१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

पूर्वी नवलपरासी क्षेत्र २ मा अझै भएन पुन: मतगणना

नारायण शर्मा

पूर्वी नवलपरासी — पूर्वी नवलपरासी नेपाली कांग्रेस क्षेत्र नम्बर २ मा ३ दिन भइसक्दा पनि पुन: मतगणना हुन सकेको छैन । क्षेत्रीय सभापतिका २ उम्मेदवारको मत बराबर भएपछि पुन: मतगणना गर्ने सहमति भएको थियो ।

मतगणना सकिएको ३ दिन बितिसक्दा पनि उम्मेदवार र तिनका एजेन्ट मत गणनास्थल (कांग्रेस पार्टी कार्यालय कावासोती) मा नआएका कारण निर्वाचन समितिले गणना सुरु गर्न सकेको छैन ।

बुधबार बिहान ५ बजे क्षेत्रीय सभापतिका उम्मेदवार सूर्य गुरुङको ३९४ र जगत कार्कीको पनि ३९४ मत भएपछि उम्मेदवारकै सहमतिमा पुन: मतगणना गर्ने निधो भएको थियो । फेरि गन्न दुबैको सहमति भए पनि पार्टी कार्यालयमा कोही पनि उपस्थित नभएका कारण मत गन्न नसकिएको हो । कार्की कांग्रेस सभापति शेरबहादुर देउवा पक्षबाट र गुरुङ वरिष्ठ नेता पौडेल पक्षबाट उम्मेदवार बनेका थिए ।

मतपेटिका जिल्ला प्रहरी कार्यालय कावासोतीमा राखिएको छ । त्यो (क्षेत्र नम्बर २) क्षेत्रको मतदान चोरमाराको स्कुलमा भएको थियो । मतदान अधिकृत चुडामणि कँडेलले प्रतिनिधि आए पनि, नआएपनि शनिबार बिहान १० बजेबाट मतगणना गरी नतिजा सार्वजनिक गरिने जनाए ।

त्यहाँको मतगणना नभएको बहाना बनाउँदै नेताहरुले जिल्ला कार्यसमितिको निर्वाचन मंसिर १९ र २० गते गर्ने भएका छन् । '१९ गते मनोनयन हुन्छ, २० गते मतदान', निर्वाचन अधिकृत कँडेलले भने । उम्मेदवार सूर्य गुरुङले शनिबारको मतगणनामा आफूहरु उपस्थित हुने कान्तिपुरलाई जानकारी दिए ।


प्रकाशित : मंसिर १०, २०७८ २०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?