२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

विरोधपछि काममा फर्किए ठेकेदार

ठेकेदारले काम अलपत्र छोडेपछि स्थानीयले विरोध जनाएका थिए
घनश्याम खड्का

म्याग्दी — स्थानीयले ठेकेदारका फोटो सडकमा टाँगेर विरोध थालेपछि काम अलपत्र छोडेर हिँडेका निर्माण व्यवसायी काममा फर्कन थालेका छन् । सदरमुकामदेखि पश्चिम जाने बेनी–दरवाङ सडक खण्डको कालोपत्र जिम्मा पाएको लामा–समानन्तर जेभी ८ महिनापछि काममा फर्केको हो ।

लामो समयदेखि काम अलपत्र पारेपछि स्थानीयले गत भदौमा मुख्य ठेकेदार संघीय सांसद जिपछिरिङ लामाको फोटो सडकमा विभिन्न स्थानमा झुन्डाएर विरोध गरेका थिए ।

कम्पनीले चौथो पटकको थप म्याद २०७७ चैत मसान्त पनि गुजारेको थियो । ‘बेनी–तातोपानीसम्म धमाधम रिटेनिङवाल, ग्याभिन भर्ने, नाली काट्ने, कर्ल्भट बनाउने र नालीको काम गरिरहेका छौं,’ ठेकदार कम्पनीका ब्यवस्थापक राकेश सदाले भने, ‘चुत्रेनी क्षेत्रमा क्रसर राखेर गिटी सडकमा बिछ्याउने तयारी थालेका छौं । तापक्रम बढेपछि चैतदेखि कालोपत्र सुरु गर्छौ ।’

साविक सडक डिभिजन कार्यालय बागलुङले ठेक्का लगाएको योजना २०७५ पुसमा गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण भएको हो । जिल्लाका सडकको नियमन र सुपरीवेक्षण गर्ने काम पूर्वाधार विकास कार्यालयले गर्दै आएको छ । पूर्वाधार विकास कार्यालय बेनीका अनुसार असार मसान्तसम्म करिब ६० प्रतिशत प्रगति गरेको छ । तर बेनी–दरवाङ सडकअन्तर्गतकै दोस्रो खण्ड लाम्पाटा–दरवाङ ८ किमि सडक कालोपत्र गर्न ठेक्का पाएको बिरुवा–क्याराभान जेभीले भने अझै काममा फर्केको छैन । सडक कालोपत्र सक्नुपर्ने म्याद गुज्रेको पनि १८ महिना पुगेको छ ।

‘धेरै प्रयासपछि अलपत्र परेका बेनी–दरवाङ सडकको पहिलो खण्ड, गलेश्वर–पिप्ले–भगवती सकड, बेनी–बगरफाँट सडकका ठेकदारलाई काममा फर्काएका छौं,’ पूर्वाधार कार्यालय प्रमुख सन्तोष अर्यालले भने, ‘बेनी–दरवाङदोस्रो खण्डका ठेकदार फर्काउँदै छौं । केही ठेकदारलाई पेनाल्टी तिराउने भएका छौं ।’

त्यसैगरी रघुगंगा पालिकाको पिप्ले–भगवती–वेगसम्मको सडक सडक ठेकेदार एपेक्स–खड्का कृष्ण जेभी पनि छोडेर गएको ६ महिनापछि काममा फर्केको छ । इन्जिनियर रामु कँडेलले भने, ‘गतवर्ष दुःख गरी बनाएको सबै सडक पहिरोले बगाएकोले केही काम नगरेजस्तो देखिए पनि बाँकी काम तीव्र भइरहेकाले चैत महिनासम्म पिच गर्ने योजना छ ।’

प्रकाशित : मंसिर १७, २०७८ १३:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?