एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

दीपक परियार

पोखरा — माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् । पार्टीको पोखरा महानगरपालिका समितिको दोस्रो अधिवेशन उद्घाटनमा शनिबार उनले यस्तो बताएका हुन् ।

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

नेता श्रेष्ठले सत्तारुढ दल नेपाली कांग्रेस पनि परिमार्जन नगरी एमसीसी पास गर्ने पक्षमा नरहेको बताए । ‘नेपाली कांग्रेसले गठबन्धन नै तोडेर एमसीसी पास गर्छ जस्तो लाग्दैन,’ उनले भने, ‘यदी त्यस्तो भएछ भने गठबन्धनका निम्ति राष्ट्रियतामा हाम्रो पार्टीले सम्झौता गर्दैन ।’

उनले आगामी चुनावमा कुन पार्टीसँग गठबन्धन गर्ने भन्नेबारे पार्टीमा निर्णय नभइसकेको बताए । ‘पार्टीको स्थिति, अन्य पार्टीका धारणा र राष्ट्रिय आवश्यकताका आधारमा कुन–कुन पार्टीसँग चुनावी गठबन्धन गर्ने भन्ने टुंगो लाग्छ । अहिलेको गठबन्धनमा भएका दलमध्ये कसै न कसैसँग गठबन्धन हुन्छ । सबैसँग हुने कि नहुने भन्ने एउटा निर्णयमा पुगिसकेका छैनौं,’ नेता श्रेष्ठले भने ।

राष्ट्रिय सम्मेलन संगठन सुदृढीकरणको अभियान सँगै संगठन रुपान्तरणको पनि अभियान भएको उनले बताएका थिए । अहिलेको अधिवेशन पार्टी रुपान्तरणको एउटा अंग बन्नुपर्ने उनको भनाइ थियो । उनले भनेका छन्, ‘संगठन सुदृढीकरणमात्रै ठान्यौं भन्ने कांग्रेस र एमालेजस्तो हुन्छ । संगठन बन्छ, चुनाव हुन्छ, नेता हुन्छन् त्यसले संगठन सक्रिय जस्तो देखिन्छ तर क्रान्तिकारी रंग त्यसमा देखिँदैन ।’

यस क्रममा नेता श्रेष्ठले नयाँ दिशा, नयाँ संकल्प र नयाँ एकताका साथ अगाडि बढ्न कार्यकर्ताहरूलाई आग्रहसमेत गरेका थिए ।

प्रकाशित : मंसिर ११, २०७८ १७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?