कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेस गण्डकीमा संस्थापन र इतर पक्षको प्यानल 

पोखरा — कांग्रेस गण्डकी प्रदेश अधिवेशनमा संस्थापन देउवा पक्ष र इतरको पौडेल पक्षधर प्यानल बनाएर निर्वाचनमा होमिएका छन् । प्रदेश निर्वाचन शनिबार हुँदैछ । 

कांग्रेस गण्डकीमा संस्थापन र इतर पक्षको प्यानल 

पार्टी सभापति शेरबहादुर देउवा समूहले कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वसांसद, संविधानसभा सदस्य पर्वतका अर्जुनप्रसाद जोशीलाई सभापतिमा अघि सारेको छ । यसैगरी वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट कास्कीका शुक्रराज शर्मालाई सभापतिमा उठाइएको छ । पौडेल समूहबाट सभापतिमा आकांक्षी बढी भएपछि पार्टी महामन्त्री सशांक कोइराला समेतको छलफलपछि शर्मालाई एकल उम्मेदवार बनाइएको हो ।

यसैगरी दुई उपसभापतिका लागि संस्थापन पक्षले मेखलाल श्रेष्ठ र नेत्रबहादुर महत र पौडेल समूहले हरिप्रसाद श्रेष्ठ र कल्पना तिवारीलाई उम्मेदवार बनाएका छन् । त्यस्तै महामन्त्रीमा संस्थापनबाट कुमार खड्का र ईश्वर पाण्डे तथा पौडेल पक्षबाट विष्णुप्रसाद लामिछाने र किरणबाबु श्रेष्ठलाई अघि सारिएको छ ।

त्यस्तै २ सहमहामन्त्रीमा संस्थापन पक्षबाट ओमकला गौतम, राजनराज पन्त र झुलबहादुर राना तथा पौडेल पक्षबाट कोपिला रानाभाट, रामचन्द्र जोशी र रमेशकुमार पाण्डे उम्मेदवार भएका छन् । सहमहामन्त्रीमा युवराज बस्ताकोटी र गणेश सापकोटाले पनि उम्मेदवारी दिएका छन् ।

प्रत्यक्ष जिल्लाबाट महिला सदस्य ११ पदका लागि १८ जनाको उम्मेदवारी परेको छ । प्रत्यक्ष खुला जिल्लाबाट ११ सदस्यका लागि १९ जना, प्रदेशसभाको कुल निर्वाचन क्षेत्रबाट ४ महिलासहित १२ जना प्रत्यक्ष सदस्यका लागि २६ को उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।

यसैगरी खस आर्य महिला ४ सदस्यका लागि ९ र र खुलातर्फ पनि ४ सदस्यका लागि १५ जनाले उम्मेदवारी दिएका छन् । आदिवासी जनजाति सदस्यतर्फ महिला ५ र खुला ५ मा १०/१० जना, मधेसी एक सदस्यका लागि २ जना, दलित महिला र खुला २/२ सदस्यका लागि ३ र ४ जनाको उम्मेदवारी परेको निर्वाचन संयोजक वरिष्ठ अधिवक्ता कृष्णबहादुर थापाले बताए । त्यस्तै थारु १ सदस्यमा दुईजना, मुस्लिम एक सदस्यका लागि २ जना र अपांग र अल्पसंख्यक १ सदस्यका लागि ५ जनाको उम्मेदवारी परेको छ ।


प्रकाशित : मंसिर १७, २०७८ १७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?