मनाङ ङिस्याङ ५ का वडाध्यक्षसहित ४ जना पक्राउ

आश गुरुङ

लमजुङ — प्रहरीले लमजुङको बेंसीसहरबाट ७ सय ८ किलोग्राम धुपीसहित ४ जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरुको साथबाट ३ सय ग्राम गुच्छी च्याउ पनि बरामद गरेको छ । उनीहरुको साथबाट कुनै पनि पुर्जी वा संकलनका लागि कागजपत्र फेला नपरेको प्रहरीले जनाएको छ ।

मनाङ ङिस्याङ ५ का वडाध्यक्षसहित ४ जना पक्राउ

हिमाली जिल्ला मनाङबाट बेंसीसहर हुँदै काठमाडौं लाने तयारीको ‘अवैध’ धुपीलाई बेंसीसहरको मनाङे चौतारा क्षेत्रबाट पक्राउ गरिएको डीएसपी कृष्णबहादुर कार्कीले बताए ।

उनका अनुसार मंगलबार राति साढे ९ बजेतिर बेंसीसहर नगरपालिका ७, मनाङे चौतारा क्षेत्रबाट अवैध धुपीसहित ४ जनालाई पक्राउ गरिएको हो । ‘मनाङबाट काठमाडौं लानको लागि अवैध रुपमा धुपी ल्याउँदैछ भन्ने जानकारी आयो । हामीले शंकास्पद जिपमा खोजतलास गर्दै गयौं । २ वटा जिपमा धुपी ल्याएको रहेछ’ उनले भने ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं इन्स्पेक्टर जगदीश रेग्मीका अनुसार गोरखाको पालुङटार नगरपालिका १ का २७ वर्षीय सोमबहादुर नेपालीले चलाएर ल्याएको ग१ज ७२२१ नम्बरको बोलेर जिपबाट २६३ किलो धुपीको पात र गोरखाको बारपाक सुलीकोट गाउँपालिका १ का २८ वर्षीय तीर्थराज घलेले चलाएर ल्याएको ग१ज ७७३७ नम्बरको जिपबाट २ सय किलो धुपीको पात र ३ सय ग्राम गुच्छी च्याउ बरामद गरिएको छ ।

जिपमा सवार मनाङ ङिस्याङ गाउँपालिका ५ का ५२ वर्षीया छिरिङ साङमा घले र ५८ वर्षीय कर्मा छिरिङ गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ५८ वर्षीय कर्मा छिरिङ गुरुङ मनाङ ङिस्याङ गाउँपालिका ५, भ्राकास्थी तगत स्थानीय चुनावमा कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् ।

उनीहरुले ल्याएर बोराभित्र लुकाइछिपाई राखिएको अवस्थामा २ सय ४५ किलो धुपीको पात मनाङे चौतारास्थित तिलिचो होटलको बरन्डाबाट बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद अवैध धुपी र गुच्छी च्याउसहित मानिसलाई आवश्यक कारबाही तथा अनुसन्धानका लागि बुधबार डिभिजन वन कार्यालय, लमजुङमा पठाइएको प्रहरीले जनाएको छ । डिभिजनल वन अधिकृत पूणेश्वर सुवेदीले मनाङमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को क्षेत्रभित्रबाट ल्याएको देखिएकाले आवश्यक अनुसन्धान तथा कारबाहीका लागि एक्यापको प्रधान कार्यालय पोखरा पठाएको बताए । एक्याप प्रधान कार्यालय पोखराका सूचना अधिकारी अशोक सुवेदीले प्रहरीले बरामद गरेर पठाएको सामानको अनुसन्धान हुने बताए ।

प्रकाशित : मंसिर १५, २०७८ १८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?