‘जस्तापाताले जाडो छेक्ला र !’

बाढी पीडितहरुलाई साढे ५ महिनापछि बल्ल दुई लाख रूपैयाँ राहत
आश गुरुङ

लमजुङ — मनाङको तल्लो क्षेत्र नासों गाउँपालिका–१ सिरानतालमा ७ घर थियो । जेठ ३१ को रातिदेखि परेको भीषण वर्षाले मर्स्याङ्दीमा बाढी आउँदा सबै बगायो । स्थानीय राजन गुरुङका अनुसार अहिले कुन ठाउँमा कुन घर थियो भनेर अड्कल गर्न पनि सकिँदैन । जसोतसो मान्छे जोगिए पनि घरबारी सबै बगायो । घर भएको ठाउँ पूरै बगर बनेको छ । पहिलेको ठाउँमा अब अर्को घर बनाउन पनि मिल्दैन ।

‘जस्तापाताले जाडो छेक्ला र !’

भीरपाखाको ओडार र छेलमा बसेर रात कटाएका स्थानीय अहिले कोही तालबजारको छिमेकीको छन् । कोही बेंसीसहर आफन्तकोमा छन् । सिरानतालकै दूधजंग गुरुङको परिवार तालबजारस्थित कविन्द्र गुरुङको घरमा एउटा कोठा भाडामा लिएर बसेको छ । बाढीले डुबाएको कविन्द्रको घरका कोठाबाट बालुवा झिकेर पत्नी र छोरीसहित ३ जनाको परिवार एउटा कोठामा बसेको छ । तालडाडामा पालमुनी बस्दै आएको परिवार चिसोले सताउन थालेपछि ३ साताअघि मात्रै कविन्द्रको घरमा आएका हुन् । ‘दाताले दिएको पालमुनि बसियो । चिसोले सकिएन । तप्पतप्प चिसो चुहिएपछि डेरा खोजेर बस्यौं,’ उनले भने ।

उनका अनुसार हिउँद अगाडि जस्ताको अस्थायी टहरा बनाउने योजना छ । यसका लागि गण्डकी प्रदेश सरकारले २ लाख रुपैयाँ दिएको छ । ‘हामी घरबारविहीन भएको साढे ५ महिना भयो । प्रदेश सरकारले चेक दिएको छ । अब घर टहरा बनाउनुपर्ला,’ उनले भने, ‘चिसो छल्न आफन्तको घरमा कोठा लियौं । २ लाखले घर बन्दैन । टिन (जस्तापाता) ले बार्ने र टिनैको छानो हाल्ने हो । टिनले पनि के जाडो छेलिएरला र खै ?’

तालबजारकै खिमबहादुर गुरुङको घरमा कोठा लिएर बसेका भीमबहादुर गुरुङले पनि २ लाख रुपैयाँको चेक बुझे । पत्नी, २ छोरी र १ छोरा अहिले कोठामा बसेका छन् । मर्स्याङ्दीले घर सबै पुरिएपछि उनी तालडाँडामा विस्थापित भएका थिए । ‘तालडाँडामै टेन्ट लगाएर बसियो । घर र खाद्यान्न सबै बाढीले डुबायो । दाताले दिएको राहत पनि सकियो,’ उनले भने, ‘राहतको पैसाले सानोतिनो टहरा बनाउनुपर्ला । घर बनाउन पछि केन्द्र सरकारले दिने भनेको छ ।’

नासों–१ का अध्यक्ष झलकबहादुर गुरुङले पूर्ण क्षतिको सूचीमा परेको तालगाउका २२ घरधुरीलाई प्रदेश अर्थमन्त्री रामजी बरालले धारापानीमा आएर २/२ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका थिए । ‘उहाँले राहत भनेर दिनुभएको थियो । घर बनाउनका लागि पैसा पछि आउँछ भन्नुभएको छ,’ उनले भने, ‘केन्द्र सरकारले दिने हो कि, प्रदेशले दिने हो, त्यो त उहाँले भन्नुभएन ।’

अध्यक्ष चन्द्र घलेले गाउँपालिकाभित्र पूर्ण क्षति पुगेका लाभग्राहीको संख्या ४४ जना रहेकोमा ३९ जनाले २ लाख रुपैयाँका दरले राहत पाएको बताए । ५ जनाको भने केही कागजात अपुग भएको भन्दै नपाएको उनले बताए । उनका अनुसार क्षति भएको ठाउँमा टालटुल गर्न, अस्थायी टहरा बनाउन भन्दै उक्त रकम दिएको बताए । ‘जनता घरबारविहीन भएको साढे ५ महिना भयो । जनता भोकै छन् कि, नांगै छन् कि भनेर वास्ता नगर्ने भनेर गुनासो गरें । नियम, प्रक्रियाले गर्दा ढिलो भयो भन्ने कुरा मन्त्रीबाट आयो,’ उनले भने । उनका अनुसार केन्द्र सरकारले ५ लाख रुपैयाँ दिने भन्ने कुरा छ । तर, कसरी दिने भनेर प्रस्ट छैन । ‘केन्द्रले ६० प्रतिशत, प्रदेशले ३० प्रतिशत र स्थानीय तहले १० प्रतिशत रकम पुनर्निर्माणका लागि दिने भन्ने थियो,’ उनले भने, ‘यो २ लाख के भनेर दिएको हो, प्रस्ट छैन । प्रदेशले फेरि दिन्छ वा दिँदैन, त्यो पनि प्रस्ट छैन ।’

प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यका अनुसार प्रदेश सरकारबाट ७४ लाभग्राहीका लागि १ करोड ४८ लाख रुपैयाँ बजेट आएको थियो । प्रदेश विपद् व्यवस्थापन नियमावलीअनुसार १ लाख रुपैयाँ र हिमाली जिल्लाको हकमा सरकारले विशेष प्रभावित क्षेत्र घोषणा गरेकाले थप १ लाख गरी २ लाख रुपैयाँ आएको उनले बताए । उनका अनुसार यो रकम निजी आवास पुनर्निर्माणका लागि हो । संघ सरकार र स्थानीय सरकारको रकम आउन बाँकी रहेको उनले बताए । ‘बाढीपहिरो पीडितको पुनर्स्थापना तथा घर पुनर्निर्माणको लागि हो । प्रदेश सरकारबाट अर्को रकम आउँछ या आउँदैन, यसै भन्न सकिँदैन,’ उनले भने । मन्त्री बरालले भने विशेष प्याकेजका रूपमा बाढीपीडितलाई उक्त रकम प्रदान गरिएको बताएका थिए ।

नासों गाउँपालिका १ का अध्यक्ष झलकबहादुर गुरुङका अनुसार तालगाउँको सबै घर डुबानमा परेका छन् । सिरानतालको ७ घरसहित करिब ६० वटा घर डुबानमा परेको उनले बताए । नासों गाउँपालिकाका वरिष्ठ कार्यक्रम अधिकृत गोविन्दबहादुर रानाभाटका अनुसार गाउँपालिकाभित्रका ८२ घरधुरीमा बाढीपहिरोले क्षति पुर्‍याएको छ । यसमा पूर्ण क्षति भएका ४४ घर छन् । आंशिक क्षति तर उच्च जोखिमका १५ घर छन् । आंशिक क्षति न्यून जोखिमका २३ घर छन् । यी घर मर्मत गरेर बस्न सकिन्छ । उनका अनुसार वडा १ को तालमा मात्रै ५८ घरमा क्षति पुगेकोमा २३ घरमा पूर्ण क्षति छ । १५ घर आंशिक क्षति तर, उच्च जोखिममा छन् । १३ घर आंशिक क्षति छन् । ८ घरमा सामान्य क्षति छ । तालका १५ घरपरिवार अरूकोमा आश्रय लिएर बसेका छन् । ६ परिवार अन्यत्रै सरेका छन् । नासों–३ धारापानीका १४ परिवार आफन्तकोमा आश्रय लिएका छन् । पूर्ण क्षति नपुगे पनि आफ्नो घरमै बस्न नसकेका, लामो समयसम्म अन्यत्रै बस्न बाध्य, आफ्नो घरमा बस्दा पनि मर्मत गरी बस्नुपर्नेलाई नसमेटेको भन्दै स्थानीयले गुनासो गरेका छन् ।

प्रकाशित : मंसिर १९, २०७८ ११:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?