जाडो छल्न गोरखाबाट लुम्बिनी

हरिराम उप्रेती

गोरखा — गुम्बामा अध्ययन गर्ने ३० विद्यार्थी लिएर सोनाम लामा कात्तिक दोस्रो साता लुम्बिनी झरे । अत्याधिक चिसो हुने अबको चार महिना उत्तरी गोरखाको हिनाङ गुम्बाका विद्यार्थी लुम्बिनीमै रहने छन् । 

जाडो छल्न गोरखाबाट लुम्बिनी

हिनाङबाट ३ दिन पैदलपछि गोरखा सदरमुकाम आएर चौथो दिन लुम्बिनी पुगेको सोनामले सुनाए । ‘चिसो बढ्यो, अब हिउँ पर्न थाल्छ, चिसोले बच्चा बिरामी पर्छन्, लुम्बिनीमा अब लगभग ४ महिना बस्छौं,’ उनले भने, ‘लेकका विद्यार्थी गर्मी चढेपछि तातो ठाउँमा बस्न सक्दैनन्, फेरि गर्मी लागेपछि हिनाङ उक्लन्छौँ ।’

विगत १५ वर्षयता उक्त गुम्बामा अध्ययन गर्ने बालबालिकाको वार्षिकी यसरी नै चलेको छ । गुम्बामा बालबालिकालाई आवासीय सुविधा उपलब्ध गराइएको छ । ‘गुम्बामा सबै विषय पढाउँछौँ, बौद्ध धम्रगन्धका विषय पनि हुन्छ, सँगै आधुनिक शिक्षा पनि दिन्छौं, गणित, विज्ञान, अंग्रेजी सबै विषयको पढाइ हुन्छ,’ उनले भने ।

चिसो बढ्यो । हिमाली काखमा रहेका अधिकांश विद्यालय अब हिउँले ढाक्छ । विद्यार्थी कक्षाकोठामा बस्न सक्दैनन् । चुमनुव्री गाउँपालिका–२ स्यालाका कक्षा ६ मा अध्ययन गर्ने दावा लामा, कापी, किताब, कपडासहित दुई दिनको पैदलयात्रा गरेर बेसी झरे । केही विद्यार्थी उत्तरी क्षेत्र पुगेको खच्चडलाई कपडा तथा किताब बोकाएर कोखेटार झरे । स्यालास्थित ल्हो माध्यमिक विद्यालयले २०७० यता जाडो छल्न घुम्ती विद्यालय सञ्चालन गर्दै आएको छ । जाडोको ६ महिना स्याला र गर्मीको ६ महिना २ दिन पैदल यात्राको दूरीमा रहेको आरुघाट गाउँपालिका–४ थुमिस्थित ओखेटारबाट कक्षा सञ्चालनका लागि भौतिक संरचना तयार पारिएको छ । ल्हो माविका २ सय १० विद्यार्थी जाडो छल्न कात्तिक तेस्रो सातासम्म ओखेटार झरे । ‘जाडोमा स्याला, गर्मीमा ओखेटारको विद्यालयमा पढ्छौँ,’ दावाले भने ।

जाडो बढेसँगै यो वर्ष कात्तिक २२ देखि ओखेटारको विद्यालय भवनबाट कक्षा सुरु भएको शिक्षक सञ्जय ढकालले बताए । ‘अब वार्षिक परीक्षा सकेर नयाँ शैक्षिक शत्र सुरु भएपछि बल्ल लेक उक्लन्छौँ,’ उनले भने । स्यालामा हिमाली आवासीय छात्रावासअन्तर्गत ९८ विद्यार्थीले आवासीय सुविधा पाएका छन् । कोटामा परेका विद्यार्थीले मासिक ४ हजार रुपैयाँ पाउँछन् । बाँकी विद्यार्थीलाई आवासीय सुविधा तथा कापी कलमलगायत व्यवस्थापनको ल्होका सोनाम दोर्जे लामाले गर्दै आएका छन् ।

उक्त विद्यालयमा छेकम्पारबाहेक चुमनुव्रीका ६ वटा वडाका विद्यार्थी अध्ययन गर्ने ढकालले बताए । ‘स्याला मनास्लु हिमालको नजिकै छ, अब हिउँ पर्न थालिसक्यो, बस्न सकिँदैन,’ उनले भने, ‘तल नझरी सुखै छैन, कोष पनि भ्याउन पर्‍यो ।’

घुम्ती विद्यालय सञ्चालनका लागि ओखेटार र स्याला दुवै ठाउँमा सुविधासम्पन्न विद्यालय भवन रहेको उनले सुनाए । दुर्गमका बालबालिकालाई विद्यालयतर्फ आकर्षित गर्नसाथै शैक्षिक गुणस्तर सुधारका लागि घुम्ती विद्यालय सञ्चालनमा सघाएको उनले बताए । यसअघि ९ कक्षासम्म रहेको उक्त विद्यालयले यस वर्षबाट कक्षा १० को पठनपाठन थालेको छ । आवासीय सुविधा भएपछि विद्यार्थीको शैक्षिक गुणस्तरको पनि निरन्तर निगरानीमा सहयोग पुगेको उनले सुनाए ।

चुमनुव्रीमा बालकक्षासहित २२ विद्यालय छन् । उत्तरी गोरखा अन्तरगत छेकम्पार, चुम्चेत, सामागाँउ, प्रोक, ल्हो, बिहिका विद्यालयमा चिसोको समयमा पठनपाठन प्रभावित हुने गर्छ । जाडोले विद्यार्थी कठ्यांग्रिएर कक्षामा बस्न नसक्ने शिक्षक बताउँछन् । हिमाल नजिकैका केही विद्यालयमा चिसो बढेसँगै पठनपाठन प्रभावित हुने गरेको चुमनुव्रीका शिक्षा शाखाप्रमुख बलराम पाठकले बताए ।

‘धेरै चिसो बढिसक्यो, हिउँ पर्‍यो भने त कक्षा चलाउनै सकिँदैन,’ उनले भने, ‘मौसम हेरेर कक्षा सञ्चालन गर्नुपर्छ, हिउँ परेर चिसो बढेपछि बन्द गर्ने, दुई/चार दिन पढाउने, घाम देखे फेरि खोल्ने गर्दै पढाउनुपर्छ ।’ हिमाल नजिकै रहेका गाउँको छेकमस्थित छुलेनीले प्राथमिक विद्यालय र साम्दोको साम्दो प्राविमा चिसो बढ्दै जाँदा पठनपाठन बढी प्रभावित हुने गरेको उनले बताए ।

प्रकाशित : मंसिर १७, २०७८ १३:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?