नेतृत्वमा 'चेन ब्रेक' चाहन्छन् युवा प्रतिनिधि- गण्डकी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
कांग्रेस महाधिवेशन

नेतृत्वमा 'चेन ब्रेक' चाहन्छन् युवा प्रतिनिधि

दीपक परियार, हरिराम उप्रेती

पोखरा — कांग्रेसको १२ औं महाधिवेशनमा देशकै कान्छो केन्द्रीय प्रतिनिधिका रूपमा चुनिएका थिए, कास्कीका उदयकुमार नेपाली । माछापुच्छ्रे गाउँपालिकाको धितालका उनी त्यतिखेर जम्मा २१ वर्षका थिए । १४ औं महाधिवेशनका लागि उनी ३३ वर्षको उमेरमा पुनः केन्द्रीय प्रतिनिधि निर्वाचित भएका छन् । कास्कीको ३ नम्बर निर्वाचन क्षेत्रका उनी दलिततर्फ खुल्ला प्रतिस्पर्धाबाट निर्वाचित भएका हुन् ।

नेपाल विद्यार्थी संघबाट आफ्नो राजनीति यात्रा सुरु गरेका उनी हाल कांग्रेस निकट दलित संघको क्षेत्रीय सभापतिसमेत हुन् । स्नातकोत्तर उत्तीर्ण उनी २४ वर्षको उमेरमै दलित संघको क्षेत्रीय सभापति भएका थिए । महाधिवेशन प्रतिनिधिको चुनावमा उनीसँगै दलित संघका जिल्ला सभापति र १३ औं महाधिवेशनका केन्द्रीय प्रतिनिधि प्रतिस्पर्धामा थिए । संगठनमा निरन्तर क्रियाशीलता र शैक्षिक योग्यताले आफूलाई केन्द्रीय प्रतिनिधि बन्नुमा भूमिका खेलेको उनी बताउँछन् । ‘अग्रजहरूसँग प्रतिस्पर्धा गर्नु चुनौतीपूर्ण थियो,’ उनले भने, ‘कार्यकर्ताको बीचमा भिजेको भएर सजिलो भयो ।’

संस्थापनइतर समूहबाट विजयी भएका उनी पार्टीको वर्तमान नेतृत्व परिवर्तन गर्नुपर्ने पक्षमा छन् । वडास्तरदेखि नै कांग्रेसमा युवा आकर्षण देखिएको र उनीहरूको चाहना पनि संगठन हाँक्न सक्ने नेतृत्व आउनुपर्ने रहेको उनी बताउँछन् । ‘नेतृत्वको असफलताले तीनवटै तहको चुनावमा हार बेहोर्नुपर्ने स्थिति बन्यो,’ उनले भने, ‘सबैलाई मिलाएर लान सक्ने र पार्टीलाई चलायमान बनाउन सक्ने नेतृत्व आउन जरुरी छ ।’ नयाँ र पुराना पुस्ताको समायोजन सहित पार्टी कमिटी बन्ने हो भने धेरै हदसम्म युवा प्रतिनिधिको चाहना सम्बोधन हुने उनको भनाइ छ ।

३५ वर्षीया दुर्गा लामिछाने कास्कीको प्रतिनिधिसभा निर्वाचिन क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भइन् । खस आर्यतर्फ महिला सिटमा उनी पनि संस्थापनइतर समूहबाटै निर्वाचित भएकी हुन् । पारिवारिक पृष्ठभूमिलाई अंगाल्दै उनले नेविसंघ र तरुण दलबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेकी थिइन् । विकासशास्त्रमा एमफिल सकेर हाल उनी अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिमा त्रिभुवन विश्वविद्यालयबाट पीएचडी गरिरहेकी छन् । बिहेपश्चात् काठमाडौं बसे पनि उनले पोखरालाई नै राजनीतिक आधार क्षेत्र बनाएकी छन् ।

तरुण दलको महाधिवेशन प्रतिनिधि हुँदा उनी देशका ४०–४५ जिल्ला घुमिन् । बुबा सरकारी जागिरे भएकाले उनको बाल्यकाल कर्णालीमा बितेको थियो । रेडक्रसमा रहँदा उनले युरोप, अमेरिका, मलेसिया, सिंगापुर घुम्ने मौका पाइन् । विभिन्न संघसंस्थामा आबद्धता, राजनीतिक पृष्ठभूमिसँगै समाजले परिवर्तन खोजेकोले कांग्रेस कार्यकर्ताले आफूलाई निर्वाचित गराएको उनी बताउँछिन् । ‘कर्णालीको विकटतादेखि युरोप, अमेरिकाका विकास देखेकी छु,’ उनले भनिन्, ‘शैक्षिक र सांगठनिक रुपमा योग्य मानिस आउनुपर्छ भन्ने सोचले पनि विजयी हुन सफल भएँ ।’

कुनै एक समूहमा रहेर निर्वाचन लड्नुलाई भने उनी युवापुस्ताको बाध्यता भन्न रुचाउँछिन् । जित सुनिश्चित गरेर महाधिवेशनमा प्रवेश गर्नलाई समूह छान्नुपरेको उनले सुनाइन् । ‘उच्च व्यक्तित्वसँग नयाँ पुस्ताले चुनाव लड्न गाह्रो रहेछ,’ उनले भनिन्, ‘मन मिल्ने र सहयोग गर्ने समूह चाहिँदो रहेछ ।’ देशभर नै कांग्रेसका युवा पुस्ताले जसरी भए पनि पार्टी राजनीतिमा हस्तक्षेप गर्नुपर्ने आवाज उठिरहेकाले पनि जुनसुकै समूहबाट भए पनि सहभागिता सुनिश्चित गर्नुपर्ने खाँचो उनले औंल्याइन् ।

यसपल्ट पार्टी नेतृत्वमा ‘चेन ब्रेक’ हुने उनी ठान्छिन् । ‘महाधिवेशन प्रतिनिधिमा युवा पुस्ताकै बढी सहभागिता देखिएकोले जुनसुकै समूहको भए पनि स्वविवेक पुर्‍याउनेछन्,’ उनी भन्छिन्, ‘यसपल्ट पार्टीमा रूपान्तरण देखापर्ने छ । पार्टी वडातहबाटै सकारात्मक दिशातिर जाँदै छ ।’ नेतृत्व र तल्लो तहका कार्यकर्तालाई जोड्ने पुलका रूपमा युवा पुस्ताले भूमिका खेल्नेमा उनी आशावादी छिन् ।

क्षमतावानलाई पार्टीका कमिटीमा स्थापित गर्ने किसिमको नीति बनाउन युवाले ‘वाच डग’ को भूमिका खेल्ने उनको भनाइ छ । भन्छिन्, ‘परिवर्तनको चाहनालाई यो महाधिवेशनले पक्कै सम्बोधन गर्ने छ ।’ उदय र दूर्गासँगै कास्कीमा ४० वर्षमुनिका आशिक गुरुङ र विद्या बराल महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । गुरुङ नेविसंघमा सक्रिय छन् भने बराल इन्जिनियर हुन् ।

२८ वर्षीय सुवास अधिकारी गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित बने । नेपाल विद्यार्थी संघका सभापति समेत रहेका अधिकारी २०६३ सालबाटै राजनितिमा होमिएका थिए । परिवर्तनशील समाजसँग जोडिन अनुभवी नेता र युवा जोस, जाँगरको अन्तरघुलनबाट पाटी बन्ने उनी बताउँछन् । केन्द्रीय महाधिवेशनमा गुटगट उम्मेदवारभन्दा पनि विचारलाई मतदान गर्ने उनले बताए ।

‘गुटभन्दा बाहिर निक्लिएर विचारलाई मतदान गर्छौं,’ उनले भने । ३१ वर्षीया इन्द्रा गुरुङ गोरखा क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भइन् । १३ औँ महाधिवेशनमा क्षेत्रीय कार्यसमिति सदस्य हुँदै राजनीतिमा होमिएकी गुरुङ हाल जिल्ला समन्वय समितिकी सदस्यसमेत हुन् । गोरखा क्षेत्र नम्बर २ अन्तर्गत अजिरकोट गाउँपालिका–३ हंसपुरकी गुरुङ आगामी महाधिवेशनबाट युवा पुस्ता नेतृत्व तहमा आउनुपर्ने बताउँछिन् ।

पाका पुस्ताका नेतृत्वलाई सम्मानसहित युवा पुस्तालाई राजनीतिमा ‘प्रमोट’ गर्दै पार्टीलाई सुदृढ गराउनुपर्ने गुरुङको चाहना छ । ‘पद कसरी पाउनेभन्दा पनि पार्टीलाई कसरी एक ढिक्का बनाउने भन्ने योजना र भिजन भएको नेता अबको नेतृत्वमा आउनुपर्छ,’ उनले भनिन् । १४ औँ महाधिवेशनमा अन्य पदको उम्मेदवारीमा आफ्नो आकांक्षा नरहेको उनले बताइन् ।

कास्कीमा संस्थापन पक्षका बराल

नेपाली कांग्रेस कास्कीको सभापतिमा संस्थापन पक्षका किशोरदत्त बराल विजयी भएका छन् । दोस्रो चरणको मतदानबाट प्रत्याशी सुदीपमोहन भट्टराईलाई पराजित गर्दै आइतबार उनी निर्वाचित भएका हुन् । शुक्रबार भएको मतदानमा सभापति पदका लागि प्रतिस्पर्धा गरेका पाँच उम्मेदवारमध्ये कसैको पनि ५० प्रतिशतभन्दा बढी मत नल्याएपछि सर्वाधिक भोट ल्याउने दुई उम्मेदवारबीच शनिबार पुनः मतदान भएको हो । दोस्रो चरणको मतदानमा कुल १९ सय २६ मत खसेको थियो । जसमा बरालले ९९५ र भट्टराईले ९१५ मत प्राप्त गरे । पहिलो चरणमा बराल, भट्टराईसहित आइबहादुर गुरुङ, पोषनाथ शर्मा र गिरीराज गौतमले सभापति पदमा प्रतिस्पर्धा गरेका थिए । बरालबाहेक सबै संस्थापनइतरका उम्मेदवार थिए ।

पहिलो चरणको चुनावबाट गुरुङ, शर्मा र गौतम बाहिरिँदा बराल र भट्टराईबीच सभापतिमा प्रतिस्पर्धा भएको थियो । पहिलो चरणमा पराजित भएका सभापति पदका तीनैजना उम्मेदवारले दोस्रो चरणमा उम्मेदवार भट्टराईलाई सघाउने भन्दै हस्ताक्षरसहितको पर्चा मतदाताबीच बाँड्न लाग्दा विवाद भएको थियो । तीन जनाले उम्मेदवार भट्टराईलाई मत दिन आफ्ना समर्थकलाई आग्रह गरे पनि पौडल पक्षको बलियो पकड रहेको जिल्लामा बरालले बाजी मारेका हुन् । पौडेल पक्षमा पनि भट्टराई यज्ञबहादुर थापा निकटका हुन् ।

पौडेल पक्षकै कांग्रेस नेता शुक्रराज शर्माले बराललाई साथ दिएपछि उनी विजयी भएको बताइन्छ । पहिलो चरणमा बरालले सबैभन्दा धेरै ६४४ र भट्टराईले ४७२ मत प्राप्त गरेका थिए । गुरुङले ४६२, शर्माले ३३५ र गौतमले ६३ मत प्राप्त गरेका थिए । यसअघि महाधिवेशन प्रतिनिधिमा कास्कीबाट ७८ मध्ये संस्थापन पक्षका २१ जनामात्रै निर्वाचित भएका थिए ।

प्रकाशित : मंसिर १३, २०७८ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्

आमासहित दुई छोराछोरी मृत भेटिए

कान्तिपुर संवाददाता

सर्लाही — सर्लाहीमा आमासहित दुई छोराछोरी घरमै मृत फेला परेका छन् । बरहथवा नगरपालिका–१ हजरियाका शिव हजारीकी श्रीमती कविता पासवान, उनका ६ वर्षीया छोरी सलोनी र ४ वर्षीय छोरा स्वागत मृत फेला परेका हुन् ।

कविता झुन्डिएको अवस्थामा र दुई बच्चाको सुतिरहेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । आइतबार बिहान ५ बजे फेला परेको तीनै जनाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ ।

प्रहरीका अनुसार श्रीमान् शिव भने वैदेशिक रोजगारीका लागि ४ वर्षदेखि मलेसियामा छन् ।

प्रकाशित : मंसिर १३, २०७८ ०९:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×