कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

मासिने खतरामा लोपोन्मुख छन्त्याल भाषा

रासस

म्याग्दी — म्याग्दीमा बसोबास गर्ने अल्पसङ्ख्यक छन्त्याल समुदायको पुर्ख्यौली छन्त्याल भाषा संकटमा परेको भन्दै सरोकारवाला पक्षबाट चिन्ता व्यक्त गरिएको छ । छन्त्याल समुदायका युवा पुस्ताले आफ्नो मौलिक भाषा सिक्न र संरक्षण गर्न नसक्दा भाषा नै नासिने खतरा बढेको हो ।

बोलीचालीमा अत्यन्त कम प्रयोग गरिए पनि लिपि नपाइएको हुँदा छन्त्याल खाम भाषा पुस्तान्तरण हुन नसकेपछि लोप हुने अवस्थामा पुगेको रघुगंगा गाउँपालिका– ६ ठाडाखानीका ८३ वर्षीय युवबहादुर छन्त्यालले बताए । उनका अनुसार बूढापाकाले बोले पनि नयाँ पुस्ताका बालबालिका र युवायुवतीले आफ्नो भाषा बोल्न छाडेका छन् ।

लिपि र शब्दकोश प्राप्त गर्न नसक्नु र आधुनिकताको प्रभावका कारण नयाँ पुस्ताले आफ्नो मातृभाषा प्रयोग गर्न संकोच मान्नु तथा बसाइँसराइ जस्ता कारणले भाषा लोप भएको उनको भनाइ छ ।

'भाषा जानेका र बोल्न रुचि राख्ने बूढापाका मेटिँदै गए, युवापुस्ता आफ्नो पुर्ख्यौली पेसा छाडेर विदेश वा सहरमा बसाइँ सरे, उनीहरूले आफ्नो भाषा बोल्न छाडे,' छन्त्यालको बाहुल्यता रहेको गुर्जाका अगुवा कमल छन्त्यालले भने, 'लिपि र शब्दकोशसमेत नभएकाले पुराना पुस्तासँगै छन्त्याल भाषा पनि नासिने खतरा छ ।'

नेपाल छन्त्याल संघ म्याग्दीका अनुसार २०६८ को जनगणना अनुसार नेपालका १९ जिल्लामा ११ हजार ८१० छन्त्याल समुदायको जनसङ्ख्या छ । छन्त्याल समुदाय सबैभन्दा बढी म्याग्दी र बागलुङमा छन् । कुल छन्त्याल समुदायको सङ्ख्या मध्यम्याग्दीमा ७०.२ र बागलुङमा ३५.४१ प्रतिशत छ ।

नेपाल छन्त्याल संघ म्याग्दीका सचिव मन छन्त्यालका अनुसार विभिन्न जातजातिको मिश्रित बसोबास, सहर तथा विदेशप्रतिको मोह, विदेशी भाषा सिक्ने आकर्षण र विद्यालयमा अङ्ग्रेजी तथा नेपाली भाषामा मात्र पठनपाठन हुने जस्ता कारणले छन्त्याल भाषा लोप हुन लागेको हो ।

म्याग्दीको धवलागिरि गाउँपालिकाको गुर्जा, मल्कवाङ, मच्छिम, रघुगंगाको ठाडाखानी र कुइनेमंगलेमा छन्त्याल समुदायको बसोबास रहेको छ । जनगणनाको पछिल्लो प्रतिवेदनअनुसार कूल जनसङ्ख्यामध्ये ३६.२७ प्रतिशतले आफ्नो मातृभाषा बोल्ने गर्छन् । छन्त्याल समुदायको बसोबास भएको बस्तीका विद्यालयमा मातृभाषामा पठनपाठन गर्ने तयारी गरेको रघुगंगाका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिए ।

प्रकाशित : मंसिर १९, २०७८ १४:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?