनपछि गर्भवती महिला सुत्केरी हुन पायक पेर्ने सेन्टरमा जाने गरेका छन् । त्यहाँ सुत्केरी हुन नसक्ने अवस्थामा बेंसीसहर जाने गरेका छन्,’ उनले भने, ‘अब सुत्केरी हुन जाने र सुत्केरीपछि फर्किनेलाई गाउँपालिकाले यातायात सेवा दिन थालेको हो ।’

प्रकाशित : मंसिर २०, २०७८ ११:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?