पर्वतमा सवारी दुर्घटना : एकको मृत्यु, २३ जना घाइते- गण्डकी - कान्तिपुर समाचार

पर्वतमा सवारी दुर्घटना : एकको मृत्यु, २३ जना घाइते

अगन्धर तिवारी

पर्वत — मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वतको कुश्मा नगरपालिका–८ परादीमा शनिबार बिहान बस दुर्घटना हुँदा एक किशोरको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मध्यपहाडी लोकमार्गमै कार्यरत सडक मजदुर रहेको पर्वत प्रहरीले जनाएको छ ।

विरगञ्जबाट बागलुङतर्फ आउँदै गरेको ग २ ख ००९८ नम्बरको यात्रुबाहक बसले सडक मजदुर लिएर पातीचौरबाट दोबिल्ला आउँदै गरेको को १ च ६४२७ नम्बरको ट्याक्टरलाई बिहान ७ बजे ठक्कर दिएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका–२ का १८ वर्षीय विशाल लामिछाने रहेको पर्वत प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले बताए । उनका अनुसार तीव्र गतिमा गुडेको रात्रीबसले सोही दिशातर्फ गुडिरहेको ट्याक्टरलाई ठक्कर दिएको थियो ।

निर्माणाधीन मध्यपहाडी सडकको कामका लागि २४ जना मजदुर लिएर ट्याक्टर दोबिल्ला आउँदै गरेको थियो । प्रहरीका अनुसार गम्भीर घाइते पाँच जना मजदुरलाई उपचारका लागि पोखरा पठाइएको छ । अन्य १८ जनाको पर्वत अस्पतालमा उपचार भइरहेको प्रनाउ बुढाथोकीले कान्तिपुरलाई बताए ।

बस तीव्र गतिमा रहेकोले सोही दिशामा रहेको ट्याक्टरलाई पछाडिबाट ठक्कर दिएको हुन सक्ने देखिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


प्रकाशित : मंसिर १८, २०७८ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्

उत्तर प्रदेशकी राज्यपाल लुम्बिनीमा

कान्तिपुर संवाददाता

लुम्बिनी — भारतको उत्तर प्रदेशकी राज्यपाल आनन्दी बेन पटेलले लुम्बिनीको भ्रमण गरेकी छन् । उनले शुक्रबार मायादेवी मन्दिरको गर्भगृह र अशोक स्तम्भमा पूजाआजा गरिन् । ६ घण्टा लुम्बिनीमा बिताइन् ।

गुजरात राज्यकी पूर्वमुख्यमन्त्री समेत रहेकी उनले लुम्बिनीमा रहेको थाई, म्यानमार, कम्बोडिया र जापानलगायतका मुलुकद्वारा निर्मित विहार, गुम्बा मन्दिरको पनि अवलोकन गरेकी थिइन् ।

उनलाई लुम्बिनी विकास कोषका सदस्य राजेश ज्ञवालीले स्वागत गरे । लुम्बिनी विकास गुरुयोजनाबारे कोषका सूचना अधिकृत हरिध्वज राईले जानकारी दिएका थिए ।

प्रकाशित : मंसिर १८, २०७८ ०८:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×