कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

बस्ती नै गुठीको जग्गामा

१ हजार ३ सय ३० घरधुरीले गुठीको जग्गा व्यक्तिको नाउँमा उपभोग तथा खरिदबिक्री गरिरहेका छन्
प्रकाश बराल

बागलुङ — १ रुपैयाँ तिरो तिरेर बागलुङ नगरपालिका–३ का गमे सार्कीले २०३५ सालमा १० आना जग्गा नापी गराएका थिए । उनको जग्गाधनी पुर्जामा कालीका गुठी लेखिएको छ । गुठीमै जोडेर गमे सार्कीको नाम पनि चढेको छ । 

बस्ती नै गुठीको जग्गामा

ओमबहादुर खड्काले ५ रुपैयाँ तिरेर ५ कित्ता जग्गा आफ्नो नाउँमा बनाएको मालपोत कार्यालयमा लिखत छ । २०३५ सालमा तत्कालीन मुखिया तेजेन्द्रबहादुर खड्काको पालादेखि गुठीको जग्गा व्यक्तिको नाउँमा दर्ता भएको रेकर्ड भेटिएको मालपोत कार्यालयका कर्मचारीले बताए । काजीमान खड्काको घर र जग्गाधनी पुर्जामा पनि कालीका गुठी लेखिएको छ । त्यसैमा जोडेर धनीको नाम लेख्ने चलन बसेको छ ।

पुर्जाको देब्रे किनारामा गुठीलाई तिरो तिरेर लालपुर्जा बनाइएको उल्लेख छ । २०५० जेठ ३ को अर्को लिखतमा उक्त जग्गा ५६ रुपैयाँ कर तिरेर लक्ष्मी बानियाँको नाउँमा नामसारी भएको देखिन्छ । स्थानीय नेत्रबहादुर खड्काको लालपुर्जामा पनि सोही प्रकृतिको व्यहोरा छ । उनको चारवटा कित्तालाई आवादी भनेर लेखिएको छ । उनीहरू प्रतिनिधि पात्रमात्रै हुन् ।

बजारको सिंगो बस्तीका सयौं घर र जग्गाधनी पुर्जामा कालीका गुठी नै उल्लेख छ । यहाँको बसपार्क, नागरोड, पेन्सन क्याम्पलगायत क्षेत्रमा अहिलेसम्म कालीका गुठीकै पुर्जामा सयौं घर बनेका छन् । यो सिंगो बस्तीलाई अहिले पनि गुठी भनिन्छ । मोठ फाँटका खरिदार नारायण पौडेलका अनुसार यहाँका १ हजार ३ सय ३० घरधुरीले गुठीको जग्गा व्यक्तिको नाउँमा उपभोग गरिरहेका छन् । उनीहरूले ती जग्गा लाखौं मूल्यमा खरिद बिक्रीसमेत गरेका छन् ।

कालीका भगवती गुठीको जग्गा भएकोले यो बस्तीलाई गुठी भनिएको मालपोत कार्यालय बागलुङमा ४२ वर्ष काम गरेर निवृत्त भएका नासु भूपेन्द्र केसीले बताए । ‘हामीले काम गरेकै समयमा गुठीको जग्गामा बसोबास गरेकाले तिरो तिरे भने व्यक्तिका नाउँमा दर्ता गरिदिनु भन्ने लालमोहर आयो, त्यसपछि जग्गा पास हुन थालेको हो,’ उनले भने, ‘उक्त लालमोहर मालपोतमा अझै कतै भेटिन सक्छ ।’ जग्गाधनीले प्रमाणका लागि लगेको पनि हुन सक्ने उनले बताए ।

खरिदार पौडेलले आफ्नो शाखामा उक्त कागजात नभेटेको बताए । ‘कागजात छ भनेरै गुठीको जग्गा किनबेच भइरहेको छ, तर हामीले कागजात भेटेका छैनौं’ उनले भने, ‘बेलाबेला बैंकले पनि सोधनी गर्छन्, तर कागजात दिन सकेका छैनौं ।’ बैंकले कारोबार रोक्का, फुकुवा गर्दा कुन कानुनमा टेकेर जग्गा पास गराउनुभएको भनेर सोधे पनि मालपोतमा ठोस उत्तर नभएको उनले बताए । मालपोत अधिकृतबाट हालसालै निवृत्त विष्णुप्रसाद शर्माले पनि कागजात थियो रे भनेकै भरमा किनबेच भएको बताए । ‘२०३५ देखिनै किनबेच भएको रहेछ, त्यसैले हामीले पनि निरन्तरता दियौं’ उनले भने, ‘तर गुठीको जग्गा बेचबिखन नहुनुपर्ने हो ।’ कालीका गुठीकै बानपा–४ कुडुलेमा रहेको केही जग्गा भने अहिलेसम्म किनबेच भएको छैन ।

मालपोतमै झन्डै ३० वर्षदेखि काम गरेका लेखा सहायक विषमान शाक्यले २०३९ सम्म जग्गापास गर्दा ३ वटा लिखत बनाएर एकप्रति गुठी संस्थानको केन्द्रीय कार्यालयमा पठाउने गरेको बताए । ‘२०४० पछि दुई वटा लिखत मात्रै बनेका छन्, एक प्रति कार्यालयमा राखिन्छ, एक प्रति जग्गाधनीले लैजान्छन्’ उनले भने । गुठीमा पठाउन छाडिएको र उताबाट पनि कुनै ताकेता नभएकाले लालमोहरकै कारण जग्गा किनबेच फुकुवा भएको अनुमान गरिएको उनले बताए ।

गुठीको जग्गा फुकुवा हुन मन्त्रिपरिषद्कै निर्णय हुनुपर्ने तर परम्परागत रूपमा काम भइरहेको मालपोत अधिकृत देवेन्द्र थापा मगरले बताए । ‘म हालसालै आएको हुँ, पुरानो कुरा थाहा छैन, चलन जे छ त्यसैमा काम गरिएको छ’ उनले भने । कालीका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले गुठीको नाउँमा अहिले १ सय ९० रोपनी जग्गा मात्रै रहेको बताए ।

‘पहिला कति थियो भन्ने यकिन तथ्यांक छैन, तर सयौं रोपनी जमिन रैकरमा गइसकेको छ,’ गुठीका निर्वतमान अध्यक्ष राजु खड्काले भने, ‘पुरानो जिविस बसेको जग्गादेखि बजारको आधा खण्ड गुठी थियो भन्ने बुढापाकाबाट जानेका हौं ।’ गुठीकै जग्गामा क्रमशः अन्य संरचना, सडक बन्दै गएपछि धेरै सम्पत्ति क्षति भएको उनले बताए । गुठीले गुरुयोजना बनाएर आफ्नो जग्गा संरक्षण गर्ने र बाँकी जग्गा थप क्षति हुन नदिने लक्ष्य राखेको छ । पूर्वमा कालीगण्डकी, पश्चिममा काठेखोला, दक्षिणमा गलुवा र उत्तरमा बाङगेचउर चार किल्लामा कालीका मन्दिर रहेको भन्ने लिखत कालिका गुठीमा भेटिएकाले गुठीको जग्गा सयौं रोपनी अतिक्रमणमा परेको उनले बताए । ठोस प्रमाणबिनै धमाधम पास हुने भएमा गुठीको जग्गा छिट्टै सकिने उनको चिन्ता छ ।

जिल्ला कारागार, तत्कालिन अञ्चल प्रहरी, नेपाल प्रहरीको सशस्त्र प्रहरी तालिम केन्द्र रहेका जग्गासमेत गुठीकै भएको उल्लेख छ । ‘मैले धेरै जग्गा गुठीमा फर्काउन बहस पनि गरेको छु, तर सार्वजनिक स्थानको रूपमा रहेको फिर्ता भए, भोगचलन भएर खरिद बिक्रीमा गइसकेको जग्गा फिर्ता ल्याउन सकिंदैन’ अधिवक्ता काजी गाउँले श्रेष्ठले भने, ‘सार्वजनिक रूपमा देखिएका जग्गा बेलैमा संरक्षण गर्नुपर्छ ।’ राजगुठीका मोहिले जग्गा पाउने आदेश वा लालमोहरबाट यो क्रम सुरु भएको उनले बताए । उनले कैयौं सार्वजनिक जग्गा गुठीमा फिर्ता ल्याउन बहस गरेका थिए ।

प्रकाशित : मंसिर १६, २०७८ १२:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?