कास्कीको ऐतिहासिक राजाको चौतारा पुनर्निर्माण

रासस

कास्की — शान्ति सम्झौता र सहअस्तित्वको केन्द्रका रुपमा परिचित पोखरा महानगरपालिका वडा नं ३२ स्थित ऐतिहासिक राजाको चौतारा पुनःनिर्माण गरी मंगलबार उद्घाटन गरिएको छ ।

इतिहासका आधारमा नेपालका बाइसेचौबीसे राजाका पालामा यही चौतारामा बसेर एकापसमा झैझगडा नगर्ने, शान्ति र सहअस्तित्व कायम गर्ने सम्झौता गरिएको थियो । स्थानीय पहल एवं नेपाली सेनाको सहयोगमा पुनःनिर्मित चौताराको प्रधानसेनापति प्रभुराम शर्माले उद्घाटन गरे । उनले चौतारालाई पर्यटन प्रवर्द्धन, शान्ति, सहअस्तित्वको प्रतीक र अन्तर्राष्ट्रिय सम्पदा सूचीमा राख्न आफू आतुर भएको बताए ।

ऐतिहासिकस्थलको विकासका लागि सहकार्य गर्न आफू सदैव तयार रहेको भन्दै उनले आगामी दिनमा पनि यस ऐतिहासिकस्थलको संरक्षण र प्रवर्द्धनमा सदैव लाग्ने प्रतिबद्धता व्यक्त गरे । उनले ऐतिहासिक राजाको चौतारालाई विश्वसामु चिनाउन सबै लाग्नुपर्ने धारणा राखे । संस्कृतिविद् एवं नेपाल राष्ट्रिय प्रज्ञापतिष्ठानका उपकुलपति डा जगमान गुरुङले गण्डकी प्रदेश र नेपालकै पर्यटकको मुख्य आकर्षको ऐतिहासिक स्थल राजाको चौतारा रहेको बताए ।

तत्कालीन यस क्षेत्रका बाह्र राजाले कास्कीको मालमूलमा भेटेर सम्मेलन गरी आपसमा लडाइँ नगर्ने, आआफ्नो साँध सिमानामा मिलेर बस्ने, आपसमा बिहेवारी गर्ने आदि शान्ति सम्झौताको सन्धि गरेको स्थललाई शान्ति र सहअस्तित्व प्रतिक मानी विकास निर्माणको काममा अघि बढ्न उनले आग्रह गरे । चौताराले शान्तिको सन्देश दिएको र भविष्यमा पनि दिने उनले उल्लेख गरे ।

ब्रह्म रुपा माध्यमिक विद्यालयको परिसरभित्र करिब एक रोपनी क्षेत्रमा फैलिएको राजाको चौतारा नामक चौतारालाई पुनःनिर्माण कार्य नेपाली सेनाको भगवती दल गण फूलबारी कास्कीले गरेको हो । चौतारामा ऐतिहासिक राजाको झल्को आउने श्रीपेच, स्तम्भमा शान्तिको प्रतीक परेवा, समीको रुख, चौताराको एक छेउमा पानीसहितको माटोको घैटो, प्रतिक्षालय, तलाउ र बगैँचासहित निर्माण गरिएको छ ।

प्रकाशित : मंसिर १४, २०७८ २१:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?